३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटमा राप्रपाको आमसभा सम्पन्न, जसपा नेपालका जिल्ला अध्यक्ष राप्रपामा प्रवेश



अ+ अ-

कालिकोट: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले परिवर्तनको नाममा जनतालाई धोका दिएको बताएका छन् । कर्णाली यात्राको चौथो दिन आज कालिकोट सदरमुकाम मान्ममा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ०६२/६३ पछि पालैपालो देशको बागडोर सम्हालेका कांग्रेस, एमाले र माओवादीप्रति कटाक्ष गरेका छन् ।

जनतालाई परिवर्तनको सपना देखाइयो, तर देश पछिल्लो दुइ दशकमा गरिखान त टाढाको कुरा बस्नलायक समेत बनेन र लाखौं युवा सामान्य रोजगारका लागि विदेशी भूमिमा जान बाध्य बनाइयो, लिङ्देनले भने । तिनै दलका गलत नीति, सत्तालिप्सा, भ्रष्ट आचरणका कारण देश झन् झन् कमजोर बन्दै गएको उनको आरोप थियो । जनता कसैको गोठमा बॅाधेको गाइवस्तु होइन, अब पनि जनताले विकल्प नखोज्ने हो भने हाम्रो देश अहिलेभन्दा झन् कमजोर र खोक्रो हुने निश्चित छ, लिङ्देनले भने, ‘राप्रपा अब जनताको भरपर्दो विकल्प हो र हामी विकल्प दिन सक्षम छौं।’

कालिकोट आमसभाका क्रममा जसपा नेपालका जिल्ला अध्यक्ष माधव उपाध्याय सहित सम्पूर्ण जिल्ला कार्यसमिति राप्रपामा समाहित भएको छ। उपाध्याय सहित जसपा नेपालका नेता, कार्यकर्ता र नवप्रवेशी पचासौं युवालाई अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गर्नुभएको छ।
अध्यक्ष लिङ्देन सहितका राप्रपाका नेताहरु एक हप्ते कर्णाली यात्राको क्रममा विभिन्न जिल्लामा पुगेका छन् । कार्तिक ६ गते सल्यानको सल्ली बजारमा आमसभा गरेर शुभारम्भ भएको राप्रपाको कर्णाली प्रदेशको यात्रा कार्तिक ७ गते सुर्खेतको बाबियाचौर, कार्तिक ८ गते दैलेखको दुल्लु हॅुदै आज कालिकोट पुगेको हो। यात्राका क्रममा बाटोमा पर्ने जनघनत्व बढी स्थानहरुमा साना ठूला दर्जनौं सभाहरु भइरहेका छन् ।

राप्रपाले पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीको एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्यौल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका बारेमा जनतासंग संवाद गर्न र तुलनात्मक रुपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियान अन्तर्गत कर्णाली यात्रा गरिरहेको सो पार्टीले जनाएको छ ।

कर्णाली यात्राका क्रममा कार्तिक १० गते जुम्लाको गोठिजिउलामा र कार्तिक ११ गते मुगुको गमगढीमा सभाहरु हुनेछन् ।

अध्यक्ष लिङ्देनको साथमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री कुन्ती कुमारी शाही, सुदुर पश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रबक्ता ज्ञानेन्द्र शाही, सहमहामन्त्रीहरु, सहायक महामन्त्रीहरु, पार्टीका दर्जनौं केन्द्रीय र प्रदेश तहका नेताहरु, संघ र प्रदेशका आधा दर्जन सांसदहरु सहभागी रहेका छन् ।