१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहस चलिरहँदा इजलासमै बाबु–छोरी रोएपछि…



अ+ अ-

पोखरा । कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ ।

सरकारी वकिल कार्यालयबाट थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङ उठेर रोएपछि इजलासमै सन्नाटा छायो ।

जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि आँसु झार्दै आफू निर्दोष रहेको उनले बताएका थिए ।

उनले अदालतमै आफू आत्महत्या गर्नसक्ने समेत बताए । उनकी छोरी तथा पूर्वसांसद मीनासमेत बहस चलिरहँदा रोइन् । त्यसपछि केहीबेर इजलासको माहोल भावुक बन्न पुग्यो ।

गुरुङ बिरामी छन् भने उनको अस्पचालमा उपचार जारी छ ।

८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्वसदस्य हुन् । बेलायती परिवारमा हुर्किएकी उनका पति पनि बेलायती पूर्वसैनिक हुन् ।

इजलासको माहोल भावुक बनेको र कार्यालय समय पनि सकिएपछि आजका लागि थुनछेक बहस स्थगित गरिएको अदालत स्रोतले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

थुनछेक बहसपछि न्यायाधीश राईको इजलासबाट पुर्पक्षका लागि कारागार चलान गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश आउनेछ ।