२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे



फाईल फोटो
अ+ अ-

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका छन् । विगत एक महिनाअघिदेखि जिल्लामा यो रोग देखापर्न थालेको हो । जिल्लाका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यासगरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो ।

जिल्लामा १६ बङ्गुर मरिसकेका र २२ बङ्गुर बिरामी अवस्थामा रहेका छन् । प्रयोगशालामा नमुना परीक्षण गर्ने क्रममा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अधिकृत रुद्रसिं ठकुरीले जानकारी दिनुभयो ।

भिमादमा १९ बङ्गुरमा सङ्क्रमण देखिएकामा १४ बङ्गुर र शुक्लागण्डकी नगरपालिकामा दुईमा सङ्क्रमण देखिएकामा दुईवटै गरी १६ बङ्गुर मरिसकेका छन् । त्यसैगरी व्यासमा केही फार्ममा बङ्गुर बिरामी भएको जानकारी पाएपछि कार्यालयबाट पशु चिकित्सकसहितको टोली पठाइएको छ । सबैभन्दा बढी भिमाद यो रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० कृषकले ४० हजार बङ्गुर पालेको तथ्याङ्क रहेको छ ।

अफ्रिकन स्वाइन फिभर रोग किर्नाको टोकाइबाट, दूषित दानापानीबाट, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट र सङ्क्रमित सुईबाट सर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको केन्द्रका प्रमुख डा राजेश चौधरीले बताउनुभयो ।

बाह्य मानिसलाई फार्ममा जान नदिन र बङ्गुर तथा सुँगुर ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । उहाँले भन्नुभयो, “केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान थालेको छ ।” उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने तथा सर्नेजस्ता लक्षण हुने डा चौधरीले बताउनुभयो ।