एजेन्सी । पाकिस्तानका बाबर आजमलाई पछि पार्दै भारतका शुभमन गिल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) वरीयताको शीर्ष स्थानमा पुगेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा ब्याटिङतर्फ गिल ७९६ अङ्कसहित पहिलो स्थानमा पुगेका हुन् ।
शुभमन गिलले हालै इंग्ल्याण्ड विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले नागपुरमा भएको पहिलो खेलमा ८७ रन र कटकमा भएको दोस्रो खेलमा ६० रन बनाएका थिए ।
यस्तै, एकदिवसीयमा बाबर आजम ७७३ अङ्कसहित दोस्रो स्थानमा छन् । भारतका कप्तान रोहित शर्मा तेस्रो स्थानमा यथावत् छन् ।
यस्तै, एकदिवसीय बलिङ वरीयतामा अफगानिस्तानका राशिद खानलाई पछि पार्दै श्रीलङ्काका महीष तीक्षणा ६८० अङ्कसहित शीर्ष स्थानमा पुगेका छन् । राशिद खान ६६९ अङ्कसहित दोस्रो स्थानमा छन् भने नामिबियाका बर्नार्ड शोल्ट्ज तेस्रो स्थानमा यथावत् छन् ।
त्यसैगरी, एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका मोहम्मद नबी शीर्ष स्थानमा, जिम्बावेका सिकन्दर रजा दोस्रो स्थानमा र अफगानिस्तानकै अजमतुल्लाह ओमरजाई तेस्रो स्थानमा यथावत् छन् ।










