एजेन्सी । मुम्बई प्रहरीले बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोपमा एकजना आरोपीलाई पक्राउ गरेको दाबी गरेको छ ।
प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गरी आरोपीलाई शनिबार राति २ बजे ठाणेको श्रम शिविरबाट पक्राउ गरेको जनाएको छ ।
मुम्बई पुलिसका डीसीपी गेडाम दीक्षितले भने कि आरोपी घरमा चोरी गर्ने नियतले प्रवेश गरेका थिए । उनीसँग भारतको कुनै पनि वैध कागजात छैन । उनीसँग भेटिएका सामानका आधारमा उनी बंगलादेशी भएको आशंका गरिएको छ ।
यस पत्रकार सम्मेलनमा प्रहरीले आरोपी सैफ अली खानको घरमा पसेको बताएको थियो तर सोही अभियुक्तले सैफमाथि आक्रमण गरेको हो वा होइन भन्ने स्पष्ट जवाफ प्रहरीले दिएको छैन ।
घटनाको समयमा उनी एक्लै थिए वा अन्य केही व्यक्ति पनि साथमा थिए भनेर मिडियाले सोध्दा प्रहरीले भने–अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार अभियुक्तलाई आइतबार नै अदालतमा पेस गरी हिरासतमा लिइनेछ । यसअघि शनिबार प्रहरीले छत्तीसगढको दुर्गबाट एकजना संदिग्धलाई पक्राउ गरेको थियो तर उनी यस घटनामा संलग्न नभएको पाइएको थियो । प्रहरीले हालसम्म करिब ५० जनालाई सोधपुछ गरिसकेको छ ।
पक्राउ परेका अभियुक्तको नाम मोहम्मद शरीफुल इस्लाम शाहजाद रहेको प्रहरीले जनाएको छ । उनको उमेर ३० वर्ष रहेको छ । अवैध रुपमा भारत आएपछि उनले आफ्नो नाम परिवर्तन गरेर विजय दास राखेका थिए ।
उनी ५–६ महिनाअघि मुम्बई आएका थिए । यहाँ एउटा हाउसकिपिङ एजेन्सीमा काम गर्थे । उनी पहिलो पटक सैफ अली खानको अपार्टमेन्टमा प्रवेश गरेका थिए ।
१५ जनवरीको राती आरोपी बान्द्रास्थित सैफ अली खानको घरमा प्रवेश गरेका थिए । आरोपीले सैफमाथि चक्कु प्रहार गरेका थिए । उनको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो । उनलाई राति नै अस्पताल लगिएको थियो ।