१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री

निडर

निडर
अ अ+ अ-

‘बहिनी, आज एक रातलाई बास पाइएला ?’

सुसेलीजस्तो यो सुरिलो स्वर उसलाई कताकता सुनिरहेजस्तो लाग्यो। कसको स्वर हो ? अहो, यो त उसकै श्रीमानको जस्तो स्वर थियो जुन उसले सुन्न नपाएको वर्षौं भइसकेको थियो। तर, उसलाई ‘बहिनी’ भनेको कसोकसो नसुहाएझैँ लाग्यो। यसो ठम्याएर हेरी। निलो जिन्स प्यान्ट, रातो ज्याकेट र गोल्डस्टार जुत्ता लगाएको यो मान्छे अलि ठूलो काँटीको छ। उसको श्रीमान् उत्तीसको रुखजस्तै सुरिलो र हल्का काँटीको थियो। उसको अलमल देखेर त्यो मान्छे हाँस्यो। निलो ट्र्याक-सुट लगाएका जुम्ल्याहाजस्ता देखिने दुइटी केटी पनि हाँसे। होइन, हाँसो पनि उसकै श्रीमान्को जस्तो छ ! तरुनी आइमाई भएर परपुरुषलाई क्वारक्वार्ती हेर्नु भएन।

तर उसलाई त्यो मान्छे हाँसेको हेर्न मन लाग्यो। उसको श्रीमान्को अगाडिका दुइटा कोदालीपाते दाँतको दायाँबायाँका दुई दाँत थोरै अगाडि आएका थिए। त्यसमा गज्जबको हिस्सी थियो।

‘बहिनी त टोलाउन थाल्नुभयो। हामीले आज एक रातलाई वास मागेको। भोलि बिहानै हिँड्नु छ। दुई दिनदेखि पानीबाहेक केई खान पाका छैनौँ। बहिनीले एक रातलाई वास र केही खान दिनुभयो भने ठूलो गुण मान्नेछौँ।’

पानीबाहेक केही खान नपाएको सुन्दा एक्कासि उसलाई छातीमा चसक्क बिझेजस्तो भयो। नजानिँदो पाराले मनमा करुणा पलाएर आयो। कठै, के पाउँला भनेर यी भोकभोकै हिँडेका होलान् ? यस्तो लहलह जोवनका केटीहरू के खान यो मान्छेको पछि लागेका होलान् ? को हुन् यिनीहरू ? माओवादी त होइनन् ? कि बटुवा मात्रै हुन्?

‘हामी काठमान्डू जान लागेका हौँ बहिनी ! काम खोज्न। केही नलागे विदेशै जानुपर्छ होला।’

‘आउनुस्,’ सँघारबाटै उसले बोलाई। होचो ढोकाबाट निहुरिँदै उनीहरू भित्र छिरे। भर्‍याङमुनि झोला बिसाए। मझेरीमा उसले खोस्टाका दुइटा चकटी र एउटा मुढा राखिदिई।

‘दाजु कमरेड ! तपाईंको कम्मर सारै दुःख्या छ हैन ? मुढामा बस्नुस्’, दुईमध्ये अलि दुब्ली केटीले लोग्नेमान्छेलाई भनी।

‘कम्मर त मेरो भन्दा बढी तपैँहर्कै दुख्या होला,’ उसले भन्यो, ‘त्यत्रो हिँडेर आउनु भो। तपैँहरूमध्ये एक जना बस्नुस् !’ तिनीहरूले आफ्नो भन्दा अर्काको दुखाइलाई महत्व दिएको देख्दा उसलाई फेरि श्रीमान्को याद आयो। उसको श्रीमान् बिहान, बेलुकी पूरै दुई घण्टा हिँडेर स्कुल पढाउन पुग्थ्यो। अनि हरेक बिहान जाँगर चलाएर बारीमा कुटो, कोदालो चलाउँथ्यो। त्यति गरेर पनि खाना बनाउने बेला उसलाई सोध्थ्यो, ‘तिमीलाइ गाह्रो भको छ कि ?’

