१३ श्रावण २०८३, बुधबार
,
Latest
विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान



अ+ अ-

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् ।

स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाँले तीन सय मुरी धान खेतबाट उठाइसक्नुभएको छ भने अझै सय मुरी उठाउन बाँकी छ । “हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ”, अर्यालले भन्नुभयो । उहाँले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गर्नुभएको हो । भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको अर्यालले बताउनुभयो ।

यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उहाँको योजना छ । “पहाडमा सधँै तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ”, उहाँले भन्नुभयो, “मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो ।”

धान खेतीका साथै उहाँले व्यावसायिक भैँसीपालन पनि गर्नुभएको छ । उहाँसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन् । उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरी बिक्री गर्ने र भुस भैँसीको आहारका रूपमा प्रयोग गर्ने योजना बनाइरहेको अर्यालले बताउनुभयो । धान काटेलगत्तै उहाँले उक्त जग्गामा मकैखेती, घाँस वा अन्य तरकारी लगाउने उहाँले सुनाउनुभयो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरुलाई पनि राम्रो सन्देश दिएको बताउनुभयो । यस्ता किसानलाई प्रोत्साहनका लागि पालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता छ । “मेघनाथले मिल स्थापनाका लागि सहयोग पाए हुन्थ्यो भन्ने गरेको सुनेका छौँ । यसमा लागत साझेदारी गर्न पालिका तयार छ । धुर्कोटमै चामलको मिल स्थापना हुने विषय पालिकाको लागि गौरवको विषय हो नि”, अध्यक्ष पोखरेलले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले गुल्मीमा उत्पादित चामललाई ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभयो । गुल्मी जिल्लाभर यसवर्ष सात हजार हेक्टरमा बर्खे धान लगाएकामा २१ हजार मेक्ट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । रासस