२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा फस्टाउँदै सिद्रा व्यापार



अ+ अ-

धरान, (सुनसरी) । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

“सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ”, उहाँले भन्नुभयो । शाहीले सिद्रा व्यापार गर्न थाल्नुभएको २० वर्ष भयो । सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । सिद्राप्रति किलो रु छ सयदेखि रु एक हजार दुई सयसम्ममा बिक्री गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु । महिनामा सबै खर्च कटाएर रु ४० हजारसम्म बचत हुन्छ ।”

धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारी छन् । सिद्राको पारखीहरु टाढाटाढा बाट यहाँ सिद्रा किन्न आउँछन् । शाहीले झै विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आउनुभएका धरान उपमहानगरपालिका–३ का प्रेम श्रेष्ठ पनि जाडो यामसँगै बर्सेनि  सिद्रा व्यापार फस्टाउने बताउनुहुन्छ । उहाँका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ ।

उहाँले हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आउनुभएको छ । पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बिक्री गर्दै आएको उहाँले सुनाउनुभयो । धेरैजसो तरकारी र अचार बनाएर खाने सिद्रा बिक्री हुने उहाँले बताउनुभयो । यही व्यापारबाट उहाँले घरखर्च र छोरा छोरीको स्कुल ‘फि’ बुझाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा प्रशस्त खोलानाला भए पर्याप्त सिद्रा उत्पादन नहुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्छ । मैले वर्षमा २० क्वीन्टल बढी सिद्रा बिक्री गर्ने गर्छु ।” धेरै जसो पहाडी जिल्लाहरुमा सिद्रा खपत हुने गरेको उहाँको भनाइ छ ।

सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोज महिनासम्म उत्पादन हुने गर्छ । सो अवधिमा उहाँले नेपालमै खरिद गरेर बिक्री गर्ने गरेको बताउनुभयो । नेपालमा सिद्रा उत्पादन हुने याम सकिएपछि भारतबाट ल्याएर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । सिद्रा धरानका होटलहरुमा अचारका लागि खपत हुने गर्छ । आफन्तलाई कोसेलीका रुपमा पनि ग्राहकहरुले सिद्रा खरिद गरेर लैजाने उहाँले बताउनुभयो ।

जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको व्यापारीहरु बताउँछन् । धरानमा शाही र श्रेष्ठ जस्ता सिद्राकोे व्यापार गर्ने व्यापारीको सङ्ख्या एक दर्जनभन्दा बढी छन् । पछिल्लो समय सिद्रा व्यापार गर्ने अधिकांश महिला छन् । रासस