४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण

अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण
अ+ अ-

रुङ्गा (झापा) । झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसङ्कटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्षअघिदेखि उद्धार गरेर संरक्षणको कार्य शुरु गरेका कारण यो नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिन पुगेको हो ।

पानी र जमिन दुवै ठाउँमा बस्नसक्ने कछुवा उभयचर जीव हो । प्रकृतिको सर्वाधिक पुरानो जीवधारी मानिने कछुवा सरिसृप वर्गमा पर्छ । यसलाई अहिले अर्जुनधारा नगरपालिकामा संरक्षण गरेर राखिएको छ । सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र आठ प्रजातिका ४० भन्दा बढी कछुवालाई संरक्षण गरेर राखिएको टिआरसिसी टटल्स क्लवका कार्यक्रम निर्देशक समीर अधिकारीले बताउनुभयो ।

उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल ९एआरसीओ, आर्को० को सहयोगमा सन् २०१२ बाट समुदायमा आधारित भएर यहाँ कछुवा संरक्षण कार्यक्रम शुरु गरिएको र सोही कार्यक्रममार्फत कछुवा संरक्षणको काम थालिएको हो । टटल्सका कार्यक्रम निर्देशक अधिकारीले यस ठाउँमा अहिले कछुवाको प्रजनन् समेत हुँदै आएको जानकारी दिनुभयो । 

प्रतिष्ठानले तीन बिघा क्षेत्रमा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा ल्याएको छ । जहाँ विश्वमा दुर्लभ मानिएका कछुवालाई संरक्षण गरेर राखिएको छ । कछुवा संरक्षण तथा प्रजनन केन्द्रमा राखिएका कछुवामध्ये झापाको टाङटिङ, बिरिङ खोलामा मात्र पाइने लोपोन्मुख ध्वाँसे–कडे–पाते कछुवासहित चार प्रजातिका अतिसङ्कटापन्न कछुवा र विदेशमा मात्रै पाइने रातो काने कछुवा यहाँ राखिएको टटल्सका कार्यक्रम निर्देशक अधिकारीले बताउनुभयो ।

संरक्षण केन्द्रमा राखिएको कछुवामध्ये ठोटरी प्रजाति एक हो । ठोटरी अर्थात् विश्वमा नै अति सङ्कटापन्न अवस्थामा रहेको यो प्रजातिको कछुवा विशेषगरी सालसँग सम्बन्धित जङ्गलमा मात्रै बस्न रुचाउने गर्छ अधिकारीले भन्नुभयो, “यो कछुवा विशेषगरी मध्य पहाड र तराइमा पाइन्छ, यो कछुवालाई मानिसले मासुका लागि घरमासमेत पाल्ने गरेका छन् । मासुका लागि प्रयोग भएका कारण यो प्रजातिको कछुवा विश्वमै लोप हुँदै गायो ।”

केन्द्रमा संरक्षण गरेर राखिएको अर्को प्रजातिको कछुवा हो– नरम खवटे । यो कछुवा वर्षायाममा धेरै देखिने गरिएको छ । यसलाई टिकटिके पनि भन्ने गरिन्छ । यो प्रजातिको कछुवा पानीमा बस्न रुचाउने गर्छ । त्यस्तै केन्द्रमा संरक्षण गरिएको अर्को प्रजाति हो– पहेँलो धुरे । पहेँलो धुरे कछुवासँगै यहाँ भारतीय धुरे कछुवा समेत संरक्षण गरेर राखिएको छ ।

कछुवा संरक्षणका लागि प्रतिष्ठानले सानाठूला पोखरी, खुल्ला ठाउँ, सुरक्षित घेराबारा, बोटबिरुवा रोपण गरेको छ । जहाँ झापाका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका कछुवालाई छाडिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताउनुभयो ।

पर्यावरण सन्तुलन राख्न कछुवाको भूमिका महत्वपूर्ण रहन्छ अर्जुनधारा नगरपालिका प्रमुख रानाले भन्नुभयो, “यहाँ आठवर्षदेखि कछुवा संरक्षण गरेर राखिएको छ । कछुवाको संरक्षका लागि शहीद सुखानी स्मृति प्रतिष्ठानले व्यवस्थापन गरेपनि नगरकोसमेत सहयोग छ ।”  

