२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज



अ+ अ-

धरान, (सुनसरी) । करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहनुभएका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउनुहुन्छ ।

इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्कनुभएको हो । उहाँले सानो लगानीबाट पशुपालन र मौरीपालनमा गर्नुभएको थियो । अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको उहाँ बताउनुहुन्छ ।

आफूले १७ वर्षको उमेरमा बाबुआमा गुमाएको सुनाउँदै मनराजले भन्नुभयो, “विदेशमा गएर दु:ख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी गरेर केही व्यवसाय सुरू गराँै भन्ने सोच राखे, अरू बिजनेस गर्ने सोच भए पनि तरिका खासै नभएका कारण पशुपालनमा लगानी गरेर सुरू गरेँ ।”

गाईबाख्राबाट व्यवसाय सुरू गर्नुभएका उहाँले पछिल्लो समय मौरीपालन सुरू गर्नुभएको छ । अहिले मौरीबाट राम्रो आम्दानी भइरहेको उहाँ भन्नुहुन्छ । “यो व्यवसायले आफू आत्मनिर्भर बनेको जस्तो महसुस भएको छ, आफ्नो व्यवसायले दिने जति आनन्द अरूको नोकरी गर्दा पाइँदैन”, उहाँले भन्नुभयो, “अहिले यही व्यवसायबाट वार्षिक रूपमा रू आठदेखि नौ लाखसम्म कमाइ हुने गरेको छ, घरव्यवहार सबै यही कमाइले पुगेको छ ।”

व्यावसाय सुरू गर्दा चुनौती र अवसर त हुन्छन् नै । गाईपालन गर्दा दूध उत्पादन गरी बिक्री गर्न गाह्रो पो होला बजार नपाइएला भन्ने लागेको थियो तर निकै सहज भएको उहाँको बुझाइ छ । “अहिले दैनिक रूपमा ४० देखि ५० लिटरसम्म दूध आफैँले स्थानीय बजार होटल र डेरीमा बिक्रीका लागि पुर्याउने काम गरिरहेको छु”, मनराज भन्नुहुन्छ ।

उहाँले अगाडि भन्नुभयो, “विदेशमा गएर अर्काको दु:ख गर्नुभन्दा आफ्नै देशमा सानोतिनो लगानी गरेर भए पनि राम्रो आम्दानी गर्न सकिन्छ । गाउँमै रोजगारीको सिर्जना पनि हुने अरूलाई पनि रोजगार दिन सकिने आफू लागि पनि रोजगार हुने ।”

मनराजले पशुपालन व्यवसाय सुरू गरेसँगै गाईफार्ममा दुई जना कामदार राख्नुभएको थियो । गाउँमै रोजगार दिन पाउँदा आफूलाई गर्व महसुस भएको उहाँ बताउनुहुन्छ । “आठ वर्षदेखि उहाँहरूले काम गर्दै आउनुभएको छ, महिनामा रू २२ हजार काम गरेबापतको तलब दिने गरेको थिए”, पुरीले भन्नुभयो, “पछिल्लो केही महिनाअघि उहाँहरूले काम छाडेपछि अहिले हामी आफैँ परिवार मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ ।”

“गाई र खसीबाख्रालाई दिने घासको खासै दु:ख छैन, आफँैले गाईलाई दिने घाँस आफ्नै बारीमा रोपेका छौँ”, उहाँले भन्नुभयो, “एक बिघा बढी जग्गामा धानखेती गर्ने गरेका छाँै । त्यहाँबाट गाईका लागि पराल घाँस आउँछ, घासँको दु:ख हुँदैन घाँस बाहिरबाट खासै खरिद गर्न परेको छैन ।” उहाँका अनुसार खसीबाख्राचाहिँ अझ केही चरन र डालेघाँस बढाएर पाल्न सकियो भने सम्भावना राम्रो छ ।

मनराजले मौरीपालनमा राम्रो आम्दानी हुने देखेपछि एक वर्ष अगाडि चार घार मौरी किनेर सुरू गर्नुभएको छ । अहिले उहाँसँग ४० घार बढी मौरी रहेका छन् । उहाँले भन्नुभयो, “सुरूमा हेर्दा मौरीबाट के आम्दानी होला र जस्तो लाग्ने तर विस्तारै घार बढाउँदै लगेँ र यहाँबाट राम्रो आम्दानीको सम्भावना देखेपछि अहिले मौरीपालनलाई अझ बढी प्राथमिकता दिएर सञ्चालन गरिरहेको छु ।”

“मौरीपालन अरूले गरेको देखेर सुरू गरेको हुँ, सम्भावना पनि राम्रो देखेको छु”, उहाँले भन्नुभयो, “मौरी फूलको सिजनमा भने धेरै उत्पादन गर्न सकिन्छ २२ देखि ३० दिनमा मह काढ्न मिल्छ, उत्पादन पनि धेरै हुन्छ ।” फूल फुल्ने सिजन र स्रोत नहुँदा भने कहिले तीन महिनासम्म समय लाग्ने गरेको उहाँ अनुभव सुनाउनुहुन्छ ।

मनराजले मौरीको घार गोटाको रू १४ हजारमा खरिद गरेर पालिरहनुभएको छ । एउटा घारमा एक पटक मह काढ्दा छ केजीसम्म उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रिका लागि इटहरीकै स्थानीय बजारमा बिक्री गर्दै आएको छु ।”

गाउँमै मौरीपालन र परामर्श तालिम किसानले लिन पाए भने मौरीपालनबाट राम्रै आम्दानी गर्न सकिन्छ । गाउँमा नै उत्पादन गरिएको अग्र्यानिक मह बिक्री गरी राम्रो मूल्य लिन सकिने उहाँको अनुभव छ । अहिले उहाँले मह प्रतिकेजि रू सात सय ५० देखि रू एक हजारसम्ममा घरबाट नै बिक्री गर्ने गरेको बताउनुभयो ।

मौरीपालन कम लगानीबाट पनि सुरू गर्न सकिन्छ । लगानी गरेर यसलाई राम्रो दिगो आम्दानीका रूपमा गर्न सकिने व्यवसायका रूपमा लिन सकिन्छ । राम्रो व्यवस्थापन बजारको अध्ययनसँगै आधुनिक प्रविधिसँगै सरकारबाट राम्रो अनुदान पाउनसके मौरीपालनबाट पनि आम्दानीको सम्भावना बढ्दै जाने उहाँको भनाइ छ । रासस




भर्खरै