रविन शर्मा
दिनहुँको भारी वर्षाका कारण कर्णाली नदीमा अहिले पानीको बहाव बढ्दै गरिरहेको अवस्थामा छ। जहाँ, कर्णाली नदी विभाजन भई दुई भागमा बगिरहेका छन् । एक कर्णालीकै नाममा चिनिदै आएको छ भने अर्को गेरुवा (कोठियाघाट) नाममा चिनिन्छ। जसका बिचमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका अवस्थित छ। जुन, अहिले पूर्णरूपमा बाढीको चपेटामा परेका छन्।
विगत ५-७ दिनदिनदेखि बर्दियाको राजापुर नपा वडा न ३ तिघ्रागाऊ सबैभन्दा जोखिममा रहनुको साथै अरु गाउँहरु जस्तै अनन्तपुर, चख्खापुर, दौलतपुर, नंगापुर, सोनपुर, बतेरिया, टेडिया, राजापुर बजार, क्षेदिई गरी करिब १० बस्तीहरु पूर्ण जोखिम मा रहेका छन्। नदिको धार पूर्वतिर करिब ३००-४०० मिटरको तटबन्धन भत्काई बढेको हुदा स्थानियबासी त्रासमा रहेका छन। नदिले लगभग ४ बिघा खेतीयोग्य नम्बरी जग्गा कटान गरि सकेको पिडित दयाराम थारुले बताए। बाँकी ९ देखि १० बिगाह जमिन कटान कै क्रममा रहेको छ। यदि नदिको लेवल चिसापानी स्टेसनमा ११ देखि १३ मिटरसम्म पुगेको खण्डमा ५,००० हजार घरधुरी नै बाढीको प्रभाव मा पर्ने पक्कापक्की छ। जसले गर्दा करोडको प्रत्येक्ष बालीनालीमा नोक्सान हुनेछ भने किसान हरूको घर पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै वस्तुभाउ र मानवीय क्षति हुने स्थानीय बताउँछन्। यसका साथै, कर्णाली नदीले अरु विभिन्न ठाउँहरुमा कटान गर्नेक्रम जारी रहेको छ जस्तै टिउनि, संकटकी घाट बाट नदी पसेको खण्डमा लगभग १ हजारदेखि १५ सयसम्म घर हरु पूर्णरूपमा छति भई सम्पूर्ण राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा पर्ने वडाहरू समस्यामा पार्ने निश्चित छ भन्छन् स्थानीय। यहीक्रमको कटान जारि भैरहेको खण्डमा र रोकथामको उपाय समयमै नअपनाइने हो भने सतीघाटको (५३५ मिटर) पक्की पुल समेत बगाउने स्थानीय बासिन्दा बताउँछन् जुन भर्खरै निर्माण सम्पन्न भएको थियो।
कर्णाली नदीले कटान कार्य जारी राखेको बेला उता बुढी कुलो जुन राजापुर टापुको बीच भागबाट बग्ने भएका कारण आसपासका बस्तीहरुका साथसाथै नेपाल-भारत या सिमानामा पर्ने नेपाली गाउँ शङ्खरापुर लगायत अरु गाउँ डुबानमा परिसकेका छन् ।
विगतमा बाढीको प्रभाव
बर्दियामा पर्ने राजापुर विगतदेखि नै बाढीको जोखिममा पर्दै आएको छ। विगत १९८२, २००१, २००८, २०१३, २०१४ र २०१७ मा ठूला बाढीहरूको जोखिम व्यहोर्दै आएको थियो। जसमध्ये पछिल्ला वर्ष हरु जस्तै २०१४ र २०१७ को बाढीले थुप्रै नोक्सानी पुर्याएको थियो। २०१४ को बाढीले गर्दा ३१ जनाको ज्यान जानुका साथै ३,५०० घरधुरी लाई असर गरेको थियो। त्यसैगरी १२,००० घरहरु आंशिकरुपमा क्षति पुर्याएको थियो जसले गर्दा ८०,००० हजारभन्दा बढी स्थानीय बासिन्दाहरु प्रतक्ष रुपमा समस्यमा परेका थिए। र, २०१७ को Post Disaster Need Assessment को रिपोर्ट अनुसार बाढीले १,३४,८०४ स्थानीयहरु प्रभावित परेकाे देखाउँछ। त्यसैगरी राजापुर टापु यसवर्ष (२०२०) मा पनि ठूलो बाढीको जोखिममा परेको मेयर शिवप्रसाद चौधरी ले बताउँछन्।