एक्कासि उसलाई त्यो मान्छेको कम्मरमा घसी घसी तेल लगाइदिऊँझैँ, जिउभरि मालिस गरिदिऊँझैँ लाग्यो। युवक हाँसिरहेको थियो। त्यो हाँसेको उसले चोरेर हेरी। त्यसले ओठ फुकाएको कति राम्रो ! तर त्यसका दाँत राम्ररी देख्न पाइन।

उसले भित्तामा ठड्याइएको परालको ठूल्ठूला आँख्ला भएका सुकुल फिँजाइदिई।

‘लौ, यसमै पल्टेर कम्मरलाई आराम दिनुस्।’
‘भइहाल्यो नि बहिनी, किन दुःख गर्नुभएको !’

‘एक छिन उत्तानो परेर, हातखुट्टा फालेर पल्टनुस्’, उसले रामवाण सुझाई, ‘एकैछिनमा कम्मर दुखेको निको हुन्छ।’ युवक अप्ठेरो नमानी पसारो पर्‍यो। केटीहरू हाँस्न थाले। युवकले उनीहरूलाई पनि उसैगरी पल्टेर आराम गर्न इसारा गर्‍यो। सरम मान्दै उनीहरूले नाईं भनिरहे।

ऊ धुवाँ पुतपुताइरहेको चुलामा दाउरा ठोस्न थाली। आगोको झिल्का माथितिर उड्यो। अनि बाँसको ढुङ्ग्राले फुकी। आगो बल्यो। अगेनामा सिलाबरको डेक्ची बसाली। त्यसमा पानी राखी। चिया र चिनी राखी। तख्ताबाट झिकेर अदुवा पखाली। सिलौटोमा थिचेर चियामा राखी। पानी स्वाइँय्यँ गर्‍यो। एकैछिनमा उम्लनै थाल्यो।

तख्ताबाट गिलास निकाली र चिया खन्याउन थाली। छिनभरमै युवक घुर्न थाल्यो। थकित हुँदा उसको श्रीमान् पनि यसैगरी बोल्दाबोल्दै, ठट्टा गर्दागर्दै घुर्न थाल्थ्यो। अनि ऊ श्रीमानसँग भुतुक्कै रिसाउँथी। अहिले भने युवक घुरेको पनि उसलाई प्यारो लाग्यो। बरु त्यसलाई पुर्लुङ्ग पल्टाइदिएर जिस्किरहुँ झैँ लाग्यो।

केटीहरूले युवकलाई उठाए। ऊ हाँसी। युवक पनि हाँस्यो। पातलो ओठ खोलेर खिसिक्क हाँस्ने तरिका पनि ठ्याक्कै उसको श्रीमान्को जस्तै थियो।

‘लौ, बहिनी त डाक्टरै हुनुहुँदोरहेछ। मलाई त सन्चो भइहाल्यो,’ आङ तन्काउँदै युवकले भन्यो। उसले पहिला युवकलाई नै चियाको गिलास थमाई। युवकको हातसँग उसको हात जुध्यो। त्यसको मनतातो हातको स्पर्श सुमधुर थियो। उसले दुइटी केटीलाई चिया दिन झन्डै बिर्सेकी !

‘अनि, बहिनीको घरमा त कोही देखिनु हुन्न ! श्रीमान्, केटाकेटी, सासू, ससुरा खोइ त ?’ युवकले प्रश्नको मुहान यसरी खोल्यो कि उसको बोलीमा ताल्चा लाग्यो। मझेरीभरि मसानतुल्य सन्नाटा फैलियो। तीनै जना पाहुना चियासमेत पिउन छाडेर आफै यो वेदनामय सन्नाटामा सहभागी भए। एक्कासि उसलाई छाती पिटी पिटी रोऊँझैँ लाग्यो।
चिसो दाउराको धुवाँले उसको पीरमा पीरो आँसु थपिदियो। कुर्ताको फेरले पुछ्न अप्ठेरो भयो। थुक निल्दै आँसु र सिँगान फाल्न बाहिर निस्किई। धारामा हातमुख सफा गरेर भित्र छिरी। अब ऊ भात बसाल्ने तरखर गर्न थाली। पहिला कसौँडी भिजाई। त्यसको पिँध रातो माटोले पोती। अनि खरानी दलेर चुलामाथि बसाली। चामल र पानी त पहिल्यै हालिसकेकी थिई। दुइटी केटीले आलु र मूला पखालेर काट्न सघाए। युवक लसुनको बिजुला खोसल्न थाल्यो।

