काठमाडौँ: नेपाल बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात काठमाडौँमा बितरण गरिने थोक प्रणालीको उक्त पाइप अहिले करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पाइप फुटेपछि मन्त्री ज्युको निर्देशन पश्चात हामीले गएरातिबाट मर्मतको कार्य सुरु गरेका थियौँ । अहिले बल्ल आएर मर्मत कार्य सकिएको र पानी परिक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी बितरण प्रक्रिया सुरु गर्ने छौँ ।”
बिद्युत प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री यादवले बताउदै आउनु भएको छ ।
बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।