विगतमा गरिएका रोकथामका प्रयास
यस समस्यालाई मध्यनजर राख्दै र जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्य का साथ सरकारले कर्णाली नदी नियन्त्रण व्यवस्थापन परियोजना द्वारा १० वर्ष भित्र निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ कर्णाली नदिको किनारमा २०१३ देखि लगभग ४३ किलोमिटर लामो तटबन्ध निर्माण सुरु गरिएको थियो। यद्यपि, अहिले परियोजनाको अन्तिमका वर्ष हरुमा आइपुग्दा तटबन्धनको विभिन्न भागमाहरु पूर्णरूपमा कटान भइरहेको छ र यसले बाढीको जोखिम मूलतः राजापुरका धेरैवटा बस्तीहरुलाई जोखिममा परेकाे छ। जसअन्तर्गत साउन १३ र १४ गते परेको पानीले बस्तीका लगभग १७० घरधुरी मा पूर्ण क्षति पुर्याएको थियो। जसले गर्दा एक हप्ता सम्म बाढीपीडितहरु साना-साना टहरा बनाएर बस्न बाध्य भएका थिए।
जसमा लगभग २ किलोमिटर तटबन्धन बनाउनुपर्ने बाँकी नै रहेको छ जुन कर्णाली नदी नियन्त्रण परियोजना र त्यस अन्तर्गत रहेको ठेकेदार कम्पनीकाे विवादका कारण निर्माण हुन नसकेको हो। जसले अहिले सम्पूर्ण बस्तीलाई नै जोखिममा पारेको छ, नेपाल रेडक्रस सोसाइटीका सचिव सूर्यनारायण घिमिरे बताउँछन्।

सीडीओ धनकुमार न्याैपाने भने तटबन्ध केही समय अघि निर्माण गरिएको थियो। तर अहिले यो बिग्रिएको छ। राजापुर क्षेत्र बाढीको जोखिममा छ, धेरै बस्ती खतरामा छन् उनका अनुसार यस आयोजनाको लागत करिब १२-१३ अर्ब रुपैयाँ भन्दा बढी छ। स्थानियका अनुसार, प्रयोग गरिएको सामग्री र प्राविधिक कमजोरी का साथै ठेकेदार कम्पनीकाे लापरवाहीका कारण तटबन्ध दिनप्रतिदिन कमजोर बन्दै गएको बताउँछन् । राजापुरका बासिन्दाले अहिले तटबन्धको खराब गुणमा विलाप गरिरहेका छन् । उनीहरूले यसबारे छानबिनको माग गरेका छन्। त्यस्तै उनीहरूले सुरक्षाको लागि पनि आग्रह गरेका छन् ।
आग्रह र गरिरहेका प्रयासहरु
तर अहिलेसम्म कुनै पनि किसिमको अग्रसरता लिएको देखिँदैन। प्रदेश र केन्द्रीय सरकारलाई राजापुर नगरपालिका र स्थानीय जागरुक वर्गहरुले प्रदेश सांसद दिपेश थारूका मार्फत उर्जामन्त्री वर्षमान पुनलाई विज्ञप्ति पेस गरेका छन् । तर, कुनै प्रयास भएको देखिँदैन।
