४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

छठ पर्व–समाज चिनाउने खुला सङ्ग्रहालय

छठ पर्व–समाज चिनाउने खुला सङ्ग्रहालय
अ+ अ-

केरवा ज फरल घउरस वोपर सुगा मडराय ।
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।

अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनु हुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊन् भनेर गीतबाटै सचेत गराउन खोजिएको हो । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई मधेशको सहर बजारमा यस्ता लोकगीतको सुमधुर स्वर गुञ्जिएको सुनिन्छ । चार दिवसीय छठ पर्वको कात्तिक २० गतेदेखि विधिवत् शुभारम्भ हुँदैछ ।

छठको व्रतमा कुन देवी–देवताहरुको पूजा गरिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । छठ पूजाको व्रतमा सूर्य देवताको पूजाआराधना गरिन्छ, जुन प्रत्यक्ष देखिन्छ र समस्त प्राणीहरुको जीवनको आधार पनि हो । सूर्यको साथै षष्ठी देवी अथवा छठ माताको पनि पूजा गरिन्छ । पौराणिक मान्यताअनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुको साथै उनीहरुलाई स्वास्थ्य र दीघार्यु बनाउँछिन् । यस अवसरमा सूयदेवका श्रीमतीहरु उषा र प्रत्युषालाई पनि अघ्र्य दिएर प्रसन्न बनाइन्छ । छठ व्रतमा सूर्यदेव र षष्ठी देवी दुवैको पूजासँगसँगै गरिन्छ ।

यस पर्वमा पूजा गरिने प्रमुख छ देवी–देवताहरुमा सूर्यको पूजा सबैभन्दा पहिला गर्ने विधान रहेको छ । पञ्चदेवमा गणेश, दुर्गा, शिव, विष्णुका साथमा सूर्य पनि पर्छन् । भगवान् सूर्यले सबैलाई उपकार गर्ने, अत्यन्त दयालु छन् । उनले आफ्ना भक्तहरुलाई आयु, आरोग्य, धन–धान्य, सन्तान, तेज, कान्ति, यश, वैभव र सौभाग्य प्रदान गर्छन् । उनले सबैलाई चेतना पनि प्रदान गर्छन् । सूर्यको पूजा गर्दा उनलाई जलको अघ्र्य दिइन्छ । पवित्र नदीहरुको जलले सूर्यलाई अघ्र्य दिने र नुहाउनुको विशेष महत्व रहेको छ । वास्तवमा यो पूजा कुनै पनि सफा स्थानमा गर्न सकिन्छ ।

सूर्यको उपासना गर्नाले मनुष्यलाई सम्पूर्ण रोगबाट छुटकारा प्राप्त हुन्छ । जसले सूर्यको उपासना गर्छ, ऊ दरिद्र, दुःखी, शोकग्रस्त र अन्धो हुँदैन । सूर्यलाई ब्रह्माको तेज पनि भनिन्छ । सूर्यले धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ प्रदान गर्नाको साथै सम्पूर्ण संसारको रक्षा पनि गर्छन् । श्रीकृष्णका पुत्र साम्बलाई कुष्ठरोग लागेको थियो । त्यस समयमा उनले सूर्यको उपासना गरेर यो रोगबाट मुक्ति पाएका थिए । सूर्यको पूजा वैदिककालभन्दा पनि पहिलेबाट भएको थियो ।

शास्त्रमा भगवान् सूर्यलाई गुरु पनि भनिन्छ । पवनपुत्र हनुमानले सूर्यसँग नै शिक्षा प्राप्त गरेका थिए । श्रीरामले आदित्य हृदयस्तोत्रको पाठ गरेर सूर्य देवतालाई प्रसन्न गरेपछि मात्र रावणलाई अन्तिम बाण हानेका थिए र विजय भएका थिए । सूर्यले सबै प्राणीलाई समान रुपले कृपा गर्छन् । उनले कुनै किसिमको भेदभाव गर्दैनन् । यो पूजामा वर्ण अथवा जातिको आधारमा भेद छैन । यो पूजाप्रति समाजको हरेक वर्ग र जातिमा गहिरो श्रद्धा देखिन्छ । सबै मिलेर सँगसँगै यो पूजामा सहभागी हुन्छन् । हरेक जाति अथवा धर्मका मानिसले यो पूजा गर्न सक्छन् ।

