१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

सूर्योदय नगरपालिकामा शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’

सूर्योदय नगरपालिकामा शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’
अ अ+ अ-

इलाम । यहाँको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुग्गेको छ । कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

नगरप्रमुख रणबहादुर राईले सूर्योदयमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय रहेका जाकारी दिनुभयो । उहाँका अनुसार सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी छन् । “यी कार्यक्रमले विद्यालयबीच स्वास्थ्य प्रतिस्पर्धा बढाएको छ । विद्यार्थीको अतिरिक्त क्रियाकलापमा क्षमता मापन गरिने भएकाले क्षमता वृद्धि भइरहेको पाएका छौँ ।”

गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रमअन्तर्गत कक्षा ८, ९ र १० का विद्यार्थीलाई गणितको अभ्यास पुस्तिका वितरण गर्दै आइएको नगरप्रमुख राईले बताउनुभयो । “कक्षा ८, ९ र १० मा दश हजार चार सय ४३ विद्यार्थी छन् । एक पटक तीन वटाका दरले कापी दिँदा सबै विद्यार्थी उत्साहित भई अभ्यास गर्छन् । वर्षमा तीन पटक वितरण गरिरहेका छौँ”, उहाँले राईले भन्नुभयो, “फुर्सद मिलाएर सबै विद्यालयमा पुग्ने गरेको छु । पछिल्लो समय अधिकांश विद्यार्थीले गणितलाई अप्ठ्यारो मान्न छोडेका छन् ।”

कार्यक्रम प्रभावकारी बन्दै गएको शिक्षक तथा विद्यार्थीले प्रतिक्रिया दिएका छन् । सूर्योदय–१० स्थित फिक्कल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा विन्दा ढुङ्गेलले पहिले निकै गाह्रो लाग्ने गणित विषय आजभोलि सजिलो लाग्न थालेको बताउनुभयो ।

“पहिले पास गर्नै गाह्रो हुन्थ्यो । अहिले नगरप्रमुख स्कुलमा आएर तीन वटा कापी दिँदै एक महिनामा सक्नुपर्छ भन्नुहुन्छ । धेरै अभ्यास भइरहेकाले होला, आजभोलि गणित सजिलो लाग्छ”, विन्दाले भन्नुभयो । उहाँमात्रै होइन सूर्योदयका अधिकांश विद्यार्थीले गणित सजिलो लाग्न थोलेको बताउँछन् ।

बाह्र महिना १२ कार्यक्रमअन्तर्गतका सबै कार्यक्रम प्रभावकारी भइरहेका शिक्षक बताउँछन् । हिमालय माध्यमिक विद्यालय गोर्खेका शिक्षक विशाल मास्केले भन्नुभयो, “वर्षको एकपटक नगरका सबै विद्यालयका विद्यार्थी भेला गरेर विज्ञान र गणित प्रदर्शनी गर्ने गर्दछौँ । प्रतिभाको खोजी कार्यक्रमअन्तर्गत लुकेका कला, क्षमता प्रस्फुटन गराउन प्रतियोगिता गराइन्छ । हरेक महिना फरक किसिमका खेलकुद प्रतियोगिता सञ्चालन हुन्छन् ।”

परीक्षाको नतिजामा गणित विषय कमजोर देखिएपछि सुधार गर्न सुरु गरिएको अभियान प्रभावकारी बन्दै गएको नगरप्रमुख राईले बताउनुभयो । “पहिला गणितलाई अप्ठ्यारो ठान्ने विद्यार्थी अहिले सजिलो छ भन्न थालेका छन् । नतिजामा पनि विगतमा भन्दा सुधार आएको छ”, उहाँले राईले भन्नुभयो, “हामीले अङ्ग्रेजी, गणित र विज्ञान विषय प्राथमिकतामा राखेर सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा जोड दिएका छौँ । कोरोना कहरका बेला विद्यार्थीको पढाइमा ठूलो क्षति पुगेपछि नतिजा सुधार्न अभियान सुरु गरेका हौँ ।”

विद्यार्थीलाई कापी बाँड्न नगरप्रमुख राई जानरी बिना विद्यालय पुग्नुहुन्छ । “बेखबर जाँदा अनुगमन र विद्यार्थीसँग अन्तक्र्रिया पनि हुन्छ”, उहाँले भन्नुभयो । नगरपालिकाले शिक्षा क्षेत्रमा आन्तरिक राजस्वको ३० प्रतिशतभन्दा बढी रकम खर्च गरिरहेको छ । नगरले सामुदायिक विद्यालयका लागि आवधिक योजना निर्माण गरेको छ । पढाइबाहेक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न नगरले ‘१२ महिना, १२ कार्यक्रम’ सञ्चालन गरिरहेको हो ।

यो कार्यक्रममा शिक्षकलाई क्रियाशील, आपसमा प्रतिस्पर्धी, सृजनशील र उनीहरूबाट दक्ष जनशक्ति उत्पादन गर्ने परिकल्पना गरिएको नगरप्रमुख राईले बताउनुभयो । “कतिपय विद्यालयमा विषयगत शिक्षक अपुग हुन्छन् । त्यहाँ ल्याब र अनलाइन कक्षासमेत सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यहाँका सबै विद्यालयमा इन्टरनेट सेवा पुगेकाले कम्प्युटर र प्रयोगशालाको व्यवस्था गरेका छौँ । सबै विद्यार्थीको बाल बचत खाता खोलिएको छ ।” यो दीर्घकालीन योजनामा नगरपालिका, बैंक र सम्बन्धित विद्यार्थीको साझेदारी रहेको उहाँले उल्लेख गर्नुभयो ।

सूर्योदयका छोरी र बुहारीलाई करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क गरिएको छ । यहाँबाट उत्पादन भएका जनशक्तिलाई नगरले कम्तीमा एक सय दिन रोजगारी दिइरहेको छ । नगरले दुवै खाले विद्यालयका बालबालिकालाई स्थानीय पाठ्यपुस्तक र छात्रालाई सेनिटरी प्याड निःशुल्क दिएको नगर प्याब्सनका अध्यक्ष लाकेल लामाले बताउनुभयो । नगरले महिला शिक्षक सुत्केरी भएर लामो बिदामा बस्दा विद्यार्थीको पढाइमा असर नहुने गरी शिक्षणको व्यवस्था मिलाएको छ ।

सीमावर्ती क्षेत्रबाट भारतको दार्जिलिङतिरका स्कूलमा पढ्न जाने विद्यार्थीलाई यतै आकर्षित गर्न सहज र सुन्दर वातावरणको व्यवस्था गरिएको नगरको शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले बताउनुभयो । अहिले पढ्नका लागि दार्जिलिङ जाने विद्यार्थीको सङ्ख्यमा कमी आएको बताउँदै उहाँले भन्नुभयो, “विद्यार्थीलाई उच्च शिक्षामा नगर र देशभित्रका क्याम्पसमा पढ्ने वातावरण बनाउन प्रयास गरिरहेका छौँ ।”

नगरपालिकामा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालयमा गरी ११ हजार छ सय १२ विद्यार्थी छन् । शिक्षा शाखा प्रमुख भट्टराईका अनुसार नगरमा तीन सय ९८ शिक्षक दरबन्दीमा छन् भने बाल शिक्षक ६२, स्वयंसेवक शिक्षक २३ र विद्यालय कर्मचारी ७८ जना छन् । यीबाहेक विद्यालयले निजी स्रोतबाट समेत शिक्षक राखेको छ । सूर्योदय नगरपालिका जिल्लाको पहिलो, कोशी प्रदेशको तेस्रो र मुलुकको दशौँ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका पनि हो ।रासस