२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै



अ+ अ-

ढोरपाटन । बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास (होम–स्टे_मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो ।

यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको व्यवस्थापनमा रोजगारी सिर्जनाका लागि कार्यक्रम सञ्चालन भइरहेको छ ।

बसाइँसराइले उजाडिन थालेको गाउँमा घरबासमार्फत रोजगारी सिर्जना हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकीय सम्भावना बोकेका वडा नं ३ को धम्जा देउराली, ५ को बिहुँ, ७ को बौर र ८ को लेखानी गाउँका स्थानीयलाई घरबास सञ्चालनका लागि प्रेरित गरी रोजगार सिर्जना गर्न थालेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो ।

उहाँले बसाइँसराइले सुनसान बन्दै गएपछि घरबास सञ्चालनपछि धेरैलाई गाउँ फर्काउन सकिने अपेक्षा लिएको उहाँ बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “गाउँपालिकाले बसाइँसराइ रोक्नका लागि रोजगार सिर्जना गर्ने योजना बनाएको थियो, हाम्रो योजनालाई गैरसरकारी संस्थाले पनि सहयोग गर्नुभयो, सोहीअनुसार यसवर्ष चार वडामा घरबास सञ्चालन गरेका छौँ, गाउँमै बसेर केही गर्न चाहने युवा र महिलालाई यसले ठूलो मद्दत गरेको छ, अन्य वडामा पनि सुरु गर्ने योजना छ ।”

हाल पालिकाका चार स्थानमा सामुदायिक एग्रो घरबास सञ्चालन गरेको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनकी कार्यक्रम प्रबन्धक ममिता पुनले जानकारी दिनुभयो । घरबास सञ्चालकलाई पाक कला, घरबास व्यवस्थापन, स्थानीय उत्पादनको प्रशोधन र प्याकेजिङ तालिम दिएको उहाँले बताउनुभयो । “घरबास सञ्चालनका लागि हामीले सञ्चालकलाई तालिम दिएका छौँ, गाउँमै जैविक उत्पादनका लागि प्लास्टिक टनेल, प्याकेजिङ मेसिन, तरकारीको बीउ र ड्राइमेसिन उपलब्ध गराएका छौँ”, पुनले भन्नुभयो,“सहयोग पाएपछि धेरै दाजुभाइ दिदीबहिनी उत्साहित भएर लाग्नुभएको छ, उहाँहरूलाई आयआर्जनसँग जोड्नका लागि निरन्तर सहयोग गर्दै जाने छौँ ।”

बौर सामुदायिक होमस्टेका अध्यक्ष होमबहादुर पुनले गाउँपालिका र संघसंस्थाबाट पाएको सहयोगले आफूहरूलाई उत्पादनमा लाग्न प्रेरणा मिलेको बताउनुभयो । संस्थाले दिएको तालिमले समुदायलाई एकताबद्ध भएर व्यावसायिक बन्न सिकाएको उहाँको भनाइ छ । हालै स्थापना गरेको घरबासलाई अब प्रचारप्रसार गर्ने र पाहुना भित्र्याउन तर्फ लाग्ने पुनले बताउनुभयो । रासस