६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई स्वागत तयारी : विमानस्थलमा जान आह्वान, सुरक्षा कडा



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै हुनुहुन्छ । राजावादीहरुले उहाँको स्वागतका लागि निकै तामझामपूर्णरुपमा तयारी गरेका छन् ।

संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन आह्वान गरेको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने राजावादीहरूको तयारी छ ।

पोखरामा रहेका पूर्वराजा शाह आज अपराह्न तीन बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । राजावादीहरुले एक बजे नै त्रिभुवन विमानस्थलमा पुग्न आह्वान गरेका छन् ।

विराटनगर, इटहरी, वीरगन्ज, पोखरा, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा राजतन्त्र पुन:स्थापनाको माग गर्दै प्रदर्शनहरु भइरहेका छन् ।

यसैबीच राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षाको प्रबन्ध बलियो पारिएको बताउनुभएको छ । राजावादीहरुले जुलुससमेत निकाल्ने तयारी भएकाले प्रशासनले सुरक्षा व्यवस्था कडा एको हो ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सबै सुरक्षा निकायहरु परिचालन गरिएको छ । बिहानैदेखि सडकमा सुरक्षाकर्मीको उपस्थिति देखिन थालेको छ ।

पूर्वराजाको स्वागतका लागि हुने कार्यक्रमको सुरक्षाको जिम्मेवारी जिल्ला सुरक्षा समितिलाई दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताउनुभएको छ ।

पूर्वराजाको पक्षमा एकाएक आन्दोलन हुन थालेपछि प्रमुख राजनीतिक दलहरु पनि सतर्क देखिएका छन् । नेकपा माओवादी केन्द्रले केही दिनका लागि आफ्नो अभियान नै स्थगित गरेको छ ।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतलनिवासमा शनिबार साँझ भेट भएको हो । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।