१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

बुढेसकालको नागरिकताले दिलायो खुसी

बुढेसकालको नागरिकताले दिलायो खुसी
अ अ+ अ-

झापा । पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उहाँले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताउनुभयो । “नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन”, हालै पाएको नागरिकता देखाउँदै उहाँले भन्नुभयो, “बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।”

नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आउनुभएकी उहाँका तीन छोराको पेट पालनका लागि रोजगारी गर्न भारतको बैंगलोर गएका छन् ।

नीरकुमारीका पति सन्तमानको नागरिकता थियो । छोराहरुको पनि नागरिकता छ । तर, पतिकै बेवास्ताका कारण आफूले यतिका वर्षसम्म नागरिकता नपाएको उहाँको गुनासो छ । घर नजिकैको भृकुटी र बाहुनडाँगी बजारमा नागरिकता बनाउने टोली पटकपटक आउँदा समेत उहाँको नागरिकता बनाउने पहलै भएन ।

नागरिकता बनेपछि हर्षित नीरकुमारीले पहिलोपटक सामाजिक सुरक्षा भत्ता पाउनुभएको छ । जग्गाको स्वामित्व पतिबाट आफ्नो नाममा सार्ने उहाँको इच्छा छ । तीन छोरामध्ये जेठो राजकुमार घर छुट्टिएर बस्दै आएको उहाँले बताउनुभयो । माइलो विजय राई र कान्छो पविराम राई रोजगारीका लागि बैंगलोर गएका छन् । जेठी बुहारीको मृत्यु भइसकेको, माइली बुहारीले घर छाडेर हिँडेको र कान्छो छोरा अविवाहित भएको जनाउँदै उहाँले नातिनातिना पढाएर माइलो छोराको घरमा बस्दै आएको बताउनुभयो ।

वडा कार्यालयले अपाङ्गता भएर बोल्न नसक्ने, सुन्न नसक्ने, आँखा नदेख्ने र एकल जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरुको नागरिकता बनाइदिने अभियान चलाएको छ । सोही क्रममा नीरकुमारी राईको आफूले सनाखत गरेर नागरिकता दिलाएको वडाध्यक्ष दीपक बरालले बताउनुभयो । “जसको कोही छैनन्, उसका लागि वडा कार्यालय छ”, वडाध्यक्ष बराल नागरिकता अभियानबारे भन्नुहुन्छ, “सनाखत गर्ने मान्छे ल्याउनुप¥यो भनेर सिडिओहरु नागरिकता दिन आनाकानी गर्नुहुन्छ । गलत व्यक्तिलाई सिफारिस गरेको रहेछु भने मलाई लगेर थुनिदिए हुन्छ भन्दै मैले नै उहाँहरुको सनाखत गरिदिने गरेको छु ।”

सनाखत गरिदिने नातेदारको निधन भइसकेको र सम्पर्कमा नरहेको अवस्थामा कोही पनि वडावासी ज्येष्ठ नागरिकहरुले आफ्नै थाकथलोमा अनागरिकको पीडा भोग्नु नपरोस् भनेर वडाले सिफारिस र वडाध्यक्षको तर्फबाट सनाखत गरिदिएको बराल बताउनुहुन्छ । सुस्तश्रवण, दृष्टिविहीन र आफन्त गुमाइसकेका दशजना ज्येष्ठ नागरिकको चालु आर्थिक वर्षमै सिफारिस दिएर नागरिकता दिलाइसकेको उहाँले जानकारी दिनुभयो । त्यस्ता व्यक्तिहरुको नागरिकता बनाउने क्रममा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउने खर्च समेत वडाले बेहोर्ने गरेको छ ।

आर्थिकरुपमा विपन्न परिवारकै ज्येष्ठ बुबाआमाहरु नागरिकता बनाउनबाट वञ्चित रहेको आफूले पाएको उहाँले बताउनुभयो । त्यहीकारण उनीहरुको नागरिकता बनाउँदा लाग्ने खर्च वडा कार्यालयको तर्फबाटै बेहोरिएको उहाँको भनाइ छ ।

