फुङ्लिङ । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ ।
कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो ।
सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार महोत्सवमा सरोकार भएका निकायका प्रतिनिधिसँग हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा अध्ययन, अवलोकन गरी अनुसन्धानमार्फत समस्या समाधानका विषयमा छलफल हुनेछ ।
गाउँपालिकाको आयोजनामा पछिल्लो समयमा जलवायु परिवर्तका कारणले हिमाली क्षेत्रको प्रभावका विषयमा अध्ययन, अवलोकन गर्नुका साथै महोत्सवमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको उहाँले जानकारी दिनुभयो । कञ्चनजङ्घा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो ।
कञ्चनजङ्घा हिमाल हेर्न आउनेका लागि गाउँपालिकाले सङ्घीय र स्थानीय सरकारको साझेदारीमा साहसिक पदमार्ग निर्माणमार्फत यात्रा सहज र रमणीय बनाउने काम गरिरहेको प्रवक्ता गौतमले बताउनुभयो । उहाँका अनुसार आगामी वैशाखमा आयोजना हुने महोत्सवमा निर्माणाधीन साहसिक पदमार्गको प्रचारप्रसार गर्ने, पर्यटन प्रवर्द्धनका साथै स्थानीय कला, संस्कृति र परम्परालाई चिनाउने उद्देश्य राखिएको छ ।
महोत्सवमा चार हजार पाँच सय मिटर उचाइको सहसिक कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने प्रवक्ता गौतमले जानकारी दिनुभयो । गत मङ्सिर २३ गते बसेको कार्यपालिका बैठकमा महोत्सव आयोजना सचिवालय समितिले मिति र स्थान तय गरी पेस गरेको थियो ।
सोही बैठकले सर्वसहमतिका आधारमा आगामी वैशाख १३ गतेदेखि १५ गतेसम्म नयाँ झोडेनीमा महोत्सव गर्ने निर्णय गरेको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्ष नयाँको अवसर पारेर झोडेनीमा आयोजना हुने महोत्सवमा म्याराथुन प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गर्ने योजना छ ।” म्याराथुन प्रतियोगिताका लागि नयाँ झोडेनी र मछेवा बीचको दूरी कायम गरिएको उपाध्यक्ष माबोले बताउनुभयो ।
यो स्थान कञ्चनजङ्घा हिमशृङ्खलाको सबै भन्दा उत्तम भ्यू पोइन्ट रहेको सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले गत कात्तिकमा निर्माणाधीन याम्फुदिनको आम्जि खोलाबाट कञ्चनजङ्घा बेस क्याम्पसम्मको साहसिक पदमार्गको अनुगमन गर्नुका साथै महोत्सव आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । महोत्सव आयोजनाले कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन सहयोग पुर्याउने गाउँपालिकाले जनाएको छ ।
वडाध्यक्ष गुरुङका अनुसार झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । “यो यहाँको मुख्य विशेषता हो । चौरी तथा याकको अवलोकन, नेपालको राष्ट्रिय फूल लालीगुराँस र हिमालले छपक्क छोपेको पहाड, पहाडको सिरैमा सेताम्मे हिमाल, हिमाली धुपी र सल्लाले यहाँको सौन्दर्यलाई थप आकर्षक बनाएको छ । यी सौन्दर्यले पर्यटकको थकान मेटाउने छ र मनोरञ्जन प्रदान गर्दछन्”, उहाँले भन्नुभयो ।
महोत्सव आयोजनाले आन्तरिक पर्यटकलाई हिमालको महत्व बोध गराई हिमाल हेर्न जान उत्साहित बनाउने विश्वास लिइएको गाउँपालिकाका प्रवक्ता गौतमले बताउनुभयो । यो स्थानमा महोत्सव आयोजना गर्दा खर्च कम लाग्नुका साथै नजिकबाट धेरै हिमालको अवलोकन गर्न सकिने हुँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो । रासस