४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा

चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा
अ+ अ-

“हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो”, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत भन्नुभएको थियो ।

उहाँको फोन आउँदा मर्दी हिमालको पदयात्रामा थिएँ । नेटवर्कको समस्याले आवाज राम्रोसँग सुनिएन । मैले काठमाडौँ फर्किएपछि लेखौँला भनेर फोन राखिदिएँ । चार दिनको पदयात्रा पूरा गरेर काठमाडौँ फर्किंदा फिल्मको बारेमा चर्चा नगर्ने सायदै कोही थिए । चर्चा मात्रै होइन फिल्म हेरेर सामाजिक सञ्जालका भित्तामा आँसु खसालेका दृश्य पनि सँगसँगै राखिरहेका थिए ।

नेपाली कलाकारिता क्षेत्रमा विजय बराल नौलो नाम होइन तर यो तहको चर्चा सायद पहिलोपटक भएको होला । अझ भनौँ उहाँ एकाएक ‘चर्चित’ हुनुभयो । सामाजिक सञ्जालमा चलचित्र हेरेर रुँदै हलबाट निस्किने दृश्यले बरालको अभिनयको तारिफ जताततै भइरहेको थियो । मैले चलचित्र हेरेकी थिइनँ । त्यसैले रुने कुरा पनि भएन !

हल सबै ‘हाउसफुल’ थिए । एक साता धैर्य गरे । यद्यपि हल भरिएकै छ । जसरी बरालले फिल्म चलेन भनेर फोन गर्नुभएको थियो, मैले उसै गरी उहाँलाई फोन गरेर भने, “विजयजी फिल्म हेर्न पाइनँ, सबै हाउसफुल छ । कसरी समीक्षा गरौँ ?,” उहाँले निकै हार्दिकताले भन्नुभयो, “म मिलाउँछु नि १”

बराल अभियनले जति अब्बल हुनुहुन्छ, यति नै लचिलो मानवीय स्वभाव छ । झन्डै १६ वर्षदेखि मण्डला थिएटरमा उहाँले रङ्गकर्मीका रुपमा निरन्तर गर्दै आएको सङ्घर्ष र अभिनयप्रतिको लगाव मैले प्रत्यक्ष देख्ने र लेख्ने अवसर पाएकी छु । अभिनय नै सबैथोक मान्ने कलाकारमध्ये उहाँ पनि एक हुनुहुन्छ । जतिबेला नाटक मञ्चन गरी थिएटरबाट बाहिर निस्कनुहुन्थ्यो उहाँको मप्रति उल्टो प्रश्न हुन्थ्यो, “मधुजी, मलाई प्रशंसा गरेर नलेख्नु । जे महसुस हुन्छ यथार्थ आलोचनात्मक लेख्नु है !”

जुन कलाकारले कटु आलोचनालाई पचाउन सक्दैन ऊ धारिलो हुँदैन । जिजय बराल यस सन्दर्भमा असाध्यै लचिलो कलाकार हो । उहाँ अभिनीत पूर्णबहादुरको सारङ्गीको लोकप्रियताले यसको पुष्टि गरिसकेको छ ।

पूर्णबहादुरको सारङ्गी भनौँ या विजय बरालको सारङ्गी पर्यायवाची जस्तै छ अहिले, किनकि चलचित्रमा विजय बराल आफू हराएर पूर्णबहादुर पात्रका रुपमा उत्रिनुभएको छ । सायद उहाँ ओशोले कलाकारको सन्दर्भमा भन्नुभएको भनाइबाट प्रभावित हुनुहुन्छ । कुनै सन्दर्भमा ओशोले भन्नुभएको छ, “जीवन अभिनय गरे जस्तै गरी जिउनु र अभिनय जीवन जिए जस्तै गरी गर्नु १” बरालले दिलोज्यान लगाएर यस फिल्ममा पात्र अनुकूल अभियन गर्नुभएको छ तर प्रश्न यतिमै टुङ्गिँदैन । एउटा चलचित्र के हो ? कल्पना, यथार्थ घटना, समाजको ऐना, रुपान्तरणको प्रयास वा व्यापार ?

साहित्यकार अमर न्यौपानले किताब जात्राको छैटौँ संस्करणको संवादका क्रममा भन्नुभएको छ कि साहित्य समाजको ऐना हो भनेर मात्रै पुग्दैन, समाज रुपान्तरण र परिवर्तनका आधार सिर्जना गर्ने क्रान्ति पनि हो । लेखक न्यौपानेको बुझाइ सापटी लिने हो भने पूर्णबहादुरको सारङ्गी रुपान्तरण र क्रान्तिभाव जागरणमा चुकेको छ । समाजको अत्यन्त पिँधमा पारिएका दलित समुदायको प्रतिनिधित्व गर्ने पात्र हो, पूर्णबहादुर । उसले आफू अपमानित भइरहेको समाजबाट उन्मुक्त हुन नसकेको बेला छोराको चम्किलो भविष्य कसरी पूरा गर्न सक्छ ? चलचित्रले यो प्रश्नलाई भगवान्को भरोसा छोडिदएको छ ।

