२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।

केही वर्षअघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार आन्तरिक स्थानान्तरणको कामका लागि सबै तयारी पूरा गरिएको छ । प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट गैँडा स्थानान्तरणको तयारी सुरू गरेको उहाँले बताउनुभयो । निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने छ ।

उहाँले भन्नुभयो, “अहिले हामीले दुईवटा भाले र दुई वटा पोथी गैँडा स्थानान्तरण गर्दै छौँ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्रतिवेदनमा कसराबाट पश्चिम क्षेत्रमा ६० प्रतिशत गैँडा रहेको र उनीहरूको स्थानान्तरण गर्नसके वासस्थान सहज हुने उल्लेख थियो । स्थानान्तरण गर्दा वयस्क गैँडा गरिने उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “अहिले गैँडाको निगरानी गर्ने काम भइरहेको छ ।” गैँडा स्थानान्तरणका लागि दुई साता लाग्ने अनुमान गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोड्ने तयारी गरिएको उहाँले बताउनुभयो । गैँडा स्थानान्तरणका लागि विभागका महानिर्देशक डा रामचन्द्र कँडेलसहितको टोली चितवन आएको उहाँले जानकारी दिनुभयो ।

तीन वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो । पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् । रासस