कात्तिक शुक्ल चतुर्थीबाट छठको व्रतको थालनी हुन्छ । यो दिन व्रत गर्ने व्यक्ति र घरका सबै परिवारले दाल, चामल र लौकाले बनेको व्यञ्जन प्रसादका रुपमा ग्रहण गर्छन् । वास्तवमा यो तीन दिनसम्म छठ पूजाका लागि शारीरिक र मानसिक तयारी हो । कात्तिक महिनाबाहेक यो पूजा–व्रत चैत्र शुक्ल पक्ष चतुर्थीदेखि सप्तमीसम्म पनि गरिन्छ । त्यसलाई सामान्य बोलीचालीको भाषामा चैती छठ भनिन्छ ।

सूर्यसँग त सबै परिचित नै छन, तर छठ कुन देवी हुन् भन्ने पनि धेरैको मनमा कौतुहलता हुन सक्छ । सृष्टिको अधिष्ठात्री प्रकृति देवीको एउटा प्रमुख अंशलाई देवसेना भनिन्छ । प्रकृतिको छैटौँ अंश भएका कारण यी देवीको नाम षष्ठी रहन गयो । षष्ठी देवीलाई ब्रह्माको मानसपुत्री पनि भनिन्छ । पुराणहरुमा यी देवीको एउटा नाम काल्यायनी पनि हो । यी देवीको पूजा नवरात्रिमा षष्ठी तिथिमा गरिन्छ । षष्ठी देवीलाई नै स्थानीय बोलीका आधारमा छठ माता भनिएको हो । यसले निःसन्तानहरुलाई सन्तान दिन्छिन् र सबै बालबालिकाको रक्षा पनि गर्छिन् ।

छठ माताको पूजाको सुरुआत कसरी भयो र यसको पुराण कथा कस्तो छभने प्रथम मनु स्वायम्भुवका पुत्र राजा प्रियव्रतका कुनै सन्तान थिएनन् । यसले उनी निकै दुःखी थिए । महर्षि कश्यपले राजालाई पुत्रेष्टि यज्ञ गर्ने सल्लाह दिए । राजाले यज्ञ गराए, यज्ञपछि महारानी मालिनीले एउटा पुत्रलाई जन्म दिइन् । तर दुर्भाग्य त्यो शिशु मृत जन्मेका थिए । राजाको दुःख देखेर एउटा दिव्य देवी प्रकट भइन् । उनले ती मृत बालकलाई जीवित गरिदिइन् । देवीको त्यस्तो कृपाले राजा धेरै खुसी भएर उनले षष्ठी देवीको स्तुति गरे । यही समयदेखि छठ माताको पूजाको सुरुआत भएको जनविश्वास छ ।

यो पूजामा केही मानिस जमिनमा बारम्बार सुतेर, कष्ट सहँदै नदीको किनारमा जान्छन् । सामान्य बोलीचालीको भाषामा यसलाई कष्टी देना भनिन्छ । प्रायः त्यस्तो त्यही समयमा हुन्छ, जब कसैले कुनै भाकल गरेको हुन्छ ।

सत्य र अहिंसाको चाड

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । समाजशास्त्री नागेन्द्र दुबेले भन्नुहुन्छ, “सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । छठ पूजाका लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल बेहुली झैँ सिँगारिएको छ ।

श्रद्धालुहरूले जनकपुरको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्नि कुण्डलगायत कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन् । तिहारको रौनक नसक्दै यहाँ पवित्र छठ पर्वको तयारीको चटारो लाग्ने गर्दछ । चोक चौराहादेखि घरघरबाट छठ गीतको धूनले पूरै सहरमा छठको रौनक छाउन थालेको छ । आराध्यदेव सूर्यको उपासना गरिने छठ पर्व निकै उत्साह र भक्तिभावका साथ मनाइन्छ । घरदेखि टाढा रोजगारी वा उच्च शिक्षा अध्ययनका लागि गएका परिवारका सदस्यहरूसमेत घरआँगनमा छठको रौनक सम्झिएर घर फर्किंदैछन् ।

छठ पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्व पनि हो । यो पर्वमा सूर्यलाई साक्षी राखेर खुला आकाशमुनि किसानले वर्षभरि मिहिनेत गरेर उब्जाएको अन्नबाली सूर्यदेवलाई अर्पण गर्दै उनीप्रतिको अगाध आस्था प्रकट गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा गर्न सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । यो पूजामा जातीय आधारमा कहीँ–कुनै भेदभाव छैन । समाजमा सबैलाई समान दर्जा दिइएको छ । सूर्य देवतालाई बाँसबाट बनेको सूप र डालोमा राखेर प्रसाद अर्पित गरिन्छ । ती कुराहरु सामाजिक रुपले अत्यन्त पिछडिएका जातिहरुबाट निर्मित हुन्छन् । त्यसले सामाजिक सन्देश कस्तो दिएको छ भन्ने कुरा प्रस्ट हुन्छ ।