खुसी आफूसँग रहुन्जेल मान्छेले चिन्न सक्दैन। गुमिसकेपछि यो कति अमूल्य थियो भन्ने बल्ल थाहा पाउँछ। कुनै विद्वान्ले भनेको यो कुरा उसको जीवनमा ठ्याक्कै लागू भएको थियो। पढेलेखेको, गाउँकै प्रतिष्ठित शिक्षक, जाँडरक्सी नछुने, जुवातास नखेल्ने, कसैको चित्त दुःखाएर नबोल्ने श्रीमान्को आत्मसम्मानमा चोट पुर्‍याउने काम उसले खुबै गरी। श्रीमान्ले सोझो मुखले बोल्दा ऊ झर्केर जबाफ दिन्थी। कुनै कारणबिना महिनौँसम्म नबोलेर बस्थी। अहिले उसलाई आफ्ना श्रीमान्को गुण र आफ्नो चोथाले स्वभाव सम्झेर आफ्नै टाउको भित्तामा ठोकूँ झैँ लाग्छ।

उसको श्रीमान्को अपहरण भएको दिन बिहान सूर्यग्रहण थियो। श्रीमान्ले भनेको थियो, ‘आज सूर्यग्रहण छ।’

‘भए मैले के गर्ने त ?’ उसले टिमुर्किंदै प्रतिप्रश्न गरेकी थिई।
‘चाँडै भात पकाएर खाने, म स्कुल जाने, तिमी घरमै आराम गरेर बस्ने।’
‘यो मान्छे त खानै नपाएर मरेको रहेछ,’ धारे हात लगाउँदै उसले भनेकी थिई।

त्यसपछि चित्त कुँडाएर खानै नखाई श्रीमान् स्कुल गएको थियो। दोस्रो पिरियड पढाइरहँदा दुई जना युवकले उसलाई बाहिर बोलाए। बाहिर अरू दुई जना थिए। तिनीहरूले उसको हात पछाडि फर्काएर टनटनी बाँधिदिए। विद्यार्थी र शिक्षकले तिनीहरूलाई घेरा हाले। एउटा केटोले रिभल्भर निकाल्यो र आकाशतिर फायर गर्‍यो। कुखुराको चल्लाझैँ दच्किएर सबै जना स्कुलको कुनामा लुक्न पुगे।

त्यसपछि खेतको आली र कान्ला उकाल्दै उसलाई लिएर पूर्वतिर जङ्गलमा लगे। विद्यार्थी, शिक्षक र सारा गाउँले उसको सज्जनता र न्यायप्रियताको गुण गाएर थाक्दैनथे। त्यस्तो मान्छेलाई हात बाँधेर जङ्गलतिर लगेको घटनाले पूरै गाउँ शोक सन्तप्त थियो। के उसको श्रीमान्ले माओवादीविरुद्ध सुराक गरेको थियो ? कि भित्रभित्रै जनयुद्धमा संलग्न थियो र माओवादीले गद्दार घोषणा गरेको थियो ? त्यस्तो कुनै कुरा कसैलाई थाहा थिएन।

त्यसयता दस वर्ष बित्यो, उसको श्रीमान्को कुनै पत्तो छैन। कोही भन्छन्, माओवादीले खुत्रुक्कै मारिदिए। कोही भन्छन्, पल्लो गाउँमा सेनासँग भिडन्तका क्रममा ऊ पनि मारियो। कोही भन्छन्, अपहरणकारी माओवादी नभई माओवादीलाई बदनाम गर्न तिनकै शैलीमा आएका सेना थिए। गाउँकै एउटा केटाको कुरा पत्याउने हो भने वरिपरिका गाउँले भेला पारेर अपहरण गरेको पाँचौँ दिन ऊसहित अन्य दुई जनालाई कालो कपडाले मुख छोपेर रुखमा बाँधी बन्दुकधारीहरूले गोली ठोकिदिए रे। रे, रे, रे, रे। मात्रै रे। देखिजान्या कसैले होइन। न सरकारले, न विद्रोहीले उसको हत्याको सूचना दिएको छ। अनि यस्तो कुरा लासै नदेखी कसरी पत्याउनु ?