छोराले पूर्णबहादुरलाई पटक पटक सोध्छ, “तिमीलाई किन हेप्छन् बा ?” खासमा चलचित्रले यसको उत्तर दिनुपर्ने हो तर एउटा गाइने समुदायको गरिबी देखाएर मानवीय संवेदना बटुल्न खोज्दै चलचित्र व्यावसायिक बनाउनु न्यायोचित छैन । चलचित्रले उठाउने मुद्दा र पात्रहरुमा सकारात्मक रुपान्तरण ल्याउन जरुरी थियो, यदि साहित्य रुपान्तरणको आधार हो भने । चलचित्र समाजको दर्पण मात्रै हो भने त्यो दर्पण नेपाली समाजलाई देखाइरहन जरुरी छैन, थिएन ।

हाम्रो समाजले जातीय तथा लैङ्गिक आधारमा हुने हिंसा र अपमान, गरिबी, सीमान्तकृत हुनुको पीडाबारे हाम्रो समुदाय बेखबर वा अञ्जान छैन । बरु त्यो पीडा ‘कठै’ वा ‘विचरा’मा सीमित छ । अझ अगाडि भन्ने हो भने यो विचारमा मात्रै कैद छ । गणतान्त्रिक शासन व्यवस्था अपनाएको डेढ दशक नाघेको समाजले अब ती दलित र सीमान्तकृत पात्रलाई विचरा वा कठै वा विचारमा होइन, राज्य र समुदायले उसमाथि गर्दै आएको विभेदको आत्मग्लानी महसुस गरी व्यवहारमै ‘सुध्रिएको’ महसुस गर्न वा गराउन जरुरी छ ।

हामीले भुल्नु हुँदैन, पूर्णबहादुरले सारङ्गी बजाएर कला पस्किएको यो समाजले कहिल्यै इज्जत गरेन । बरु त्यही सारङ्गीकै कारण उसमाथि जातीय विभेदको चरम प्रातडना सहन बाध्य पारेको छ । र, यदाकदा भन्ने गरिन्छ,“दलित समुदायले आफ्नो जात, थर र पेसामाथि गर्व गर्न सिक्नुपर्छ ।” चलचित्र पूर्णबहादुरको सारङ्गीले पनि डाक्टर पढेपछि छोरोले गौरवका साथ सारङ्गी समाएको दृश्य देखिन्छ । कुनै पनि सम्प्रदायको जात, धर्म र थरमाथि न कथित दलित न कथित गैरदलित । कसैले न घृणा गर्न जरुरी छ न गर्व नै । यो मानवले आर्जेको कुनै पनि तत्व होइन, केवल मान्यताबाहेक तर त्यही थर, जात र पेसाले मान्छेको अस्तित्वमाथि नै प्रश्न गर्ने अवस्था सिर्जना हुन्छ भने त्यो सारङ्गी पुस्तान्तरण गर्नुको कुनै अर्थ छैन ।

दलित अधिकारकर्मी भन्छन्,“कथित दलित समुदायमाथिका विभेद राज्यद्वारा नीतिबद्ध बनाएर गरिएको विभेद हो । पूर्णबहादुर कुसल कला साधक हुन् । उनी सिर्जना सुनाएर आयआर्जन गर्छन् । उनी मगन्ते होइनन् ।” हो, चलचित्रले पूर्णबहादुरलाई मगन्ते बनाएको छ । जुन समाजले सारङ्गी बजाउनेलाई मगन्ते भन्दै आएकै थियो त्यही यथार्थ देखाइएको छ । खाँचो त पूर्णबहादुर मगन्ते होइनन्, उनी एक अब्बल र कर्मशील कलाकार हुन् भनेर साबित गराउनु थियो । चलचित्रमा पूर्णबहादुरले छोरालाई पढाएर चिकित्सक बनाएपछि उसले भोगे जस्तै अपमान र विभेद के अब उसको छोराले सहनु पर्दैन ? भन्ने जवाफको थियो ।

हाम्रो समाजमा प्रशस्तै घटना घटिरहेका छन् जातका आधारमा । यो ‘ब्राह्मणवादी’ सोचको पराकाष्ठा हो । समाजमा विद्यमान यो सोच चिरेर मान्छेले मान्छेमाथि गरिएको अमानवीय आचरणप्रति लज्जाबोध गराउनुपर्ने अहम् मुद्दालाई चलचित्रका निर्देशक (सरोज पौडेल)ले बेवास्ता गरेको देखिन्छ ।

आँसु बेच्न सजिलो छ, यदि ढङ्ग पुग्यो भने । पूर्णबहादुरको सारङ्गीले नेपाली चलचित्रको इतिहास नै रच्यो यस हिसाबले । अभियनले रुवाएको चलचित्रमा विषयवस्तु भने कुनै अनौठो र अपरिचत होइन । दलित समुदायको रोदनलाई सिँढी बनाएर सत्तामा पुगेपछि सबै भुले जस्तै चलचित्र पूर्णबहादुरको सारङ्गीले पनि समाजको चरम विभेदमा परेको समुदायमाथि न्याय गर्ने उद्देश्य गौण ठानेको देखिन्छ । कलाकारको अभिनयले रोदनको व्यापार गर्दैमा चलचित्रले इतिहास रच्न सक्छ तर सफल र चमत्कारपूर्ण चलचित्र भन्न सुहाउँदैन । पूर्णबहादुरको सारङ्गीले उठाउनुपर्ने थुप्रै सामाजिक मुद्दाहरु कलाकारको आँसुसँगै विलीन भएका छन् । अर्थहीन भएका छन् ।