अहिले तराई मधेशमा हाटबजार, सडक र गल्लीहरू छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीबाट सजिएका छन् । उखु, केराउ, अदुवा, केरा, मूलालगायत कृषि उपजका साथै सक्खर मिसाएर बनाइएको गुलियो खिर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले भान्छा, भूमिसँग जोडिएको जनजीविका र जनस्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइरहेको हुन्छ ।

सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुल्ला सङ्ग्रहालयकै काम गरिरहेको प्रतीत हुन्छ । छठ पर्वका लागि माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा दलित समुदायको डोम जातिले बुन्छन् । डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपलि, छैटी, बेना ९हाते पङ्खा० छठ पर्वका लागि नभई नहुने हस्तकला सामग्री हुन् ।

पहाडी समुदायको आकर्षण पनि बढ्दो

केही वर्षअघिसम्म तराई मधेश क्षेत्रमा मात्रै मनाइने यो पर्वले विस्तारै राष्ट्रिय पर्वका रुपमा विस्तार हुँदैछ । छठ पर्वमा जात, धर्म, क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी फरकफरक समुदायका अनुहारहरू जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेको हुन्छ । मूलपुरमा मधेशी समुदायको मुख्य पर्वका रुपमा मानिँदै आएको यो पर्व मनाउनेको भीडमा सिउँदोदेखि नाकको टुप्पासमेत ढाकिने गरी सिन्दूर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहणी उल्लेख्य रुपमा देख्न थालिएको छ । नदी, पोखरी, जलाशयमा व्रतालुहरुको ठूलो भीड लाग्ने हुँदा अशक्त, वृद्धाहरुले घरमा नै छठको पूजा गर्ने गर्दछन् । घरको आँगन र छतमा पनि छठको पूजा र व्रत बस्ने गर्छन् ।

रोजगारी र अध्ययनका लागि काठमाडौँमा रहेका मानिस दसँैतिहार मनाएर फर्किएपछि तराई मूलका व्यापारी, कर्मचारी, मजदुर, विद्यार्थी घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन् । समाजिक अभियन्ता बैजनाथ चौधरी भन्नुहन्छ, “सामाजिक विविधताले भरिएको समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै आ–आफ्ना पर्वहरुम रमाएका हुन्छन् ।” तराईवासी मधेशी समुदायको मुख्य पर्वका रुपमा रहेको छठ अहिले पहाडी समुदाय मात्र नभई मुस्लिम धर्मावलम्बीहरुले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ ।

यस पर्वको अर्को विशेषता भनेको सबै जातजाति, ठूलासाना, धनी, गरिब सबै एकै ठाउँमा जम्मा भएर पूजाअर्चना गर्नु पनि हो । वर्षौंसम्म भेटघाट नभएकाहरू बोलचाल नभएकाहरूसँग पनि भेटघाट तथा वार्तालाप हुने अवसर यस पर्वले दिएको हुन्छ । छठ पूजा जो कोहीले पनि गर्न सक्छ । यो पूजाका लागि महिला–पुरुष भन्ने हुँदैन । तर महिलाहरु सन्तानको कामना अथवा सन्तानको स्वास्थ र उनीहरुको दीघार्युका लागि समस्त विधि पूरा गर्दै पूर्ण श्रद्धाका साथ छठ पूजा गर्छन् ।

यस्तो छ चार दिवसीय छठ पर्वको विधिः

पहिलो दिन–‘अरबा–अरबाइन’: चार दिवसीय छठ पर्वको पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहाए खाय भनिन्छ । यो दिनमा व्रतालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतालुले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरूले आँखा पनि भन्ने गर्छन् ।

दोस्रो दिन– ‘खरना’ः पञ्चमी तिथिलाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन् । साँझपख नुहाएर चोखो हुन्छन् । आफ्नो कुलदेवता स्थापना गरेको पूजाकोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरिन्छ । व्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस ९खीर० चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।

तेस्रो दिन–‘सझिया घाट’ः षष्ठीका दिन गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पीठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । षष्ठी व्रतमा मानिसहरु उदाउँदै गरेको सूर्यको पनि पूजा गर्छन् भने अस्ताउँदै गरेको सूर्यको पूजा पनि उत्तिकै श्रद्धाका साथ गरिन्छ ।

चौथो दिन–‘पार्वण’: पर्वको चौथो दिनलाई पारन (पार्वण)भनिन्छ । यस दिन बिहान सबेरै व्रतालुहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गर्दछन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन्, सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ । प्रातःकालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि प्राप्त हुन्छ ।