‘मुख कसैले देख्या होइन, कपडा हेर्दा मेरै बुढो हो भन्थे। तर त्यतिको भरमा कसरी पत्याउनु ? मन त मान्दै मान्दैन,’ लामो सास तान्दै उसले भनी, ‘यत्रो वर्षसम्म नआउँदा अब बितिसक्नुभोे जस्तो पनि लाग्छ। तर भित्री मनमा एक दिन पक्कै फर्कनु हुन्छ जस्तो लाग्छ।’

‘धैर्य गर्नुस् बहिनी, तपाईंको श्रीमान् अवश्य फर्कनु हुन्छ।’
‘हजुर ! के भन्नु भो ? तपैँले देख्नुभको छ र ? कसरी भन्नुहुन्छ ?’
‘होइन। तपाईंको मायाले फर्केर आउनुहोला भन्न खोजेको।’

भात अघि नै पाकिसकेको थियो। आलु र मुलाको झोलिलो तरकारी भकभकी उम्लेर बिर्को उछिट्टिन थाल्यो। उसले सिलौटामा नुन, खुर्सानी र टिम्मुर पिँधेर अचार बनाई। अनि तीनटा सिलाबरको थाल फिँजाएर भात पस्कन थाली।

‘बुढो हराएको छ महिनापछि काखे नानीलाई निमोनिया भयो। बल्ल डेढ वर्ष भएकी थिई। सदरमुकाम पुग्नै दुई दिन हिँड्नुपर्ने,’ पाहुनालाई थाल सारिदिँदै उसले भनी, ‘भोलिपल्ट अस्पताल लान्छु भन्दाभन्दै अघिल्लो राति नै बिती।’

उसले आँखा पुछी। तीनै जना पाहुनाबीच सन्नाटा यसरी फैलियो, तिनले सुपुसुपु भात निलेको आवाज प्रस्टै सुनियो।
‘दुःख पनि कति सुनाउनु, छोरोको पीरै पीरले दुई वर्षभित्र सासू-ससुरा पालैपालोे बितिगए,’ आँखीझ्यालबाट बाहिरतिर औँल्याउदै उसले भनी, ‘त्यसपछि बुढीभन्ज्याङको यो धसिङ्गारे पहाडजस्तै म एक्ली छु। यही घर अघिल्तिरको बारी जसोतसो खनी, खोस्री गर्छु। बाँकी सबै खेतबारी बाँझै छन्।’

युवकलाई उसले मझेरीमै ओछ्यान लगाइदिई। अनि केटीहरूलाई माथि कोठामा जाऊँ भनी। केटीहरूले बिहान चाँडै हिँड्नुपर्ने भएकोले मझेरीमै सुत्न जिद्दी गरे। युवकलाई त उसले प्रेमपूर्वक आफ्नै डस्ना, सिरक दिएकी थिई। बाँकी अब एउटा रग, आफ्नै दोलाईं र तन्नाबाहेक केही थिएन। केटीहरूलाई उसले त्यही ओछ्याइदिई। तिनीहरू आफ्नै झोलाको सिरानी लगाएर सुते। अनि माथि डस्ना र सिरकबिनाको खाटमा ऊ गुन्द्रीमाथि गुडुल्को परेर सुती।

युवक सायद निदाइसकेको थियो। केटीहरू गुनगुन गरिरहेका थिए। सिरक थिएन। त्यसमाथि मन त कवाज खेल्ने टुँडिखेल नै भइरहेको थियो। यस्तोमा कसरी लागोस् निद्रा ! ननिदाई एक घण्टा बित्यो। दुई, तीन, चार र पाँच घण्टा पनि छर्लंग बित्यो।

ननिदाई त्यसै सुतिरहनुभन्दा पाहुनालाई खाजा बनाइदिनु पर्‍यो भनेर उठी। तिनको निद्रा नखलबलियोस् भनेर बिरालाको चालले भर्‍याङको खुड्किला चाल्दै मझेरीमा ओर्ली। भर्‍याङमुनि नै युवक शान्तिपूर्वक निदाइरहेको थियो। केटीहरू भने झोलाको सिरानी छाडेर एउटी पूर्व र अर्को पश्चिमतिर टाउको पारेर, सानीले ठूलीकोे भुँडीमा र ठूलीले सानीको तिघ्रामाथि खुट्टा तेस्र्याएर असरल्ल सुतिरहेका थिए।