हाल स्थानीय सरकार र स्थानीय बासिन्दा (कुलापानी) समितिको पहलमा नदीको धार पश्चिमी भागतिर स्याउला बास र प्लास्टिकका बोरामा माटो र बालुवाको सहायताले धकल्ने प्रयासमा लागिरहेको कुरा नदी नियन्त्रण समितिका सदस्य पुनाराम थारुले बताए। यो कार्यमा केही दिनदेखि भिम्मापुर कुलोपानी र दौलतपुर कुलापानी समिति अन्तर्गतका राजापुर गाउँ, टेडिया, अनन्तपुर चख्खापुर तिघ्रा नंगापुर गाउँ लगायत १० गाउँका कृषकहरुलाई सकेसम्म सामजिक दुरी कायम र मास्क प्रयोग गरि ५०० देखि १००० जनतालाई श्रमदानको रुपमा परिचालन गरियोको कुरा सूर्यनारायण घिमिरेले बताए। यो कार्य अझै आउने केही दिनसम्म रहने बताउँछन् ।

यस किसिमका समस्या हरु प्रत्यक्षरुपमा देख्दादेख्दै पनि प्रदेश सरकार र केन्द्रीय सरकार ले कुनै पनि किसिमको बस्ती जोखिम व्यवस्थापन र बस्तीलाई सुरक्षित स्थानान्तरण गर्ने कुरामा ध्यान नपुर्याईएको देख्न सकिन्छ। उदाहरणका लागि जुगल ग्रामीण नगरपालिका, सिन्धुपाल्चोकमा गएको श्रावण ३० गतेको पहिरोमा २९ जनाको मृत्यु हुनाका साथै थुप्रै हराइरहेका छन्। त्यो घटना हुनुभन्दा पहिलेनै स्थानीय बासिन्दाहरूले लामो समयदेखि अधिकारीहरूलाई सूचित गरिसकेपछि पनि सरकारले कुनै चासो नदेखाउँदा त्यस किसिमको घटना हुन पुगेको थियो ।
“अधिकारीहरूलाई हामीहरुले सुरक्षित स्थानहरूमा सार्न आग्रह गरिरहेका थियौं” स्थानीय बताउँछन्। केही हप्ता अगाडि पूर्वसूचनाका संकेतहरू पाएका गाउँलेले पहिरो आउँछ भन्ने सोचेका थिए। स्थानीय अधिकारीहरूले गाउँलेहरुलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरेका थिए तर कुनै वैकल्पिक स्थानान्तरणको व्यवस्था हुन नसक्नुनै प्रमुख कारण मान्न सकिन्छ।

त्यस्तै किसिमको प्राकृतिक घटना हुने पक्कापक्की भइरहँदा सरकारले राजापुर बासिन्दाहरुलाई वैकल्पिक व्यवस्था गर्नेमा चासो नदेखाइरहेका बेला फेरिपनि ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ। तथापि, स्थानीय स्रोत र साधनले मात्रै पूर्णता नपाउने हुँदा केन्द्रीय र प्रदेशिक सरकारले चासो देखाउनुपर्ने र समस्याको समाधन विषेश रूपमा तुरुन्त आउनु पर्ने माग स्थानीय बासिन्दाहरू ले राख्दै आएका छन्। राजापुर नगरपालिका मेयर शिवप्रसाद चौधरीले तत्काल विपत व्यावस्थापन कार्यमा स्थानीय जनताको सहयोगबाट समस्या अस्थायी समाधान हुने तर खतरा नटरेको कुरा बताए।

यस किसिमको तटबन्धनको कटान समस्यालाईलाई समाधान गर्न स्थानीय स्रोत साधनलाई पूर्णरुपमा प्रयोग गर्नुपर्ने स्थानीय बताउँछन्। जस्तै तटबन्धन गरिसकेपछि त्यस तटबन्धनको नदी किनारको भागमा वृक्षरोपण गरी (Organic Dam) लगाई तटबन्धनलाई बलियो बनाउनु पर्ने स्थानीयहरुले महसुस गरिरहेको बताउँछन् । अबका दिनहरुमा तटबन्धन लगाइसकेपछि त्यस कार्यलाई पूर्णता दिने उनीहरूको भनाइ छ। तर, कर्णाली नदी नियन्त्रण व्यवस्थापक आयोजना राजापुरले सहयोग पुर्याउनुपर्ने प्रष्ट देखिन्छ । (तस्वीरहरूः रविन शर्मा र सूर्यप्रसाद घिमिरे)










