५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तला बेचेर २० लाख आम्दानी



अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् ।

“गत वर्ष रु १३ लाखको सुन्तला बिक्री भएको थियो”, उहाँले भन्नुभयो, “यसपालि उत्पादन बढेकाले रु २० लाखको सुन्तला बिक्री भएको हो ।” पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो रु ७५ का दरले सुन्तला बिक्री गरेको खत्रीले बताउनुभयो । खत्री जिल्लामा सुन्तलाखेतीबाट धेरै आम्दानी गर्नेमध्ये एक हुनुहुन्छ । खत्रीसहित मरेकका किसानले यस वर्ष सुन्तला बिक्री गरेर रु एक करोड ५० लाख आम्दानी गरेका छन् ।

मरेकका रहेको २१ मध्ये २० घरपरिवारले सुन्तलाखेती गरेका छन् । प्रतिघर न्युनतम रु एक लाखसम्मको सुन्तला बेचेका छन् । “गत वर्ष रु ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेको थियो”, उहाँले भन्नुभयो, “फल लाग्ने बिरुवा थपिएका, क्षेत्रफल विस्तार, दाना झर्ने समस्या कम भएको, बगैँचा व्यवस्थापन र अनुकूल मौसमका कारण सुन्तला उत्पादन बढेको हो ।”

माघको पहिलो साता सुन्तला टिपेर निख्रिएपछि किसान बगैँचा व्यवस्थापनमा जुटेका छन् । उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशकअघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दु:ख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो ।

अहिले मरेकको पाखा सुन्तला बगैँचाले भरिएको छ । वर्षमा १८ मुरी धान फलाउने इन्द्रबहादुर थापाले १४ रोपनीमा गरेको सुन्तल खेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने बताउनुभयो । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर रु छ लाख आम्दानी गर्नुभयो ।

“सुन्तलाखेती गरेपछि घरव्यवहार चलाउन विदेश जानुपरेको छैन”, उहाँले भन्नुभयो, “जीवनस्तरमा परिवर्तन ल्याएको छ ।” अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताउनुभयो । पोखरा, काठमाडौँ, हेटौँडाको बजारमा यहाँको सुन्तला खपत हुने गरेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् । अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताउनुभयो । सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिँचाइ र प्रविधि सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताउनुभयो । रासस