१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरङ्जामा ‘आगोदेउ’ पर्व मनाइयो



अ+ अ-

म्याग्दी: जिल्लाको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरङ्जाका मगर समुदायले ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने नौ थरका ४५ कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् ।

आगलागीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहेको मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले जानकारी दिनुभयो । “धार्मिक विधिअनुसार पूजाआजा गरेर कुकुर तिहारको दिन सुरु हुने आगोदेउ पर्वमा प्रकृतिको पूजा गरिन्छ”, उहाँले भन्नुभयो, “आगोका कारण कुनै दुर्घटना वा विपद् नहोस् भन्ने कामना गरेर यो पर्व मनाउने चलन छ ।”

बरङ्जाको शिलाथुरस्थित थानमा मगरका झाँक्रीहरूले पूजाआजा गरेपछि पर्व सुरुआत भएको मानिन्छ । दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पूजा गरी बलि चढाइन्छ । यसैगरी आगो बाल्ने र मार्ने गरिन्छ । तेस्रो दिन कमेरोले रङ्ग्याएको ढुङ्गालाई काट्ने र पूजाआजा गरेपछि पर्व सकिएको मानिन्छ ।

बरङ्जामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बुढाथोकी थरका मगरहरूले आगोदेउ पर्व मनाउँछन् । बाह्रौँ शताब्दीमा बरङ्जामा बसोबास सुरु भएदेखि सुरु भएको आगोदेउ पर्वलाई निरन्तरता दिँदै आएको वडाध्यक्ष रोकाले बताउनुभयो ।

कात्तिकमा आगोदेउ र जेठमा धुले मेला बरङ्जाका मगरले धुमधामसँग मनाउने पर्व हुन् । जेठको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गलबारदेखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लगाउने चलन छ । हिउँदभरि खेतबारी सुकेर धुलैधुलो हुने र पानी परेपछि खेती गर्न योग्य हुने हुनाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिएको वडाध्यक्ष रोकाले बताउनुभयो ।रासस