१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी

उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी
अ अ+ अ-

महोत्तरी । मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आउनुभएको छ । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आउनुभएका उहाँले आम्दानी गर्न विदेश जानु नपर्ने धारणा राख्नुभयो ।

“हामीले कुरा नबुझी भौतारिन्छौँ, काम गर्न सके स्वदेशमा आन्दानीका प्रशस्त स्रोत छन्”, उखुको रस बेच्दै साहले भन्नुभयो, “आफ्नै ठाउँमा परिवारको साथमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन् ।”

पछिल्ला तीन वर्षदेखि बर्दिबासलाई आफ्नो बजार बनाउनुभएका साहले उखुको रस बेचेको कमाइले परिवारको गुजारा चलाउनुका साथै यसअघि विदेश जाँदाको रु चार लाख ऋण पनि तिरिसकेको बताउनुभयो । “महिनामा रु ४० हजार कमाइ हुन्छ, किन जानु खाडी रु”, उहाँले प्रश्न गर्नुभयो, “मैले अहिले विदेश जाने कुरा सोच्नै छाडँे ।”

यसअघि गरिबीले थिचेर जीविकोपार्जनका लागि कतार र सउदीअरेबियामा पाँच वर्ष बिताउँदा ऋणको भार लिएर फर्केको साहको अनुभव छ । “घरको दुःख टार्न भनेर ऋण गरेर गएँ, दलालको चक्कर रहेछ, भनेको काम नपाएर ऋण बोकेर रुँदै घर फर्केँ”, उहाँले भन्नुभयो, “स्वदेश फर्केर रु दुई लाखमा उखु पेल्ने मोटर किनेर काम थालँे, अहिले परिवारको खर्च गर्न कुनै दुःख छैन ।”

यहाँको कामले पुरानो ऋण तिरेर घरगुजारा चलाउँदै छरछिमेकमा पर्दा दुई÷चार सय सरसापट चलाउनसक्ने भएको साहले बताउनुभयो । “मेरो छ जनाको परिवारलाई दैनिकी चलाउन, छोराछोरी पढाउन अहिले कुनै समस्या छैन”, उहाँले भन्नुभयो । साहले दुई छोराछोरीलाई बर्दिबासमा राखेर पढाइ रहनुभएको छ ।

साहजस्तै ईश्वरपुर नगरपालिकाको श्रीनगरका २० वर्षीय विक्कीकुमार साहले पनि उखुको जुस बेच्ने काम गर्दै आउनुभएको छ । खोजखाज गरेर राहदानी बनाउनुभएका विक्कीले विदेश जाने ऋण नपाएपछि सानो पुँजीले दुई वर्षअघि उखु पेलेर जुस बेच्न थालेको बताउनुभयो । अहिले यसबाट कमाइ हुन थालेपछि छुटेको पढाइलाई निरन्तरता दिनुका साथै घर खर्चमा सहयोग गर्न थालेको उहाँले बताउनुभयो ।

“दैनिक रु एक हजार भन्दा बढी आम्दानी हुन्छ, अहिले १२ कक्षाको पढाइलाई निरन्तरता दिन थालेको छु । अब ऋण काढेर विदेश जाने सोच छैन”, विक्कीले भन्नुभयो । बर्दिबासचोकमा मात्रै यही पेसा गरिरहेका छ÷सातजना भेटिन्छन् । सबैजसोले दैनिक काम गर्दा मनग्ये आम्दानी भइरहेको प्रतिक्रिया दिने गरेका छन् ।

महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चापदार्थ (उखु) खोज्न भौतारिनु नपर्ने र रस नगदमा जाने हुँदा उधारो करोबार नहुने विक्कीको भनाइ छ ।

मोटर गुडाउँदै उखु पेलेर रस बेच्ने काम गरिरहेकाहरूसँग किसान पनि खुसी छन् । यिनीहरूले चिनीमिलको भन्दा केही बढी मूल्यमा तत्कालै नगद दिएर उखु लाने हुँदा दैनिक गर्जो टार्न नगद आइरहेको बर्दिबास–२ का किसान क्षेत्रबहादुर भुजेलले बताउनुभयो ।

बजारचोकमा उखुको जुस खाने बाक्लै आगन्तुक हुन्छन् । आफ्नै आँखा अगाडि पेलेर ताजा जुस दिने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । “पसलमा राखिएका विभिन्न थरिका जुसभन्दा यो स्वस्थ्यकर र तत्काल ऊर्जा दिने हुन्छ”, स्थानीय स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भन्नुभयो ।

स्वदेशमा अवसर खोज्ने हो भने विदेश जानुपर्ने बाध्यता अन्त्य हुने झाको भनाइ छ । साना व्यावसायिलाई स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।