२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म
अ अ+ अ-

म्याग्दी । यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो ।

रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । टिमुर व्यवसाय गर्दै आउनुभएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले यहाँ उत्पादित टिमुर स्वदेशका साथै विदेशबाट पनि माग आएको बताउनुभयो ।

“विभिन्न देशमा रहेका नेपालीले जन्मथलो आउँदा र आफन्तमार्फत उपभोगका लागि टिमुर लैजानुहुन्छ । पछिल्लो समय व्यावसायिक रूपमा माग आउन थालेको छ”, उहाँले भन्नुभयो, “खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षण गरेर उपभोगयोग्य प्रमाणित गरिएको टिमुर विदेश पठाउने गरेका छौँ ।”

बेनी–९ घतानको फरकफरक ठाउँमा उत्पादन भएको २० किलो काँचो र दुई किलो सुकाएको टिमुर परीक्षणका लागि गत साता काठमाडौँस्थित गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाएको बानियाँले जानकारी दिनुभयो । प्रयोगशालाको प्रतिवेदन आएपछि बिक्री गर्ने तयारी भइरहेको भन्दै उहाँले अहिले यहाँका किसानले उत्पादित टिमुर टिप्न थालेका बताउनुभयो ।

गत वर्ष घतानमा उत्पादन भएको एक हजार छ सय किलो टिमुर प्रतिकिलो रु तीन हजारका दरले बिक्री भएको थियो । योमध्ये विदेशी बजारमा करिब दुई सय किलो बिक्री भएको बानियाँले बताउनुभयो । धेरैजसो टिम्मुर मुस्ताङका होटल सञ्चालकहरूले अग्रिम भुक्तानी गरी खरिद गर्ने गरेका छन् ।

घतान क्षेत्रमा यस वर्ष करिब दुई हजार किलो टिमुर उत्पादन हुने अनुमान गरिएको भूमेसिद्ध टिमुर सञ्जालले जनाएको छ । बेनी–९ ढावाका नरबहादुर राईले रु २० हजारको टिमुर बिक्री गरिसकेको जनाउँदै थप रु ४० हजार बराबर फल बिक्रीका लागि तयार भएको बताउनुभयो ।

“खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन्”, किसान राईले भन्नुभयो, “फलाउन र टिप्न सक्नुप¥यो, टिमुर बिक्रीका लागि बजारको समस्या छैन, घरबाटै बिक्री हुन्छ ।”

बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । “बेनी–९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो”, उहाँले भन्नुभयो, “म्याग्दीमा हाल वार्षिक करिब छ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको हाम्रो तथ्याङ्क छ ।”

पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपाली टिमुरको उत्पादन दोब्बरले बढेको ढावाकी जमुना राईले बताउनुभयो । “एउटै रूखमा दुई किलोसम्म टिमुर फलेको छ”, उहाँले भन्नुभयो, “यसपाली छ किलो बिक्री गर्ने तयारी गरेकी छु ।”

पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान बताउँछन् । “काँडाधारी रूख हुने भएकाले टिमुरको फल टिप्न दुःख हुन्छ । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने जोखिम पनि हुन्छ”, किसान राईले भन्नुभयो ।

भूमेसिद्ध टिमुर सञ्जालमा आबद्ध किसानलाई दुई वर्षअघि लुपथान्सा एयरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालले टिमुर टिप्न र बोट काँटछाँट गर्न जर्मनीमा विकास भएको ४० थान सिकेचर र आरा उपलब्ध गराएको थियो । डिभिजन वन कार्यालयले टिमुर प्रशोधन गर्ने औजार उपलब्ध गराएको छ ।

जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू–तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन् । डिभिजन वन कार्यालयले गत वर्षमा २० हजार टिमुरका बिरुवा निःशुल्क वितरण गरेको थियो । जिल्लास्थित उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको जनाएको छ । रासस