उसले बिस्तारै ढोकाको चुकुल खोली। चर्पी गएर फर्कंदा तीनै जना झोला बाँधेर जाने तर्खर गरिरहेका थिए।

‘त्यहाँसम्म पुगेपछि त जनताले नै बचाउँछन् नि ! पहिला त्यहाँ पुग्नुपर्‍यो,’ युवक भनिरहेको थियो। उसलाई देखेर मुसुक्क हाँस्यो।
‘लौ त बहिनी, अब हामी जान्छौँ। तपैंलाई धेरै धेरै धन्यवाद छ। कसैले सोधे कोही आएको छैन भन्नुहोला। काल-जमाना ठीक छैन। बरु, कति पैसा दिँदा होला ?’
कर गर्दा पनि पाहुनासँग पैसा लिन उसले मानिन। युवकले नमस्कार मुन्द्रामा हात जोड्यो। एक्कासि उसलाई घाँटीमा केही अड्केजस्तो, पाएको केही अमूल्य वस्तु फेरि हराएजस्तो लाग्यो। उसले युवकको जोडिएको हात च्याप्प समाती। युवक मुसुक्क हाँस्यो। बल्ल दाँत राम्ररी देखियो। त्यसका दाँतमा पनि उसको श्रीमान्को जस्तै गजबको हिसी थियो।

‘यतै बस्नुस् न, किन जानुहुन्छ ?’ अहो, उसको मुखबाट यो के निस्कियो !
‘हजुर ? के भन्नुभो ?’ युवकले हात छुटाउँदै भन्यो।
‘चिया खाएर जानुस्। म खाजा बनाइदिन्छु, लिएर जानुहोला,’ उसले आफूलाई सच्याई।
‘तपैँले जे गर्नुभयो, त्यही लाख भो बहिनी ! लौ त राम्ररी बस्नुुस्। फेरि फेरि बाटो पर्दा अवश्य छिरौँला।’
बाहिर अँध्यारोमा तीनटा छायाँ निस्किए र छिनभरमै गायब भए।
अब यो मध्यरातमा के गर्नु थियो र ! आग्लो लगाएर ऊ युवक सुतेको ओछ्यानमै सुती।

बिउँझँदा माघे तुसारो गलाएर घाम आँगनमा ओर्लिसकेको थियो। उत्तरतिर जुगल हिमाल सुनझैँ झलमल्ल चम्किरहेको थियो। तलतिर ठूलो हल्लाखल्ला सुनियो। मानिसहरू दगुर्दै बारीको पाटातिर ओर्लिरहेका थिए। ऊ पनि तिनकै पछाडि दगुरी। सुख्खा बारीको बकैँनाको लहरै तीनटा रुखमा दायाँबायाँ दुई युवती र बीचमा एउटा लोग्नेमान्छे बाँधिएका थिए। तीनै जनाका शिर लत्रिसकेका थिए।

को थिए तिनीहरू ? हरे, यिनीहरू गए राति उसकै मझेरीमा वास बसेका सुभाषी मानिसहरू थिए। उसको छाती गह्रौं भयो। एउटा सिपाही बन्दुकको कुन्दाले तिनीहरूको पेटमा घोचिरहेको थियो जहाँबाट पानीको मूल फुटेझैँ रगत ओर्लिरहेको थियो। सेनाले तिनको हातको डोरी फुकाए र बारीमा सुताए।

केटीहरू शान्त भइसकेका थिए। युवकचाहिँ अझै थरर्र कामिरहेको थियो। एउटा सिपाहीले त्यसको टाउकोमा तीन पल्ट जोडले दाउरोको चिर्पटले हिर्कायो। टाउको फुट्यो। रगत बग्यो। एकैछिनमा ऊ पनि शान्त भयो। एक्कासि उसलाई आफ्नो श्रीमान् फर्किआउने अन्तरहृदयको सपना यहीँ पटाक्षेप भएझैँ लाग्यो।

क्रूरताको यो हेरिनसक्नु दृश्य देखेर अरू महिलाजसरी उसले रुने, चिच्याउने काम गरिन। बरु, क्रूरताप्रतिको अतिसय घृणाले उसको मनबाट डर एकाएक गायब भयो।