२४ पुष २०८१, बुधबार
,
Latest
एमाले र माओवादीको केन्द्रीय समिति बैठक : आफू ठीक, अरु सच्चिनुपर्ने ! तराईमा शीतलहर, जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन समस्या साना किसानको १४ प्रतिशत बोनस शेयर पारित भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने मन्त्रिपरिषद्को निर्णय सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त खुम्बु क्षेत्रमा उडान गर्न पाइने एमाले केन्द्रीय कमिटीले पारित गरेका यी हुन् १४ प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रीय कमिटीले पारित गरेको यस्तो छ १६ बुँदे प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित



अ+ अ-

बैतडी । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा अछामले सान्त्वना जित निकालेको छ । प्रतियोगिताबाट बाहिरिसकेको अछामले सान्त्वना जित निकाल्ने क्रममा डोटीलाई २४ रनले पराजित गरेको हो ।

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ‘ब्याटिङ’ गरेको अछामले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३५ रन बनायो । अछामका रबिना साउदले अर्धसतकीय पारे खेल्दै अविजित ५२ रन जोडिन् । जारी प्रतियोगितामा साउद अर्धसतक हिर्काउने पहिलो खेलाडी बनिन् । डोटीका रेश्मी विष्टले दुई विकेट लिइन् ।

जवाफी ब्याटिङ गरेको डोटी १७ दशमलव चार ओभरमा एक सय चार रनमा अलआउट भयो । डोटीका अल्फा श्रेष्ठले ३९ रनको योगदान गरिन् । अछामका लागि रबिना साउद र वबिता धामीले समान तीन÷तीन विकेट लिए । यो खेलमा रबिना ‘प्लेयर अफ दी म्याच’ चुनिएकी छिन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजना यही पुस १९ गतेदेखि सुरु भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आगामी माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।