आफन्त गुमाइसकेका सोही वडाका केशरबहादुर राईले ८६ वर्षको उमेरमा हालै नागरिकता पाउनुभयो । वडाध्यक्ष बराल आफैँले सिफारिस र सनाखत गरेर उहाँको पनि नागरिकता बनेको हो । विसं २०१८ मा पहाडबाट तराई झरेका केशरबहादुर मेचीनगरको बाहुनडाँगी आउँदा २२ वर्षको लक्का जवान हुनुहुन्थ्यो । उमेर पुगे पनि उसबेला नागरिकता बनाउने चलन थिएन । बिहे गरेर पत्नीसहित उहाँ रोजगारीको खोजीमा बाहुनडाँगीबाट भौतारिँदै भारतको आसाम पुग्नुभयो । विसं २०२४ मा आसामबाट थाकथलो बाहुनडाँगीमै फर्किनुभयो । “उमेर छउञ्जेल गरिखान बलियो पाखुराले पुगिहाल्यो, सन्तान नभएपछि नागरिकता बनाउनेतिर लागिएन”, उहाँले भन्नुभयो । पत्नीको मृत्युपछि एक्लो जीवन बिताइरहेका उहाँसँग बुढेसकालमा न सन्तानको सहारा थियो, न त नागरिकता नै आधार ।

आसामबाट फर्केर आएपछि पत्नीको मृत्यु बाहुनडाँगीमै भएको उहाँले बताउनुभयो । अर्काको घरखेतमा ज्यालादारी काम गरेर जीवन बिताउँदै आउनुभएको उहाँको आफ्नो जग्गा छैन । रात काट्नका लागि चौबाटोको कुनोमा सानो झुपडी बनाएर उहाँ बस्दै आउनुभएको छ । ज्येष्ठ नागरिकको सम्मान र पहिचानका खातिर आफूले केशरबहादुरको नागरिकता बनाउने पहल गरेको वडाध्यक्ष बरालले बताउनुभयो ।

नागरिकता पाएपछि उहाँको जीवनमा खुसीको उमङ्ग छाएको छ । आफ्नो झुपडीमा बलियो झ्यालढोका नभएको कारण नागरिकता नहराओस् भनेर उहाँले छिमेकीको घरमा जतनका साथ राख्न दिने गरेको बताउनुभयो । “मर्ने बेलामा नागरिकता त साथमा भयो नि”, दशमुजा परेको अनुहारमा चमक छर्दै केशरबहादुर भन्नुहुन्छ, “गाउँका अरुले त चाहिँदैन तिमीलाई नागरिकता भनेर टिप्पा खेलाउँथे । वडाध्यक्ष बराल बाबुले चाहिँ हिँड्नुहोस् म बनाइदिन्छु भनेर घरमै लिन आउनुभयो ।”

