५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटीहोमलाई अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश



अ+ अ-

पोखरा। फेवा किनार नेपाल ट्रस्टको जग्गामा ३ महिनासम्म हुने भनिएको कोटीहोम महायज्ञ नरोक्न पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पोखराले मानव सेवा फाउण्डेसनले गर्ने भनेको कोटीहोम नरोक्न पोखरा महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको हो । मानव सेवा फाउण्डेसनले कोटीहोममा महानगरले अवरोध गरेको भन्दै रिट निवेदन दिएको थियो । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेश जारी हुन नपर्ने कारणसहित १५ दिनभित्र जवाफ पठाउन आदेश दिएको हो ।

निवेदकको तर्फबाट अधिवक्ताहरु ईश्वर चिलुवाल र तोयानाथ पौडेलले बहस गरेका थिए । फाउण्डेसनले महायज्ञका लागि नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको ४८ रोपनी जग्गा भाडामा लिएको छ । त्यसबाहेक वडा नम्बर ६ बाट कोटीहोमका लागि अनुमति दिइएको फाउण्डेसनको दाबी छ ।

पोखरा महानगरले अनुमति नदिएको र ध्वनी प्रदुर्षणसमेत हुने भन्दै कार्यपालिकाको बैठकले निर्णय गरेको थियो भने कोटीहोम महायज्ञ सञ्चालनका लागि जग्गा उपलब्ध नगराउन नेपाल ट्रष्टको कार्यालयलाई माघ २५ गते महानगरले पत्राचार गरेको थियो ।