काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको थुनछेक बहस आज हुने भएको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई हिजो भने न्यायिक हिरासतमा पठाएको थियो ।
कास्कीबाट हिरासतमुक्त भएको तेस्रो दिन आइतबार उपस्थित भएका उनलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले हिरासतमा पठाउने आदेश गरेको हो ।
लामिछनेको बयान सकिए पनि हिजो थुनछेक बहस हुन नसक्दा अदालतले हिरासतमा पठाउने निर्णय गरेको हो । आज बहस भएपछि उनलाई धरौटीमा छाड्ने, साधारण तारिखमा छाड्ने वा कारागार चलान गर्ने भन्ने निर्णय हुने छ ।
स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेलगायत ३९ विरुद्ध काठमाडौंमा गत पुस २१ मा मुद्दा दायर भएको थियो ।
उनको बयान हिजो सकिएको छ । अब मुद्दामा आजदेखि नियमित सुनुवाइ हुनेछ । अदालतको आदेशअनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा राखिएको छ ।