२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणा र कतारका विदेशमन्त्री फोनवार्ताः विपिनको रिहाइको पहलका लागि अपिल



अ+ अ-

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहनुभएको छ ।

यसै अन्तर्गत मन्त्री डा राणाले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गर्नुभएको छ । मन्त्री डा खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं पध्यस्थकर्ता हुनुहुन्छ ।

मन्त्री डा राणाले कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

मन्त्री डा राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली युवा विपिनको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गर्नुभएको थियो ।

कुराकानीका क्रममा कतारका मन्त्री डा खुलाइफीले हमासहरुलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराउँदै हमासहरुको अपहरणमा रहेकाहरुको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताउनुभयो ।

कतारका मन्त्री डा खुलाइफीले नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरुले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

यसअघि मन्त्री डा राणाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गरिरहेको छ ।

गत हप्ता उहाँले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गर्नुभएको थियो ।

यसअघि उहाँले गत हप्ता नै नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग पनि सो आग्रह गर्नुभएको थियो ।

राजदूत बासले मन्त्री डा राणासँग हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा बृद्धबृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका समाचार इजरायल सरकारले प्राप्त गरेको जानकारी गराउनुभएको थियो ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरुका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरुमा समेत परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आउनुभएको छ ।