कछुवा संरक्षणका लागि नगरले हरेक वर्ष बजेटसमेत विनियोजन गर्दै आएको र कछुवा संरक्षण गरेकै कारण शहीद सुखानी स्मृति प्रतिष्ठानमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेकाले गत वर्ष यो नगरलाई कछुवा संरक्षित नगर घोषणा गरिएको नगरप्रमुख रानाको भनाइ छ । अर्जुनधारामा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा आएदेखि जिल्लाको मेची बहुमुखी क्याम्पस, विराटनगर, चितवन, काठमाडौँ, धनगढीलगायतका स्थानबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । अहिले पनि दुई जना विद्यार्थीले कछुवाकै विषयमा विद्यावारिधि गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

प्राणीशास्त्रीहरूले कछुवालाई मुख्यतः तीन भागमा बाँडेर अध्यायन गर्ने गरेको मेची बहुमुखी क्याम्पसका जीवविज्ञानका प्राध्यापक डा कालुराम खम्बूले बताउनुभयो । उहाँका अनुसार पहिलोमा समुद्री ९टर्टल० कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा ९टेरापिन० र तेस्रो जमीनमा पाइने कछुवा (टारटायस) पर्दछ ।

मानिसकोभन्दा झण्डै दोब्बर आयु भएको कछुवाले एकपटकमा चारदेखि नौ वटासम्म अण्डा पार्ने गरेको उहाँको भनाइ छ । अण्डा पारेको १७० दिनको हाराहारीमा उपयुक्त वातावरण हुँदा अण्डा कोरल्ने गरेको बताइन्छ । विश्वमा रहेका ३६५ प्रजातिका कछुवामध्ये नेपालमा १८ प्रजातिका कछुवा पाइने उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (आर्को) ले जनाएको छ ।

विश्वमा ५० र नेपालमा ५८ प्रतिशत कछुवा लोपोन्मुख अवस्थामा रहेको कछुवासम्बन्धी अध्ययनमा विद्यावारिधि गर्नुभएका केन्द्रका प्रमुख संरक्षक आर्को नेपालका प्रतिनिधि तपिलप्रकाश राईले बताउनुभयो । नेपालमा पहिलो पटक सन् १९९८ मा जर्मन नागरिक प्राध्यापक डा हर्मनस्लेकले कछुवाको अध्ययन गरी चितवनको राष्ट्रिय निकुञ्जमा कछुवाको संरक्षण शुरु गर्नुभयो । त्यसपछि नेपालमा अहिलेसम्म दोस्रो र ठूलो क्षेत्रफलमा सहिद सुखानी स्मृति प्रतिष्ठानमा कछुवा संरक्षण केन्द्र सञ्चालनमा छ ।

कछुवा संरक्षण केन्द्र सञ्चालनमा आएसँगै कछुवाको संरक्षणका लागि टटल्स क्लवका पदाधिकारीले अहिले विभिन्न १२ जिल्लामा ७० जनाले कछुवा संरक्षणका लागि चेतना फैल्याउँदै आएका छन् ।

कछुवालाई राख्न छुट्टै क्वारेन्टिन

अर्जुनधारा नगरपालिकामा कछुवालाई राख्नका लागि छुट्टै क्वारेन्टिको व्यवस्था गरिएको छ । ‘कछुवा संरक्षण तथा प्रजनन् केन्द्र’ को हाताभित्र उद्धार गरेर ल्याइएका कछुवालाई शुरुमा छुट्टै क्वारेन्टिमा राख्ने गरिएको र निरोगी भएको प्रभाणित भएमात्रै खुला छाड्ने गरिएको प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईले बताउनुभयो । कुनै न कुनै माध्यमबाट यहाँ उद्धार गरेर ल्याइएका कछुवालाई शुरुमा क्वारेन्टिनमा राखेर मात्रै खुल्ला रुपमा छाडिन्छ भट्टराईले भन्नुभयो, “बिरामी अवस्थाको कछुवा भए उपचार गरेर पूर्ण रुपमा निरोगी बनाएर मात्रै छाड्छौँ ।”

“प्रतिष्ठानको हाताभित्र बनाइएको क्वारेन्टिनमा बच्चालाई समेत राख्ने गरिएको छ । कछुवाका अण्डा भेला गर्दै प्रतिष्ठानमा तयार गरिएको ‘इन्क्युवेटर’मा राखेर उपयुत्त तापक्रम दिएपछि अण्डा कोरलिन्छ त्यसपछि कछुवाका बच्चालाई पनि क्वारेन्टिनमा राखिन्छ र हेरचाह गरिन्छ”, टटल्स क्लबका निर्देशक अधिकारीले भन्नुभयो ।

