
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज (सोमबार) देखि शुरु हुँदैछ । काठमाडौँमा फेब्रुअरी २६ सम्म हुने यस प्रतियोगितामा नेपालसहित म्यान्मार, लेबनान र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालले पहिलो खेल आज किर्गिस्तानसँग खेल्नेछ । यो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुनेछ । यसअघि आजै म्यान्मार र लेबनानबीच दिउँसो २ बजेदेखि खेल हुने तालिका रहेको छ ।
त्यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी २० मा लेबनानसँग खेल्ने छ भने तेस्रो खेल फेब्रुअरी २३ मा म्यान्मारसँग खेल्ने छ । लिगको शिर्ष स्थान र दोस्रो स्थानमा रहने टोलिले फेब्रुअरी २६ मा उपाधिका लागि खेल्ने छन् ।
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले च्याम्पियनसिपको उपाधि जित्ने योजना रहेको बताएकी छन् ।
खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा एञ्जिलाले भनिन्, ‘उपाधि खडेरी तोड्न यो प्रतियोगिता हाम्रा लागि राम्रो अवसर हो । तयारी राम्रो भएको छ । टोलीको तालमेल मिलिरहेको छ । कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन ।’
यस्तै, नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले पहिलो खेलको प्रतिद्वन्द्वी किर्गिस्तान अहिले बलियो रहे पनि निश्चित योजना बनाएर उत्रने बताएका छन् ।
बलियो टोलीको रूपमा खेल्दै विपक्षीको काउन्टर अट्याकको रणनीतिलाई रोक्नुपर्ने प्रशिक्षकले उल्लेख गरे । उनले भर्खरै अधिकांश खेलाडी लिग खेलेर आएकाले इन्डुरेन्समा धेरै काम गर्नु नपरेको बताए ।
नेपालको मुख्य समस्या खराब डिफेन्सलाई सुधार गर्न काम भइरहेको उनले उल्लेख गरे ।
नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारीले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको पहिलो खेल गुमाउने सम्भावना बढेको छ । टोलीका मुख्य प्रशिक्षक तामाङले सावित्रा फ्रान्सबाट सोमबार बिहानमात्रै नेपाल आइपुग्ने र पहिलो खेल गुमाउने सम्भावना रहेको जानकारी दिएका हुन् ।
यस्तै, किर्गिस्तानका प्रशिक्षक नेमातझन जाकिरोभले यो प्रतियोगिता खेल्न पाउँदा आफू उत्साहित रहेको उल्लेख गर्दै राम्रो फुटबल खेल्ने बताए । साथै उनले विपक्षलाई सम्मान गर्दै टिम युनिटीका साथ राम्रो फुटबल प्रश्तुत गर्ने उल्लेख गरे ।
प्रशिक्षकले नेपालको यु–१६ युथ लिगको फुटबल हेरेको उल्लेख गर्दै त्यो अनुभव पनि आफूहरूको लागि रमाइलो रहेको बताए । खेलमा राम्रो दर्शक आउने पनि उनले अपेक्षा गरेका छन् ।
किर्गिस्तानकी कप्तान अबिबुल्लाह किजी दिल्नुराले आफ्नो युवा टोली उपाधि जित्नको लागि आएको बताइन् । यदि उपाधि जित्न सफल भएन भने राम्रो अनुभवी लिँदै फर्कने पनि उनको भनाइ छ ।
किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो ।
एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनसिप आयोजना गरेको हो । सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागिएको हो ।