काठमाडौं । प्रधानमन्त्री केपी शर्माले नवनियुक्त मन्त्रीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिनु भएको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले ढुक्कसंग काम गरी परिणाम दिन निर्देशन दिनुभयो ।
बैठकले विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा समेत गरेको छ । मन्त्रीपरिषदले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा , खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा गरेकाे छ ।
प्रधानमन्त्री कार्यालयका सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा, उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगमा, आयोगमाका सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
काठमाडौं महानगरपालिकाका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिंचाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।











