२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नकारात्मक प्रवृत्ति देखिएका भए पनि देश र जनताको अवस्था हिजोको जस्तो नभएको बताउनुभयो । ‘कतिपय मानिसहरूले भनिरहेका छन्, व्यवस्था बदलियो, अवस्था बदलिएन भनेर, व्यवस्था पनि बदलियो, अवस्था पनि बदलिएको छ’, ओलीले भन्नुभयो ।

नेपालमा पूर्वाधार, प्रविधि, जीवनशैली हरेक क्षेत्रमा परिवर्तन आएको ओलीले बताउनुभयो । ‘हामी अगाडि बढिरहेका छौँ, अवस्था जहाँको ताहिँ छैन’, उहाँले भन्नुभयो ।

अहिले सरकार नागरिकको अभिभाव भएर प्रस्तुत भएको ओलीले स्पष्ट पार्नुभयो । केन्द्रदेखि, प्रदेश र स्थानीय तहसम्मका सरकार नागरिकको सेवाका लागि बनेका ओलीले बताउनुभयो । ‘सरकारको काम शासन गर्ने होइन सेवा दिने हो’, उहाँले भन्नुभयो ।
नेपालमा २०८२ साल भित्र कुनै पनि सडकमा सडक मानव हुन नदिने उहाँले स्पष्ट पार्नुभयो । यसको लागि सरकारले आवश्यक व्यवस्था गर्ने ओलीले बताउनुभयो ।

कतिपय कुरामा विकृति देखिएका बताउँदै ओलीले सरकार त्यसलाई सच्याएर अघि बढ्ने बताउनुभयो । सामाजिक सुरक्षाको क्षेत्रमा सरकार जिम्मेवार भएर प्रस्तुत हुने ओलीले बताउनुभयो ।

आफूलाई कुनै राजनीति गर्नु नभएको बताउँदै ओलीले देशको अवस्थालाई माथि उठाउनु आफ्नो प्रमुख दायित्व भएको बताउनुभयो । त्यसैले आफू यसमा नै केन्द्रित रहेको ओलीले स्पष्ट पार्नुभयो ।

उहाँले भ्रम र तनावले व्यक्ति आफैँलाई सिद्ध्याउन बताउँदै बिना तनाव काममा लाग्न आग्रह गर्नुभयो । जीवनलाई अत्यन्तै होसियारी साथ प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

विकृति जुनसुकै समाजमा पनि हुने बताउँदै ओलीले त्यसलाई चिरेर समृद्ध समाज निर्माणको बाटोमा तीव्रताका साथ अघि बढ्नु पर्ने धारणा राख्नु भयो । ‘सामाजिक न्याय र समानतामा आधारित भएर राष्ट्र निर्माणको लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने ओलीले बताउनुभयो । एकता आजको आवश्यकता हो, परस्परमा घृणा फैलाउने कुरा हाम्रो मौलिकता होइन’, ओलीले भन्नुभयो ।

नेपाल बुद्ध जन्मिएको शान्ति भूमि भएकोले नेपालले विश्वलाई शान्तिको सन्देश दिनु पर्नेमा उहाँले जोड दिनुभयो । प्रगतिको यात्रा कहिल्यै पनि पुरा नहुने भएकोले थप प्रगतिको बाटोमा अघि बढ्नु पर्ने उहाँले बताउनुभयो ।