४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

कोरोनाको कहरले प्रभावित भएका विकासे आयोजना

कोरोनाको कहरले प्रभावित भएका विकासे आयोजना
अ+ अ-

रामपुर । माहामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको प्रभाव साना तथा ठूला आयोजनामा पर्ने गरेको छ । पाल्पा जिल्लामा खेलमैदान, सडक, सिँचाइ, महिला सामुदायिक भवन, खानेपानी, शिक्षासम्बन्धी आयोजनालगायत समयमै सञ्चालन गर्न नसकिएको यहाँका स्थानीय तहले जनाएका छन् ।

पाल्पाको रामपुर नगरपालिकामा कोरोनाका कारण नगरपालिकाका दुई वटा नगर गौरवका आयोजना गत आर्थिक वर्षमा शुरु नै गर्न सकिएन । रु एक करोडको रातमाटा खालिबन जब्गादी सडक र एक करोड २० लाख बजेटको आर्मीक्याम्प डल्ले चौतारी सडक स्तरोन्नति गर्ने ठूला आयोजना सञ्चालन हुन सकेनन् । 

सो आयोजना प्रदेश सरकार र रामपुर नगरपालिकाको ५०/५० प्रतिशत बजेटमा गरिने भए पनि कोरोना भाइरसको सङ्क्रमणको असरले आयोजना सञ्चालन गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताउनुभयो ।

“कोरोनाको माहामारीले गत वर्ष गर्न नसकिएका आयोजना तथा कार्यक्रमलाई यस आर्थिक वर्षमा पहिलो प्राथमिकता दिएर सञ्चालन गर्ने तयारी गरेका छौँ, शीतभण्डार निर्माण, नगरपालिका कार्यालयको भवन निर्माण कार्य भने कोरोनाको जोखिम परिस्थितिमा पनि निरन्तर सञ्चालन भइरहेको छ”, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भन्नुभयो । 

दशवटै वडाका वडागत तथा नगरका गौरवका आयोजना तथा कार्यक्रम कोरोनाको जोखिम परिस्थितिका कारण सञ्चालन हुन सकेन । वडा नं १ मा रु ३४ लाख पाँच हजार, २ मा रु ४१ लाख ३० हजार, ३ मा रु ३७ लाख ४० हजार, ४ रु मा ५० लाख ३४ हजार र वडा नं ५ मा रु एक करोड २४ लाख २५ हजार बराबर बजेटको काम हुन सकेन ।

त्यस्तै वडा नं ६ मा रु ९३ लाख २९ हजार, ७ मा रु २४ लाख, ८ मा रु १५ लाख ७५ हजार, ९ मा रु ३३ लाख ५३ हजार ६ सय ४० र १० मा रु १७ लाख ५५ हजार गरी जम्मा रु चार करोड ७५ लाख ४६ हजार ६ सय ४० बराबरको रकमका विभिन्न आयोजना तथा कार्यक्रम गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

एता क्वाङक्वाङ र गैलुक डाब्रा लिफ्टिङ खानेपानी आयोजना, रामपुर नगरपालिकाका वडा नं २ मा आधारभुत स्वास्थ्य केन्द्र, वडा नं ४, ६, ७ र ९ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण कार्य भने सम्पन्न भएको छ । रम्भा गाउँपालिका ३ स्थित पिपलडाँडामा गरुङ्गा जबुवा पिपलटारी खानेपानी आयोजनाका लागि प्रदेश सरकारको रु ५० लाख र गाउँपालिकाको रु ४० लाख, उपभोक्ताको रु दश लाख लागत सहयोगमा आयोजना रहेपनि काम हुन सकेन । 

