९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकहरुलाई मानहुँकोटले यसरी तान्दैछ…



अ+ अ-

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुगेका थिए । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताए । “सामाजिक सञ्जाल फेसबुक, युट्यूव लगायतमा मानहुँकोटको तस्वीर, भिडियो हेर्थे, घुम्नैपर्ने ठाउँ जस्तो लागेको थियो,” उनले भने, “यहाँ आएपछि यहाँको दृश्यले मनै लोभ्यायो ।” पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको मानहुँकोट दशैं बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । दशैं बिदाको क्रममा मानहुँकोटमा अत्याधिक आन्तरिक पर्यटक पुगेका छन् । दशैं बिदाको मानहुँकोटमा दैनिक पाँच सय भन्दा बढी पर्यटक आएको स्थानीयवासी रेवती आलेले जानकारी दिए । 

बुधबार मात्रै करिब एक हजार आन्तरिक पर्यटक मानहुँकोट पुगेका छन् । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले दशैं बिदा पारेर मानहुँकोटमा घुम्न आउने आन्तरिक पर्यटकको भीड लागेको जानकारी दिए। “बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा मानहुँकोट विकास भइरहेको छ,” उनले भने, “दिउँसो मात्रै नभई रातको समयमा पनि मानहुँकोटमा रात बिताउने पर्यटक अत्याधिक रहे ।” उनका अनुसार रातिको समयमा टेण्ट टाँगेर सुत्ने र बिहान सबेरै सूर्योदयको दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक मानहुँकोट आउने गरेका छन् । 
तनहुँ जिल्लाभित्रकै विभिन्न ठाउँ र छिमेकी जिल्लाहरुबाट पनि मानहुँकोटमा पर्यटक आउन थालेका छन् । जाडो मौसम शुरु हुन लागेसँगै मानहुँकोटमा थप पर्यटक आगमन बढ्ने अनुमान छ । जाडो मौसममा मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् । मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।  साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ । 

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।