• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर

अनुदानको मलमा कालाबजारी



वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा विगत तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका हुन् ।
    
प्रति बोरा (५० केजी) युरिया मल रु सात सयमा बिक्री गर्नुपर्नेमा स्थानीय व्यापारीले मलको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने गरेका छन् । फलस्वरुप रु सात सयमा प्रतिबोरा पाउने युरिया मल किसानले रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म खरिद गर्न बाध्य भएको पर्सा रामगढबाका किसान शेषमन पण्डितको भनाइ छ । एकातिर सरकारी अनुदानको मलको अभाव हुनु र अर्कोतिर भारतबाट तस्करी भई नेपाल भित्रिने गुणस्तरहीन मलको बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको अर्को किसान विजय पण्डितको गुनासो छ । 

पर्साका सुदूरग्रामीण क्षेत्रमा मल बेच्ने व्यापारीको भने आफ्नै पीडा छ । एक त भनेजति मल पाउँदैन भने अर्कोतिर भाडा बढी लाग्ने र बाटोभर प्रहरीले दुःख दिने गरेकाले महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।  धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया ल्याउन सरकारले आवश्यक प्रक्रिया शुरु गरेपनि लकडाउनका कारण भारतको कलकत्ता बन्दरगाहबाट विगत तीन महिनादेखि आउन नसकेको बताउँदै कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रदेश प्रबन्धक गोरखनाथ केसीले भन्नुभयो, “अहिले पनि पर्सा जिल्लामा एक हजार टन युरिया मलको आवश्यकता छ ।” मल अभावका कारण धानखेती प्रभावित भएको छ । हाल यस कार्यालयमा पोटास २५ टन र डिएपी आठ टन मौज्दात अवस्थामा रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगञ्जमा मौज्दात रहेको १६८ टन युरिया मल २५० वटा डिलरमार्फत सहुलियत दरमा किसानलाई उपलब्ध गराउँदै आइरहेको कार्यालय प्रमुख अमोज लामिछानेले बताउनुभयो । उहाँले बढी मूल्यमा मल बेचेको उजुरी आएमा त्यस्ता थोक विक्रेतालाई कारवाही गरिने बताउनुभयो ।

“धान रोपाइँ गरिसकेपछि दुई पटक युरिया मल हाल्ने गरिन्छ”, कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख डा।रामचन्द्र यादवले भन्नुभयो, “पहिलो पटक धान रोपेको एक महिनापछि र अर्को पटक बाला निस्किने बेलामा खेतमा मल हाल्ने गरिन्छ ।” मलको अभावमा यहाँको धानखेती प्रभावित हुने उहाँको भनाइ छ । पर्सामा ४० हजार ५ सय हेक्टरमा धानखेती हुँदै आएको छ ।