एक घर एक धारा नीति अवलम्बन गरी सबैका घरघरमा खानेपानी सुविधा पुर्याउन गत जेठ मसान्तभित्र काम सक्ने योजना रहे पनि कोरोनाकोे कारणले ट्याङ्कीको फाउण्डेशन, पाइप खरिद र विस्तृत परियोजना, डिपिआर तयारको काम मात्र सम्पन्न भएको छ । आव २०७६/०७७ को फागुनबाट आयोजना शुरु गरिए पनि सो आयोजना सञ्चालनको शुरुआतमै विश्वभर महामारीको रुपमा कोरोना भाइरस सङ्क्रमणले नेपालमा पनि महामारी रुप लिन थालेपछि आयोजनाका काम अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ । यहाँ आव ०७६/०७७ मा ९९ प्रतिशत आयोजनाका काम सम्पन्न भएको पाइएको छ तर गाउँपालिकाका ठूला भनिएका योजनामा भने कोभिडले असर पारेको छ ।

कोरोनाका बाबजुत पनि ठूला आयोजना लसुने ओमभन्ज्याङ्ग देउराली सडक र ओमभन्ज्याङ्ग सुरुमडाँडा पिपर्दी सडक भने रु एक/एक करोडको लागतमा स्तरोन्नतिको काम सम्पन्न भएका छन् । सो सडक आयोजनाका लागि प्रदेश सरकारबाट रु ५० लाख, गाउँपालिकाबाट रु ४० लाख र उपभोक्ताबाट रु १० लाख रकम छुट्टाइएको थियो ।

आव २०७७/०७८ का लागि ठूला भनिएका रु ५० लाखका दुईवटा खानेपानी, तीन वटा सडक स्तरोन्नति, एक पर्यटन प्रवद्र्धनका योजना सिफारिस भएका छन् । ठाँटी भञ्ज्याङ्ग खानेपानी, मौलाथर खानेपानी, अघाखोला झेस्काङ्ग गाबुडाँडा मोटरबाटो, मार्सेडाँडा लेनमुनी सडक, सेजुगाउँ पन्टार सडक र रिमिघा पर्यटन प्रवद्र्धनका योजना यो वर्ष सञ्चालन हुनेछन् । ती योजनाका लागि प्रदेश सरकारको रु २५ र गाउँपालिकाको रु २५ लाख रकम विनियोजन गरिरएको छ । 

बगनासकाली गाउँपालिकाको टोक्सेभन्ज्याङ्ग यम्घा मद्रान सडक स्तरोन्नतिका लागि रु एक करोड बजेट निकासा भए पनि कोरोनाकै कारण करिब रु १० लाख देखि १२ लाखसम्मको मात्र काम भएको छ । आयोजनाका लागि प्रदेश र स्थानीय सरकारबाट रु ५०/५० लाख रकम विनियोजन भएको थियो । 

त्यस्तै दरुङ्घादेखि दर्लम महाकाली हुँदै टाकुरासम्मको सडक स्तरोन्नति गर्न प्रदेश र स्थानीय सरकारले रु ५०/५० लाख रकम विनियोजन गरेपनि करिब रु आठ लाखसम्मको मात्र काम भएको छ । नयाँ पोखराथोक नायर चौपारी खानीछाप जाने सडकका लागि प्रदेश र स्थानीय सरकारको रु ५०/५० लाख रकम निकासा भएकोमा करिब रु १२ लाख बराबरको काम भएको छ । 

गाउँपालिकाका वडागत करिव ८० प्रतिशत योजना सम्पन्न भएका छन् भने गाउँस्तरीय ठूला सडक, खानेपानीजस्ता योजना समयमा नै सम्पन्न गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउनुहुन्छ । “कोरोनाको कहरले तालीम, गोष्ठी, सभा, समारोह जस्ता कार्यक्रम गर्न नपाइए पनि वडागतका सबै योजना सम्पन्न गरेका छौँ भने गाउँस्तरीय ठूला खालका सडक, खानेपानीका योजना सामान ढुवानीको अभावमा सञ्चालन गर्न सकेनौँ”, अध्यक्ष बस्यालले भन्नुभयो ।

महामारीले अन्य कार्यक्रममा असर परेपछि सबैजसो स्थानीय तहले कृषि तथा पशुपालनका क्षेत्रमा कोरोना लक्षित कार्यक्रम सञ्चालन गरेका छन् । विकास निर्माण, पर्यटन, खानेपानी, शिक्षा जस्ता क्षेत्रको विकासमा कोरोनाले नराम्रोसँग असर पारेपनि कृषि तथा पशुपालन क्षेत्रमा भने अवसर सिर्जना गरेको छ ।

तिनाउँ गाउँपालिकामा दोभान बजार क्षेत्रमा सडक पक्की गर्नका लागि संसदीय विकास कोषबाट प्राप्त रु ५० लाखको रकममध्ये ५० प्रतिशत मात्र काम सम्पन्न गरियो भने बाँकी काम बन्दाबन्दीले गर्न नपाएपछि यस आर्थिक वर्षमा सम्पन्न गरिँदैछ । गत वर्ष नै गाउँपालिकाको कार्यालय भवन निर्माण थाल्ने भनिए पनि कोरोनाले गर्दा शुरु भएन । 

यस आर्थिक वर्षबाट निर्माण कार्य थाल्दै दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी रु सात करोड रकम छुट्टाएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगर बताउनुहुन्छ । गाउँपालिकामा तीन तलाको सुविधा सम्पन्न भवनको हिमाल थापा जेभीमार्फत भवन निर्माण हुँदैछ । साविक दोभान गाविसको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको गाउँपालिकाले समुदायले उपलब्ध गराएको जग्गामा भवन निर्माण गर्न लागेको हो । यस आर्थिक वर्षभित्रमा एकतला निर्माणको कार्य सम्पन्न हुने बताइएको छ ।

कोरोनाकै कारण ओखलढुङ्गा अंकुशे मोटरबाटोको स्तरोन्नति पनि पूरा हुन सकेन । जसको लागि प्रदेश र गाउँ सरकारले रु ५०÷५० लाख रकम विनियोजन भएतापनि काम सुरु नै गर्न नसकिएको गाउँपालिको जनाएको छ । 

सङ्घीय सरकारबाट वडा नं १ स्थित चिउरे खानेपानी योजना, वडा नं ४ स्थित धार्मिक पर्यटकीय स्थल सत्यवती ताल पर्यटन प्रवद्र्धनका लागि रु एक ÷एक करोड, वडा नं ६ मा पर्ने शिखरडाँडा खानेपानी आयोजना सञ्चालनका लागि प्रदेश र स्थानीय तहबाट रु ४०÷४० लाख रकम छुट्टाइएको छ । 

माथागढी गाउँपालिकाले भने कारोनाका बाबजुत साना ठूला सबैजसो योजना सम्पन्न गरेको छ । विभिन्न प्राविधिक क्षेत्रका तालिम सञ्चालनार्थ वडा नं ४ को झडेवामा माथागढी प्राविधिक शिक्षालय निर्माणको काम गर्न समस्या परेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर बताउनुहुन्छ । 

पर्यटकीय क्षेत्रतर्फ माथागढीको महत्व जोगाउन सिँढी निर्माण गर्न डिपिआरको काम सम्पन्न गरेको छ । सिँढी निर्माणार्थ विनियोजित रु १८ लाखमा तीन लाख डिपिआरमा सकिएको छ । यसका लागि प्रदेश सरकारले रु १५ लाख रकम छुट्टाएको छ । पूर्वखोला गाउँपालिकाको खल्लुभञ्ज्याङ्ग बिर्ताबजार सडक स्तरोन्नति गर्न अघिल्लो आवमा प्रदेश र गाउँपालिकाको रु ५०÷५० लाख रकम रहे पनि कामै नगरी रकम फ्रिज भएर गयो । यसवर्ष सो आयोजनालाई अगाडि बढाउन प्रदेश सरकारसँग रकम पुनः मागका लागि प्रस्ताव पेश गरिएको छ ।

स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्र्तगत रिङ्नेरह ढाक्रेबास दार्सिङ्ग सिलुवा सडक स्तरोन्नतिको लागि करिब रु १५ लाखको मात्र काम सम्पन्न भएको छ । आयोजनालाई यसवर्ष सम्पन्न गर्न सङ्घीय सरकारसँग बजेट माग गर्ने जनाइएको छ ।

गाउँपालिकाको सडकसँगैप्रदेश सरकारबाट हुने खानेपानी आयोजना पनि सञ्चालन हुन सकेनन् । वडा नं ३ स्थित अर्खलडाँडा खानेपानी योजनाको २५ प्रतिशत मात्र काम भयो । बाँकी काम यो वर्ष हुदैछन् । आयोजनाका लागि रु २० लाख रकम रहेपनि करिब रु सात लाखको मात्र कार्य प्रगति छ । काम सम्पन्न गर्न आवश्यक रकम प्रदेश सरकारसँग माग गर्ने, प्रदेशबाट रकम प्राप्त नभएमा गाउँपालिका आफैँले रकम निकासा गरेर भए पनि योजना अगाडि बढाउने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा बताउनुहुन्छ । 

प्रदेश सरकारको रु २० लाख सहयोगमा वडा नं ५ स्थित बिरकोटमा परेको शिखरडाँडा खानेपानी योजनाको काम भने ७५ प्रतिशत सम्पन्न भयो । बाँकी २५ प्रतिशत काम यसैवर्ष भित्र गाउँपालिकाले रकम निकासा गरेपछि सम्पन्न गरिने जनाइएको छ । यहाँका शिक्षा, स्वास्थ्य, सडक, खानेपानीजस्ता क्षेत्रमा असर परेको छ । सामान ढुवानी गर्न नपाउँदा  ठूला आयोजना सञ्चालनमा समस्या भएको छ । 

रिब्दिकोट गाउँपालिकाको देउराली ख्याहा मोटरबाटो स्तरोन्नति गर्न रु एक करोडको बजेट काम नभएपछि फ्रिज भएर गयो । प्रदेश सरकारबाट रु ५० लाख र पूर्वाधार विकास कोष अन्तर्गत आएको रु ५० लाख रकम प्राप्त भएको हो । पूर्वाधार विकास कोष अन्तर्गतको ५० लाख रकममध्ये रु पाँच लाखको मात्र काम भएको छ । 

वडा नं ८ स्थित बतासे फेक सडक स्तरोन्नति गर्न सङ्घीय सांसद कोषको रु ४० लाख र गाउँपालिकाको रु १० लाख रकम थियो । सो रकममध्ये रु पाँच लाख बराबरको मात्र काम भएको छ ।  कोप्चेखोला लिफ्टिङ खानेपानी आयोजनाका लागि रु एक करोडको बजेट रहे पनि पूरा काम सम्पन्न हुन सकेन । सो बजेटमध्ये रु २० लाख जति रकम फ्रिज भएर गएको छ भने बाँकी काम यसै वर्षभित्र सम्पन्न गर्ने गाउँपालिकाका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । गाउँपालिकामा सडक, खानेपानी र पर्यटन क्षेत्रमा धेरै असर पुर्याएको उहाँको भनाइ छ ।

रैनादेवी छहरा गाउँपालिकाको ठूला भनिएका सडक, खेलकूद मैदान, भवन निर्माणका कामहरु अलपत्र परेका छन् । गत वर्ष नै बोलपत्र आह्वान गरी १८ महिनाभित्र काम सम्पन्न गर्ने भनेर सम्झौता भएको गाउँपालिकाको कार्यालय भवनको काम शुरु नै भएन ।
 
कालीगण्डकी सपना सुन्दरी जेभी कन्ट्रक्सन प्रालिमार्फत रु पाँच करोडको लागतमा काम सक्ने गरी बोलपत्र भएको थियो । कोरोनाको विषम परिस्थितिमा सजगता अपनाएर काम गर्न अनुरोध गरेपनि हालसम्म पनि ठेकेदार कम्पनीले काममा चासो नदिँदा निर्माणको काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की बताउनुहुन्छ ।

“कोरोनाका बाबजुत पनि साना खालका योजना सबै सम्पन्न गरेका छौँ, गाउँपालिकाको सबैभन्दा ठूलो योजना कार्यालय भवन निर्माण हो, निर्माण कम्पनीले नै आलटाल गरेकाले काम शुरु हुन सकेको छैन”, उहाँले भन्नुभयो । गाउँपालिकाकै महत्वपूर्ण आयोजना कटौजेपानी रङ्गशालाको काम प्रभावित बनेको छ । प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा बन्न लागेको रङ्गशाला नारायण निर्माण सेवाले ठेक्का पाएको छ । 

त्यस्तै सुन्दरे ढुङ्गा नेपाने जुठा मोटरबाटो पक्की गर्ने काम पनि रोकिन पुगेको छ । सङ्घ र गाउँपालिकाको समपुरक बजेटबाट रु १४ करोडको लागतमा हुने दुई वर्षे अवधिको आयोजना गत वर्षबाटै शुरु गर्नुपर्ने भए पनि अहिलेसम्म शुरु भएको छैन । पिएस जिएस एच सि जेभी कन्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी कूल रकमको दश प्रतिशत पेश्की रकम गत वर्ष नै लगिसके पनि हालसम्म काम शुरु भएको छैन । 

निस्दी गाउँपालिकाले वडा नं १ देखि ७ वडा सम्मकै सडक विस्तार गर्न प्रदेश सरकारबाट रु एक करोड र गाउँपालिकाबाट रु एक करोडको बजेट छुट्टाइए पनि काम शुरु गर्न सकिएको छैन । रु एक करोडको लागतमा प्रशासनिक भवन निर्माणका लागि बोलपत्र आह्वान गरी सम्झौता भए पनि काम थालनी गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । 

मित्याल बजारको सडक पक्की गर्न रु ७० लाख बजेट विनियोजन भए पनि कामै  गर्न नसकिएको जनाइएको छ । सभाहल निर्माण गर्न प्रदेश सरकारको रु ६० लाख बजेटमध्ये रु ३६ लाखको मात्र काम भयो बाँकी काम गर्न नसक्दा रकम फिर्ता भयो । गाउँपालिकाको वडा नं ३ र ६ मा वडा कार्यालय भवन निर्माणका लागि रु ७० लाख रकम विनियोजन गरिए पनि वडा नं ३ मा रु आठ लाख बराबरको काम सम्पन्न भयो भने वडा नं ६ मा भने काम शुरु हुन सकेको छैन ।  

जिल्लाका दश स्थानीय तहमध्ये तानसेन नगरपालिकाले भने गत आर्थिक वर्षमा सञ्चालित सबै योजना तोकिएको समयावधि भित्रै कोरोनाका बाबजुत पनि सम्पन्न गरेको छ । आयोजना प्रभावित हुन पुग्दा विकासका काम सुस्ताएका छन् । 

ठूला विकासका आयोजना गाउँमा सञ्चालन हुँदा धेरैलाई रोजगार गर्ने अवसर बनेको थियो । कोरोनाको कहरले समयमा सम्पन्न हुन नसक्नु, कतै आयोजना शुरुआत नै नहुँदा विकासका आयोजना पछि परेका छन् भने कतिपयको शुरुआत पनि हुन नसकेको स्थानीय निकायले जनाएका छन् । ती आयोजना कोरोना सङ्क्रमणको कहर घटेसँगै कतिपय शुरुआत भएका छन् भने अरु केही शुरु हुने अवस्थामा छन् ।