४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

चामल बिक्री गर्न समस्या

चामल बिक्री गर्न समस्या
अ+ अ-

सुदूरपश्चिम । बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुनेगरेको छ ।

खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछामलगायत जिल्लामा आपूर्ति गर्ने गरिएको चामलको मूल्य बजार भाउभन्दा बढी हुने गरेपछि बिक्री हुन नसकी खपत हुन नसकेको हो । कम्पनीको प्रादेशिक कार्यालय धनगढी (साविक नेपाल खाद्य संस्थान) अन्तर्गतका शाखा कार्यालयमा आपूर्ति हुने गरेको चामलको खपत हुन नसकेपनि तोकिएको कोटा अनुसारको चामल वर्षेनी आपूर्ति गर्ने गरिएको छ । 

बिक्री मूल्य बढी हुँदा पछिल्ला वर्षमा कम्पनीको चामलको माग घट्दै गएको बताइएको छ । कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिल श्रेष्ठले बढी मूल्य निर्धारण हुँदा कम्पनीले आपूर्ति गर्ने गरेको चामल त्यति खपत नभइरहेको बताउनुभयो । “बजारमा सस्तोमा चामल पाउँदा कम्पनीको चामल बिक्री गर्नै मुश्किल भयो”, उहाँले भन्नुभयो, “सरकारले ढुवानीमा मात्र नभई चामल बिक्रीमा समेत अनुदानको व्यवस्था गर्न सकेमा बजार मूल्यसँग प्रतिस्पर्धा गर्न सकिने भई कम्पनीको चामलबाट जनताले पनि राहत पाउन सक्नेछन् ।”
 
उत्पादन लागत मूल्यका आधारमा सरकारले यो चामलको बिक्री मूल्य निर्धारण गर्ने गरेको जनाइएको छ । कार्यालयको तथ्याङकअनुसार आपूर्ति गरिएको चामलमध्ये बाजुरास्थित शाखा कार्यालयमा ५७४ क्वीन्टल, बझाङ शाखामा १४२ क्वीन्टल, अछामको मंगलसेन शाखामा ४११ क्वीन्टल, दार्चुलाको खण्डेश्वरीमा झण्डै १० क्वीन्टल चामल बिक्री हुन नसकेर मौज्दात रहेको छ । 

चालू वर्षमा खण्डेश्वरीमा थप ३८० क्वीन्टल चामल आपूर्ति गरिएकोमा यो मध्ये ५० क्वीन्टल बिक्री हुन सकेको छ । बझाङ सदरमुकाममा गएको चार महिनामा ३० क्वीन्टल चामल बिक्री भएको छ । अछाममा गत वर्षको ५७९ क्वीन्टल मौज्दात रहेकोमा यो वर्ष थप ४४३ क्वीन्टल आपूर्ति गरिएको छ । यो मध्ये ६१२ क्वीन्टल मात्र बिक्री हुन सकेको छ । कम्पनीको चामल बजार मूल्यभन्दा महङ्गो प्रति किलो रु ४८ मा बिक्री मूल्य निर्धारण हुँदा खपत हुन नसक्ने समस्या देखिएको कम्पनीका बझाङ शाखा कार्यालयका प्रमुख ईश्वरी पाण्डेयले बताउनुभयो । 

“स्थानीय बजारमा प्रतिकिलो रु ३८ देखि ४० मा चामल पाउँछ, उहाँले भन्नुभयो, “स्थानीय बजार भाउभन्दा सस्तो मूल्यमा हामीले चामल दिन सकेमा मात्र जनताले राहत पाएको ठहरिन्छ ।” धान खरिद गरेर भण्डारण गर्न चाहिने भौतिक संरचनाको अभावमा खरिद हुने धान पनि बिग्रिने जोखिम पनि कम्पनीले व्यहोर्दै आएको छ । 

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद हुने धान कुटेर चामल उत्पादन गर्दा यसको उत्पादन लागत बढेर प्रति किलो चामल रु ४६ देखि ४७ सम्म पर्ने गरेको कम्पनीका अर्का कर्मचारी अविनासकुमार यादव बताउनुहुन्छ । चालू वर्षमा सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य रु दुई हजार ७३५ निर्धारण गरेकोमा धानको व्यापार गर्ने व्यापारी ९गल्ला व्यापारी० ले हाल किसानबाट प्रति क्वीन्टल रु दुई हजारमा खरिद गरिरहेका छन् । चालू वर्षमा वर्षाका कारण सडक ठाउँ ठाउँमा भत्किएर यातायात आवागमन अवरुद्ध हुँदा बाजुरामा चामल आपूर्ति गर्न सकिएको छैन ।

पाँच वर्ष अघिको भूकम्पपछि बङ्गलादेशवाट भित्रिएको बङ्गलादेशी चामल बिक्री गर्न झण्डै तीन वर्षको समय लागेको थियो । खानमा स्वादिलो नभएको भन्ने जनगुनासो सँगसँगै यो चामलको मूल्य बजार मूल्यभन्दा बढी तोकिएपछि खपत बढाउन पटक पटक विक्री मूल्य घटाउनु परेको थियो ।

कम्पनीको धनगढीस्थित गोदाममा अहिले मोटा चामल २४ हजार ३५० क्वीन्टल, जिरा स्टिम चामल ७९६ क्वीन्टल, सोना मन्सुली चामल ४७३ क्वीन्टल र गहुँ ४५४ क्वीन्टल मौज्दात रहेको छ । कार्यालयले गएको दुई महिनामा २० हजार क्वीन्टल धान खरिद गरेको छ ।

सरकारद्वारा स्वीकृत कोटाअनुसार कार्यालयले ढुवानी अनुदानमा चामल आपूर्ति गर्दै आएको छ । माग भई आएमा कर्णाली प्रदेशको मुगु, हुम्ला लगायतका जिल्लामा कम्पनीको धनगढी कार्यालयमार्फत खाद्यान्न आपूर्ति हुँदै आएको छ । कम्पनीसँग आवश्यक कर्मचारीको अभाव हुँदा खण्डेश्वरीस्थित कार्यालय र डडेलधुरास्थित कम्पनीको गोदाम कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ ।