२० असार २०८३, शनिबार
,
Latest
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित



अ+ अ-

चितवन । भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापालक किसान निराश भएका छन् ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा ३० प्रतिशत हाराहारी सेतो अण्डा देखिएको छ ।” रोगको सङ्क्रमणका कारण कानुनी रूपमा प्रतिबन्धित अण्डा निर्वाध रूपमा सीमा क्षेत्र पार गरेर आएको किसानहरूको गुनासो छ ।

पोखरेलले किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अण्डा भित्रिएपछि बजारमा समस्या देखिएको बताउनुभयो । यसअघि पनि बेलाबेलामा समस्या आउँदा गृह प्रशासनको ध्यानाकर्षण गराएपछि समस्या केही हदसम्म समाधान हुने गरेको उहाँको भनाइ छ ।

सङ्घका महासचिव भेषराज अर्यालका अनुसार एक महिना अघिसम्म प्रतिक्रेट (३० वटा)अण्डाको फार्म मूल्य रू ५१५ मा बिक्री भएकामा यो रेट घटेर रू ३७० मा झरेको थियो । माघ २१ गतेदेखि ठूला अण्डा प्रतिक्रेट रू ४०० पुगेको छभने मझौला रू ३८५ रहेको छ । मुख्य रूपमा भारतीय अण्डाको प्रवेशसँगै पर्यटकको आगमनमा कमी, स्कुल, कलेजमा जाडो बिदा, बढी जाडो, स्वस्थानी व्रतलगायत कारण अण्डाको मूल्यमा गिरावट आएको अर्याल बताउनुहुन्छ । क्रमशः बजार सुधार भएर मूल्य बढ्न थालेको भन्दै उहाँले सीमा क्षेत्रमा कडाइ गरिएमा अण्डाले लागत मूल्य पाउने बताउनुभयो ।

अण्डा उत्पादन र बजारीकरण गर्दै आउनुभएका युवा व्यवसायी अमोद खनालका अनुसार नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६ दशमलव ५६ पर्न आउँछ । लामो समय अण्डाले मूल्य नपाउँदा धेरै किसान विस्थापित भइसकेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सरकारले भारतीय अवैध अण्डा रोक्नुपर्छ । जसले नेपालको आत्मनिर्भर बनेको अण्डा उत्पादन क्षेत्रलाई जीवित राख्छ ।”

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार सीमा क्षेत्रबाट कुनै पनि अवैध वस्तु भित्र्याउन पाइन्छ । गुनासो आएको भन्दै कडाइका साथ रोक्न निर्देशन दिई सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अण्डाका विषयमा गुनासो आएको छ । यससम्बन्धी ध्यानाकर्षण भएर आवश्यक निर्देशन भइसकेको छ ।” खुल्ला सिमाना भएकाले काममा कठिनाइ भएको भन्दै उहाँले यद्यपी मिलेमतोमा अवैध रूपमा अण्डा भित्रन नदिइने बताउनुभयो । नेपालमा अहिले दैनिक ३२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको अनुमान छ । रासस