१५ माघ २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पती शुद्धीकरण निवारणका लागि अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरीः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पती शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरुले अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरी रहेको बताउनुभएको छ ।

सोमवार सम्पती शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले वित्तीय अपराध न्युनिकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरुले समन्वयात्मक रुपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँल आगामी दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएको मापदण्ड परिपालना र आफैले निर्माण गरेको कानून र नियमावलीहरुको कार्यान्वयनमा उत्कृष्ट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्दोष दण्डित हुँदैन र दोषीले उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सम्पती शुद्धीकरणमा दोषी भएका जो कसैलाई पनि दण्डित गरिने उल्लेख गर्नुभयो । उहाँले निर्दोष दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री पौडेलले सम्पती शुद्धीकरणको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उल्लेख गर्नुभयो । उहाँले धेरै मुलुकहरु यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्ने प्रयासमा रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले पनि आवश्यक कानून निर्माण केही प्रयास गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सम्पती शुद्धीकरणको समस्या नेपालको मात्रै समस्या नभएर विश्वकै समस्या हो । धेरै मुलुकहरु यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्नका लागि प्रयास गर्दै आएका छन् । नेपाल सरकारले पनि केही प्रयास गरिरहेको छ । सरकारले आवश्यक कानून निर्माण गरेको छ । नियम,संरचना निर्माण गरेको छ । अनुसन्धान र अभियोजनका कामकारबाहीलाई अघि बढाएको छ । यसरी केही महत्वपूर्ण काम गरेकै छ । तर यो बीचमा जति गर्न सक्नुपर्ने हो त्यति गर्न सकेका छैनौं । सम्पत्ति शुद्धीकरणको विषयमा नेपालले विश्वसामु उच्च मनोबलका साथ प्रश्तुत हुन सक्थ्यो । त्यो अवस्था रहेको छैन । पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्न सक्नुपर्ने थियो । कुनै अनुसन्धानमा छैनौं । कसुर जन्य सम्पती शुद्धीकरणको विरुद्धमा सम्पती शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाएका छौं भनेर गर्व गर्नसक्ने हुनुपर्ने थियो ।तर यो बीचमा प्रभावकारी र तत्परताका साथ कामहरु हुन सकेका छैनन् । आउने दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुको परिपालना र आफैले निर्माण गरेको कानूनको कार्यान्वयनमा हामी उत्कृष्ट हुनुपर्छ । अनुसन्धान अभियोजनको कामलाई तिब्रता दिन जरुरी छ । निर्दोष दण्डित हुँदैन । दोषीले पनि उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्छ । सम्पती शुद्धीकरणमा दोषी भएका जो कसैलाई दण्डित गर्छ । निर्दोष कसैले पनि भयवित हुनुपर्दैन । उनीहरु दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनेछन् । हामी देशभित्र विश्वसामु सम्पती शुद्धीकरण निवारणको प्रश्नमा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछौं भन्ने अपेक्षा छ ।’

उहाँले अनुसन्धान र अभियोजनका काम,कारबाहीलाई अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले यो बीचमा सम्पती शुद्धीकरण निवारणका लागि धेरै काम गर्नुपर्ने भएपनि सोचेअनुसार काम नभएको स्वीकार गर्नुभयो । उहाँले नेपालको पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्नसक्ने अवस्था नभएको बताउनु भयो ।