५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश राजधानीको असर : दाङतिर बाजागाजा, बुटवलमा नेकपा छोड्ने होड !



अ+ अ-

काठमाडौं । ढिलागरी अर्थात् प्रदेश सभाको आधाभन्दा बढी कार्यकाल सकिएपछि प्रदेश नं ५ को नाम लुम्बिनी र यसको स्थायी राजधानी दाङमा सारिएपछि यसले सिंगो प्रदेशमा नै छुट्टै तरंग ल्याइदिएको छ । यता नया राजधानी सारिएको दाङतिर हिजोदेखि नै बडो रौनक छाएको छ । त्यहाँ बाजागाजासहितका विभिन्न क्षेत्र, बर्ग र समुदायका झाँकीहरु नै निस्किएका छन् । नागरिकले मंगलबार साँझदेखि दीपावली गरेका छन् भने आज पनि बिहानै देखि विभिन्न स्थानमा खुसीयालीसहितको प्रदर्शन भएको छ । 

प्रदेश राजधानी घोषणा भएको खुसियालीमा नेकपा दाङले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई पूर्वसभामुख ओनसरी घर्तीले सम्बोधन गरेर भनिन्, म सिंगो दाङ जिल्लाबासीलाई बधाइ दिन चाहन्छु । उनले भनिन् बधाइ त सिंगो प्रदेशलाई नै हो तर आजका दिनमा दाङको विशेष महत्व छ । उनले त्यसो भन्दा त्यहाँ उपस्थित सबैले तालीको गडगडाहट सुनाए । 

घोराहीमा बुधबार बिहानै दाङ प्रादेशिक राजधानी सरोकार समितिको ब्यानरमा धन्यवाद तथा स्वागत र्‍याली आयोजना गरिएको थियो । यस्तै उद्योग वाणिज्य संघ, राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरुले पनि स्वागत र्‍याली निकालेका थिए ।

लुम्बिनी प्रदेशको राजधानी दाङ बनेको खुसियालीमा दंगालीले हिजैदेखि बाजागाजासहित र्‍याली निकालेका छन् । उनीहरुले आफ्नो खुसियाली विभिन्न झाँकी निकालेर पनि मनाएका छन् । उनीहरुले प्रदेशसभाको निर्णयको स्वागत गर्दै जिल्लाभर दीपावली पनि गरेका छन् ।

यसैगरी बुधबार बिहान प्राप्त भएको समाचारमा नागरिकस्तरबाट भालुबाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी, पुरन्धारा, गढवा, गोबरडिहा लगायतका स्थानमा हिजो साँझ दीप प्रज्ज्वलनका साथै आज विजय जुलुशजस्ता देखिने विभिन्न जुलुश निकालेका छन् । 

यसैगरी प्राप्त समाचारमा प्रदेश राजधानी रहने भनिएको देउखुरी उपत्यकाको भालुबाङमा नै ठूलो उत्साह देखिन्छ । त्यहाँका मानिसहरुले विशेष रुपमा खुसीयाली मनाएका छन् । स्थानीयवासी एकैठाउँ भेला भएर कोरोना संक्रमणको जोखिमको बेवास्ता गर्दै बाजागाजासहित नाचगान गरेका थिए ।

प्रदेशसभा बैठकबाट दाङ राजधानी र प्रदेशको नाम लुम्बिनी पारित भएलगत्तै दंगालीले ठाउँ–ठाउँमा राष्ट्रिय झण्डा, नेपालको अद्यावधिक नक्सा र ब्यानर बनाएर खुसियाली मनाए भने बेलुकीपख घरमा र चोकहरुमा दीपावली गरेका थिए । मंगलबार प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । 

उता बुटवलको चिन्ता भने अर्कै छ । बुटवलमा अस्थायी राजधानी राख्ने बेलामा नै बुटवल नै यो प्रदेशको राजधानी हुने लगभग पक्का जस्तै थियो । आर्थिक रुपमा पनि यस प्रदेशकै सबल क्षेत्र बुटवल हो । प्रदेशमा हेर्ने हो भने भारतसँगको सीमाका साथै अरु पनि कैयौँ औद्योगिक पूर्वाधार, वातावरण र यस क्षेत्रको अवस्था अन्यत्रको भन्दा अर्कै थियो र छ । 

अर्को कुरा बुटवललाई राजनीतिक क्षेत्र बनाएका विष्णु पौडेल नेकपाका महासचिव छन् र हाल उनी एक किसीमले भन्दा वर्तमान सत्ताका एक प्रभावशाली व्यक्ति नै हुन् । उनले बुटवलमै राजधानी राख्नुपर्ने भनेर अहिलेसम्म सत्तालाई कन्भिन्स पनि गर्दै आएका थिए । र अन्तिमसम्म पनि उनी यही पक्षमै थिए । 

बालकृष्ण खाँड विपक्षी दलका एक प्रभावशाली नै मानिन्छन् र उनी हाल नेपाली काँग्रेसका प्रमुख सचेतक पनि हुन् । उनले पनि बुटवलमा नै राजधानी राख्नुपर्ने पक्षमा लबिंग गर्दै आएका थिए । यीनै दुई नेताका कारणले पनि बुटवलबासी अझ बढी विश्वस्त थिए । तर आज त्यो उनीहरुलाई प्रभावकारी बन्न सकेन ।

यतिखेर दंगालीहरु खुसीयालीमा रहेका बेला उता बुटवलमा भने नेकपा पार्टी छोड्ने होड चलेको छ । हिजो बुटवलका उद्योगी, व्यवसायी तथा शुभेच्छुक संघसंस्थाहरुमा रहेका दुई हजार ३०० भन्दा बढीले नेकपा परित्याग गरेको घोषणा पत्रकार सम्मेलनमार्फत् नै गरेका थिए । उनीहरुले राजधानी बन्ने सम्भावना मात्र नभएर पूर्वाधारहरु नै रहेका बेला सरकारले नयाँ र बनाउनुपर्ने ठाउँमा राजधानी सार्नु अन्याय हो भनेका छन् । उनीहरुसहित आज पनि यहाँका कतिपय नेकपाका कार्यकर्ताहरुले पार्टी छोडेको घोषणा गरिरहेका छन् ।