काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।
बुधबार लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरिरहेका छन् । बहसमा दुवै वरिष्ठ अधिवक्ताले सहकारी ठगीमा लामिछाने निर्दोष भएको जिकिर गरे ।
सरकारले दूषित मनसायका साथ अदालतमा अभियोग पत्र दायर गरेको भन्दै उनीहरुले गोर्खा मिडियामा ल्याईएको रकमबारेमा लामिछानेलाई थाहा नभएको दाबी गरे । गोर्खा मिडियाको सबै कारोबार जीबी राईले गरेको बताउदै अधिवक्ता पन्तले यसमा लामिछानेको संलग्नता नरहेको जिकिर गरे । उनले लामिछानेले तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने बताए ।
जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । काठमाडौंमा उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ ।
रविविरुद्ध बहस गरेका सरकारी वकिलहरूले भने उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् ।