२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिङ्गो गाउँ नै तरकारीखेतीमा: वार्षिक भित्रिन्छ ८० लाख



अ+ अ-

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।

सुरुमा गाउँका अगुवा किसान कृष्णलाल कँडेलले थालेको तरकारीखेतीमा अहिले गाउँभरि बिस्तार भएको छ । कँडेलले विसं २०६९ देखि नै फाटफुट तरकारीखेती गर्न थाल्नुभएको थियो । छ वर्षपछि सरकारी कृषि ज्ञान केन्द्रसहित विभिन्न सरकारी निकायले अनुदान दिन थालेपछि स्थानीय व्यावसायिक तरकारीखेती गर्न थालेका थिए । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने गाउँमा फलेका तरकारी बजार पुर्‍याउन त्यति समस्या छैन । नजिकै बुर्तिबाङ बजार हुँदा बिक्रीका लागि टाढा धाउनु पर्दैन ।

गाउँमा तरकारीखेती गर्न थालेपछि न्यून आय भएका परिवारको पनि आर्थिक अवस्था सुधार हुँदै गएको स्थानीय अगुवा किसान कृष्णलाल कँडेलले बताउनुभयो । १२ वर्षअगाडि आफूले गाउँमा टनेलभित्र तरकारीखेतीको सुरुआत गरेपछि अहिले सिङ्गो गाउँ नै यसमा लागेको उहाँको भनाइ छ । तरकारीखेतीमा आबद्ध किसानले वार्षिक न्यूनतम रु दुई लाखदेखि सात लाखसम्म आम्दानी गर्दै आएका कँडेल बताउनुहुन्छ । यस वर्ष ढोरपाटन–५ मा मात्रै तरकारी बेचेर रु ८० लाख भित्रिएको उहाँले जानकारी दिनुभयो ।

“गरे के नहुने रैछ र ?, मैले तरकारीखेती सुरु गर्दा गाउँलेले तरकारी पनि बिक्री हुन्छ भन्दै गिज्याउँथे, अहिले गाउँमा टनेलमा तरकारीखेती नगर्ने कोही छैन, तरकारीबाट आम्दानी राम्रो हुन थालेपछि पहिले हुँदा खानेहरु अहिले हुने खाने भए”, उहाँले भन्नुभयो, “पोहोर परार साल वार्षिक ५० लाखको तरकारी बिक्री हुन्थ्यो, यस वर्ष थप ३० लाख बढीको खायन आलुसमेत बिक्री गर्‍यौँ ।”

बारीमा काम गर्न थालेपछि धेरै युवा विदेश जानबाट रोकिएका छन् । जिल्लाको अन्य गाउँमा युवा विदेश पलायन हुँदा ढोरपाटनमा भने गाउँ जनशक्तिको अभाव छैन । व्यवसायिक तरकारीखेतीले गाउँलेको जीवनशैली नै बदलिएको स्थानीय किसान विष्णुकुमारी घर्तीले बताउनुभयो । बजारमा तरकारीको भाउमा एक रुपता नहुँदा कहिलेकाहीँ मूल्य नपाउने उहाँको भनाइ छ । तरकारीखेतीबाटै घर खर्च चलाउने र छोराछोरी पढाउने गरेको घर्ती बताउनुहुन्छ । उहाँले भन्नुभयो, “तरकारीखेतीबाट आत्मसन्तुष्टि मिलेको छ, पहिले एक मुरी धान फल्ने खेतमा अहिले लाखौँको तरकारी फल्छ, मैले मात्रै होइन गाउँका धेरैले यो पेसा अङ्गालेका छन्, तरकारीमा रोग लागेन भने वर्षमा दुई/चार लाख रुपैयाँ कमाउन समस्या छैन ।”

तरकारीखेतीतर्फ किसानलाई आर्षित गर्न कृषि ज्ञान केन्द्र बागलुङले पनि सहयोग गर्दै आएको छ । यस क्षेत्रमा तरकारीखेती र खायन आलु उत्पादनका लागि करिब ८० लाख लगानी गरेको केन्द्रका सूचना अधिकारी कुमार पुनले जानकारी दिनुभयो । किसानलाई आवश्यक अनुदानसहित प्राविधिक सहयोग र उपकरणसमेत उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । रासस