• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् !

महिलाको मकिन्छ हड्डी , कसरी न्युनिकरण गर्ने ?



प्रजनन उमेरका महिलालाई शरीरमा भएका विशेष हर्मोनले मुटु रोग, हाडको समस्या लगायतबाट बचाउँछन् । तर, महिलाको शरीरमा हर्मोन कम हुन थालेपछि वा ३५ वर्ष कटेपछि हाडहरूको घनत्व कम हुँदै जान्छ । बाहिरबाट हेर्दा खासै समस्या नदेखिए पनि हाड मक्किने क्रम बढ्दै जान्छ । यो समस्या भएपछि नाडी, पुट्ठा र मेरुदण्डका हाड भाँचिने सम्भावना बढी हुन्छ ।

साथै यसको कारण शरीर कुप्रो हुँदै जान्छ, उचाइ पनि घट्छ । कसैकसैलाई त दैनिक क्रियाकलाप गर्न पनि गाह्रै हुन्छ । हाडको घनत्व कम भएर मक्किँदै जाने समस्या लामो समयसम्म थाहा नहुन पनि सक्छ । त्यसैले यसलाई ‘मौन रोग’ भनिन्छ । कतिपयलाई हाड भाँचिएपछि एक्सरे गराउँदा मात्र यस्तो रोग लागेको थाहा हुन्छ ।

उमेर बढ्दै जाँदा मानिसको हड्डी पुरानो हुँदै जान्छ, मक्किन सुरु गर्छ । खानपिन, जीवनशैलीमा ध्यान दिए मक्किने क्रम केही ढिलो हुन्छ; हड्डी भाँचिने र दुख्ने समस्यालाई पनि कम गर्न सकिन्छ ।

हड्डी मक्किँदा यसमा रहेको प्वाल ठूलोठूलो हुन थाल्छ । विशेष गरी महिलामा यस्तो समस्या बढी हुन्छ ।

हाडहरू कोषिका र हाडमासीबाट बनेका हुन्छन् । यस प्रक्रियामा क्याल्सियम र भिटामिन डीको भूमिका निकै हुन्छ । रगतमा क्याल्सियम कम भयो भने, हाडमा पनि कम हुन्छ । शाकाहारीलाई एक दिनमा ८ सय मिलिग्राम र मांसाहारीलाई १ हजार २ सय मिलिग्राम क्याल्सियम चाहिन्छ । त्यसैले यसबाट बच्न क्याल्सियमयुक्त विभिन्न भोजन खानामा समावेश गर्न सकिन्छ । चुनमा क्याल्सियम हुने हुनाले पहिलापहिला चुनसँगै भृंगराजको पात मिसाएर खान्थे भन्ने मान्यता छ ।

दहीसँग थोरै चुन मिसाएर खाएमा क्याल्सियमको मात्रा बढ्छ । सूर्यमुखीको बियाँ, तिल अनि कोदोमा क्याल्सियम, पोटासियम, म्याग्नेसियमजस्ता खनिज पाइन्छ । त्यस्तै हड्डी मक्किने समस्याबाट बच्न "खानुपर्ने "अर्को तत्त्व हो— भिटामिन डी । यो सूर्यको किरणमा पाइन्छ । भोजनमा क्याल्सियम त छ तर भिटामिन डी नभए भने शरीरमा क्याल्सियम सोसिन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुँदै जान्छ । अर्थात्, हड्डी मक्किने समस्या बढ्दै जान्छ ।

विशेषज्ञ उमा श्रीवास्तवका अनुसार, ४० वर्ष नाघेका महिला ढाड दुख्ने समस्या लिएर आउँछन्, जसमध्ये झन्डै ७५ प्रतिशतलाई हाड मक्किने समस्या सुरु भइसकेको हुन्छ ।

हाड मक्किने रोगलाई भगाउन आधुनिक भोजनको नाममा चाउचाउ, चीजबलजस्ता तयारी खाद्यपदार्थ वा कोक, फ्यान्टाजस्ता पेयपदार्थ खानु हुन्न । गर्भवती र स्तनपान गराइरहेका महिलालाई दिइने भोजनमा लौहतत्त्व र क्याल्सियम हुनुपर्छ । यस्तो बेला चाकु, सक्खर, हरियो सागपात, तिल, आलसका साथै चना, लट्टे, चिनो, जुनेलो, जौजस्ता प्रोटिनयुक्त खाद्य पदार्थ दिनुपर्छ ।

दूध, दही, लट्टेको दाना, गुन्द्रुक, सिस्नु, कर्कलो, धनियाँ, भटमास, बदाम र राजमा आदिबाट पर्याप्त क्याल्सियम पाउन सकिन्छ । हाडको घनत्व बढाउन हिँड्ने, दौडने, भर्‍याङ चढ्नेजस्ता शारीरिक क्रियाकलाप गरिरहनुपर्छ ।