काठमाडौँ । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ४७ रनको योगदान दिइन् । उनी ४७ रनमा अविजित रहिन् । यस्तै, सिमाना केसीले अविजित १२, सोनी पाख्रिनले १३ तथा साना प्रभिनले १० रन जोडिन् ।
बलिङतर्फ पाकिस्तानका फातिमा खान र क्वारातुलैनले एक–एक विकेट लिइन् ।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनायो ।
पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट छ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् ।
बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिए ।
जितसँगै नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । पाकिस्तान यसअघिको खेलमा भारतसँग पनि पराजित भएको थियो । नेपालले भोलि भारतसँग खेल्ने छ ।










