१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग



अ+ अ-

काठमाडौँ । तिहार शुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार शुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौंमा मादल किन्नेहरुको भीड छ । अन्य समयमा खोजि नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरुको घुइँचो लाग्छ । विभिन्न जिल्लाबाट मादल खरिद गर्नका लागि काठमाडौं आइपुग्छन् । आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगि तिहारमा रमाउने हेतुले टाढाबाट काठमाडौं मादल किन्न ग्राहकहरु आउने गरेका छन् ।

ओखलढुंगाको केत्तुकेबाट मादल किन्न आउनुभएका सुमन तामाङ गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादल बिना रमाइलो नहुने बताउनु हुन्छ । त्यसैले पनि समूहका लागि मादल किन्न आएको बताउनु हुन्छ । अन्य ठाउँमा भन्दा विष्णु म्युजिक सपमा राम्रो मादल पाइने भएकाले आफू काठमाडौं आएको बताउनु भयो । उहाँले आफूले विष्णु म्युजिक सपबाट तीन वर्ष यता मादल किन्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल चाहिन्छ । यसले रमाइलो पनि हुन्छ । मादल राम्रो पाइन्छ । म यहाँ आउन थालेको तीन वर्ष भयो । रितिरिवाज, संस्कृति जगेर्ना पनि भयो ।’

काठमाडौंको विष्णु म्युजिक सप सञ्चालन गर्दै आउनुभएका व्यवसायी रिपबहादुर कुलले गत वर्षको तुलनामा यस वर्ष मादलको व्यापार राम्रो रहेको बताउनु भयो । उहाँले २५ वर्ष यता काठमाडौंको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएको बताउँदै उहाँले १३ सयदेखि १२ हजारसम्मका मादल आफूले पसलमा राख्ने गरेको बताउनु भयो । यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको बताउनु भयो । मादलको लागि काठ सहजै पाउने भएपनि छाला भने ल्याउन गाह्रो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘तिहार आउँदैछ, मध्यम व्यापार भइरहेको छ । भर्खर शुरु हुँदैछ, ग्राहकहरु आइरहनुभएको छ । पहिलाको तुलनामा मादल राम्रै विक्री भएको छ । व्यापार अलि बढेकै हो । मैले २५ वर्ष जति भयो व्यापार गरेको । १३ सयदेखि १२ हजारसम्मका मादल छन् । काठ मकवानपुरतिरबाट ल्याउँछौँ । तिहारमा १५ सय वटा जति मादल बेचिन्छ होला । मादलको सामान छालाहरु ल्याउन गाह्रो छ । छाला फोहोर पनि भयो । नेपाली बाजा, लोकबाजा छ, सरकारले केही संरक्षणमा लागेको छैन । हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि पु¥याउन जरुरी छ ।’

उहाँले नेपाली लोकबाजालाई सरकारले संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । एउटा मादल तयार गर्न करिव १० दिन लाग्ने मादल व्यवसायीहरु बताउँछन् । काठ खोपेर ढुङ्ग्रो बनाउनुपर्ने भएकोले अत्याधिक मेहनत र समय लाग्छ । विगतकै मूल्यमा मादल बेचिरहेको र बजार मूल्य चित्तबुझ्दो नरहेको व्यवसायीहरुको भनाइ छ ।