संरक्षणका लागि ल्याइएका कछुवालाई बिरामी पर्दा उपचारमा भने समस्या हुने गरेको प्रतिष्ठानले जनाएको छ । टटल्सका कार्यक्रम निर्देशक अधिकारीका अनुसार कछुवासँग सम्बन्धित ‘भेटेरीनरी’ नभएका कारण कछुवा बिरामी हुँदा कछुवाको भित्री रोग या घाउ पत्ता लगाउन गाह्रो हुने गरेकोले अनुमानका भरमा औषधि गर्दै आइएको छ ।

“कछुवाको बाहिरी अवस्था हेर्ने, उसले खाए नखाएको छुट्याउने, उसको दिनचर्या कस्तो छ त्यो विचार गरेर मात्रै निरोगी कछुवा बिरामी भएको छुट्याउँदै आएका छौँ”, अधिकारीले भन्नुभयो । यसको छुट्टै भेटेरीनरी भएको भए सहज हुने उहाँहरुको भनाइ छ । 

चोरी शिकारीले लोप भए कछुवा

झापामा रहेका विभिन्न सिमसार क्षेत्रमा एक दशकअघिसम्म जताततै कछुवा देख्न सकिने गरेकोमा अहिले भने सबै कछुवा लोप भएका विर्तामोड– १ का पुराना बासिन्दा लक्ष्मण ढकालले भन्नुभयो । उहाँका अनुसार कछुवा लोप हुनुको मुख्य कारण चोरी सिकारी नै हो । “वर्षायाम शुरु भएसँगै जताततै देखिने कछुवा लोप हुनुको अर्को कारण यसको संरक्षण नहुनु पनि हो”, ढकालले भन्नुभयो, “अरु जीवजन्तुजस्तो कछुवा छिटो भाग्न सक्दैन, त्यही भएर कछुवा मार्दैै मासु खाने प्रबृत्तिले कछुवा लोप भएका हुन् ।”

वविशेषगरी पहेँलो धुरो, नरम खपटे र ठोटरी कछुवा झापाका विभिन्न सिमसार तथा खोला किनारमा पाउन सकिन्छ । तर, चोरी सिकारीकै कारण कछुवा लोप भएका हुन् ढकालले भन्नुभयो ।
कछुवा मात्र होइन कृषिमा यान्त्रिकीकरणको बढ्दो प्रयोगले सरिसृप वर्गमा पर्ने अन्य धेरै जीवजन्तु नासिएर गएको ढकालको भनाई छ । खेतबारीमा अहिले धान रोप्ने समयमा ट्र्याक्टरको प्रयोग हुन्छ यसले धेरै सरिसृप र्वमा पर्ने जीवजन्तुलाई असर पर्दा मासिएर गए । जथाभावी जमिनमा विषादीको प्रयोगलेसमेत कछुवालगायतका जीवजन्तुलाई असर गरेको छ । कतिपय जीवजन्तु त आहारकै अभावमा मरेर जासिए ढकालले भन्नुभयो ।

अर्जुनधारा नगरपालिकमा कछुवा संरक्षणका लागि गरिएको प्रयासप्रति खुशी व्यक्त गर्दै ढकाले भन्नुभयो, “प्रकृति र मानवबीचमा वातावरणीय सन्तुलन कायम राख्न कछुवालगायतका धेरै जीवजन्तुको भूमिका उच्च हुन्छ यस्ता प्रजातिलाई संरक्षण गर्न सक्नुपर्छ ।” कछुवाले पानी शुद्ध राख्न अह्म भूमिका खेल्छ, पानीमा मरेका जीवजन्तुलाई खाएर पानी शुद्ध राख्ने कछुवा नै लोप भएपछि प्रकृति र मानवबीचमा पर्यावरण कसरी सन्तुलित हुन्छ ढकालको प्रश्न छ । जलवायु परिर्वतन र प्लाष्टिकजन्य फोहरका कारणसमेत कछुवालगायत सरिसृप वर्गमा पर्ने धेरै जीवजन्तु लोपहुँदै गएको वाल्मीकि एजुकेशन फाउण्डेशनमा प्राध्यापनरत ढकालको भनाइ छ ।