बुटवल । रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तेस्रो दिनको बहस सुरु भएको छ ।
गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
शुक्रबारसम्म सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । लामिछानेको तर्फबाट केही वकिलको बहस गर्न बाँकी छ ।
लामिछाने तर्फका वकिलको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालातर्फका वकिलले जबाफी बहस गर्नेछन् ।
त्यसपछि न्यायाधीशले थुनछेक आदेशमार्फत रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश सुनाउने छन् । सम्भवत: आज नै आदेश आउन सक्ने बताइएको छ ।
सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरिएको हो ।
लामिछाने यसअघि कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।