बुढेसकालमा ज्यालादारी काम गर्न नसकेर कयौ रात भोकै सुतेका केशरबहादुरले वृद्ध भत्ता थाप्न थालेपछि खान र लाउन चिन्ता गर्नुपरेको छैन । वडाका जनप्रतिनिधिले अशक्त ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घरघरै पु¥याइदिने गरेका छन् । गाउँबस्ती पुग्ने क्रममा अर्काको घरमा आश्रय लिएर बसेका बोल्न नसक्ने र कान नसुन्ने थुप्रै बुढाबुढीहरुको विजोग देखेको र उनीहरुसँग नागरिकता समेत नरहेको थाहा पाएपछि नागरिकता प्रमाणपत्र बनाइदिने सोच उब्जिएको वडाध्यक्ष बराल बताउनुहुन्छ । आफन्तले हेरचाह नगरिदिदा दुःख बिमार भएका बेला चन्दा उठाएर अस्पताल पु¥याउनुपर्ने अवस्थाका उनीहरुले नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य बिमामार्फत उपचार सुविधा नियमित रुपमा पाइरहेको वडाध्यक्ष बरालले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले व्यक्तिको अवस्था होइन, प्रमाण हेरेर नागरिकता दिइने बताउनुभयो । प्रमाणले नागरिकता पाउन योग्य वृद्धवृद्धाको नागरिकता बनाउन सकिने उहाँले बताउनुभयो । “नेपालमा वंशज, जन्म, विवाह र गैरआवासीय पहिचानका आधारमा नागरिकता दिइने कानुनी व्यवस्था छ”, सहायक प्रजिअ नेपालले भन्नुभयो, “उमेरले पाका भइसकेका र असहाय व्यक्तिहरुको नागरिकता सिफारिस गरेर वडाध्यक्षहरु प्रशासनमा आउनुहुन्छ । उहाँहरुको प्रमाण र सनाखतका आधारमा नागरिकता दिने गरेका छौंँ । शारीरिक अशक्तहरुको हकमा नागरिकता प्रमाणपत्र घरमै पु¥याइदिने समेत गरेका छौँ ।”

उमेरका आधारमा ज्येष्ठ नागरिकको दर्जामा पुगिसकेका व्यक्तिहरुको नागरिकता प्रमाणपत्र बनाउन वडाध्यक्षहरुले दिएको सिफारिस र सनाखत एउटा आधार भए तापनि वास्तविकता बुझ्न कानुनबमोजिम माग भइआएका प्रमाणहरु र प्रहरीमार्फत आउने प्रतिवेदनलाई मसिनो ढङ्गले हेर्ने गरिएको सहायक प्रजिअ नेपाल बताउनुहुन्छ ।

बुढेसकालमा शारीरिक दुर्बलताले गर्दा हिँडडुल गर्न मुस्किल हुन्छ । आयस्रोत नभएको अवस्थामा उनीहरुको जीविका कष्टकर हुन्छ । आफन्तको बेवास्ता र राज्यको उपेक्षा थपिँदा उनीहरुको जीवनयापन सास्तीपूर्ण हुन्छ । त्यस्तो बेला नागरिकता हुनेहरुले राज्यबाट सामाजिक सुरक्षा भत्ता र बिमाको उपचार पाउने गरेका छन् । तर, नागरिकता नभएकाहरु यो लाभबाट वञ्चित छन् । वर्षौंदेखि बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरु सनाखत गरिदिने नातेदारको अभावमा नागरिकता पाउनबाट वञ्चित रहँदै आएकामा मेचीनगर–२ को वडा कार्यालयले सराहनीय कार्य गरेको स्थानीय पूर्वशिक्षक धर्मानन्द निरौला बताउनुहुन्छ ।

राज्यले नागरिकता पाउन नसकेका वृद्धवृद्धालाई खोजीखोजी नागरिकता दिने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने र यस कार्यका लागि स्थानीय तहलाई परिचालन गर्नुपर्ने उहाँको धारणा छ । उहाँका अनुसार अझै पनि देशभर थुप्रै ज्येष्ठ व्यक्ति नागरिकता नपाइकनै मृत्युवरण गर्न बाध्य छन् । “बाहुनडाँगीका कुनाकाप्चासम्म आरा काटेर हिँड्ने गर्नुहुन्थ्यो । कहिले अर्काको घरमा ज्यालादारी गर्नुहुन्थ्यो”, केशरबहादुरको नागरिकता बनेकोमा खुसी व्यक्त गर्दै पूर्वशिक्षक निरौलाले भन्नुभयो, “अब त बुढो हुनुभयो, रोगी हुनुभयो । अर्काकोमा काम गर्न जानसक्नु हुन्न । यस्तो बेलामा नागरिकता बनेपछि कमसेकम राज्यको वृद्धभत्ताले बाँच्ने सजिलो आधार त बन्यो नि ।” रासस