७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहः ‘क्याबिनेट कल्चर’ ?



अ+ अ-

काठमाडौँ । कानुनले स्थानीय तहलाई सरकारकै हैसियत प्रदान गरे पनि स्थानीय तह भने सरकारकै संस्कारमा चल्न सकेका छैनन् । संविधानले स्थानीय तहको कार्य सम्पादन नियमावली र कार्य विभाजन नियमावली निर्माण गरी स्थानीय तहको कार्यपालिका ‘क्याबिनेट कल्चर’मा चल्नुपर्ने व्यवस्था गरेको छ । तर कतिपय स्थानीय तहमा कार्यकारिणीको बैठक महिनौँ बस्दैन ।

“अहिले साविक स्थानीय निकायकै जस्तो स्थानीय तहले ठाडो प्रस्ताव कार्यपालिकामा लेख्ने, त्यहीँ छलफल गर्ने र निर्णय गर्ने गरिएको छ । सरकार चल्ने ढाँचा त्यो होइन । त्यो त साविककै स्थानीय निकाय चल्ने ढाँचा जस्तो भयो”, स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले भने, “कार्य विभाजन नियमावलीले जनप्रतिनिधि र कर्मचारीको कामको बाडँफाँट गर्छ र कार्य सम्पादन नियमावलीले कुन तहले के काम गर्ने छिनोफानो गर्छ । नियमावलीअनुसार स्थानीय सरकार चल्न सकेका छैनन् ।” बैठकको कार्यसूची सामान्यतया बैठक बस्नु तीन दिनअगाडि नै प्रमुख प्रशासकीय अधिकृतले सबै सदस्यलाई उपलब्ध गराइसक्नु पर्नेछ । नगर कार्यपालिकाको बैठकको निर्णय कार्यकारी अधिकृतले दुई दिनभित्र प्रमाणित गर्नुपर्नेछ । प्रमाणित भएको निर्णयलाई तीन दिनभित्र सबै कार्यपालिका सदस्य, विषयगत शाखा र वडा समितिमा पठाइसक्नुपर्ने स्थानीय तहको कार्य विभाजन नियमावलीमा उल्लेख छ ।

कार्यपालिकाको बैठकको निर्णय प्रवक्ताले कार्यपालिकाको तर्फबाट जारी गर्नुपर्ने सार्वजनिक महत्वका सूचना, वक्तव्यमार्फत सार्वजनिक गर्नुपर्छ । गाउँ र नगर सभामा प्रस्तुत गर्नुपर्ने विधयेक विधायन समितिले मस्यौदा गर्नुपर्ने र कार्यपालिकाले उक्त मस्यौदा स्वीकृत गरी प्रमुखले सभामा पेस गर्नुपर्ने स्थानीय तहको कार्य सम्पादन नियमावलीले व्यवस्था गरे पनि उक्त व्यवस्थाअनुसार स्थानीय तह चल्न नसकेको अधिकारीले बताए । पालिकाकाको उपप्रमुख र सदस्यलाई कार्य विभाजन नियमावलीअनुरूप कार्य जिम्मेवारी बाँडफाँट गर्ने, कर लगाउने कर छुट दिने ऋण लिनेजस्ता विषय सभामा पेस गर्नुपर्ने बाहेकका अन्य विषय कार्यपालिकाले प्रमुख, उपप्रमुख र सदस्यलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछन् ।

कार्यपालिकाको बैठकमा कुनै सदस्यताको निजी स्वार्थ निहित भएको विषयउपर छलफल हुने भएमा त्यस्तो सदस्यले बैठकमा भाग लिनु हुँदैन । त्यस्तो अवस्था आएमा सम्बन्धित सदस्यले सोको जानकारी प्रमुखलाई गराउनुपर्ने कानुनी व्यवस्था छ । स्थानीय तहका जनप्रतिनिधिले भने स्थानीय तह सरकारकै हैसियतमा चल्ने प्रयास गरिए पनि सबै स्थानीय तहले त्यो अभ्यास गर्न नसकेको बताएका छन् ।

अर्का स्थानीय शासनविज्ञ डा. मुक्ति रिजालले स्थानीय तह अहिले अभ्यासकै क्रममा भएकाले कार्य सम्पादन र कार्य विभाजन नियमावली कार्यान्वयनमा ल्याउन नसकेको बताए । संविधानले स्थानीय तहलाई बलियो बनाए पनि स्थानीय तहले त्यसको पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन नसकेको भन्दै उनले भने, “स्थानीय तहमा कर्मचारीमा स्थिरता नहुनु, जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण तालिम नहुनु, कार्यपालिकासञ्चालनको विधि प्रक्रिया नमिलेको कुरा कसैले नउठाएकाले क्याबिनेट कल्चरमा स्थानीय तह चल्न नसकेका हुन् । ”

नेपाल नगरपालिका सङ्घका महासचिव एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले स्थानीय तहको कार्यपालिका ‘क्याबिनेट कल्चर’मा चल्न नसक्नु स्थानीय तहको कमजोरी भएको स्वीकार गरे । उनले भने, “कतिपय स्थानीय तह पुरानै मानसिकतामा छन् । हामी आफैँले बनाएको कानुन हामीले कार्यान्वयन गर्नुपर्छ, नगर्नुु हाम्रै कमजोरी हो । ” अहिले कतिपय स्थानीय तहले नयाँ तौरतरिका सिक्ने र सिकाउने अभ्यास गरिरहेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । स्थानीय तहमा पर्याप्त कर्मचारीको अभावमा पनि कपितय नीति, नियम र कानुन कार्यान्वयन गर्न नसकेको उनले बताए । गोरखापत्र दैनिक