२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

कोरला नाकाको भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

उहाँले कोरला नाका नेपालको लागि नाका भएको बताउँदै कोरला नाका नेपाल—भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाका भएको बताउनु भयो । कोरलाबाट नेपालले दुवै देशसँग फाइदा लिनसक्ने उल्लेख गर्नुभयो । उहाँले सडक पूर्वाधारको हिसावले सुनौलीदेखि कोरलासम्म नै पुगेको तर अन्य आधारभुत पूर्वाधार बनाउन नेपालले नसकेको गुनासो गर्नुभयो । उहाँले अधिकांश सडकहरु पनि कालोपत्रे भइसकेकाले सरकारले उच्च महत्व दिएर कोरला नाकामा पूर्वाधार निर्माण बढाउनुपर्ने बताउनु भयो । उहाँले पोखरा पुगेका अधिकांश पर्यटकको रोजाई कोरला नाका हुने गरेको भन्दै पर्यटन, व्यापार र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण हुने दाबी गर्नुभयो । उहाँले चीनको तर्फबाट मात्रै नाकामा पूर्वाधार तयार भइसकेको तर नेपालले छिटो गरी पूर्वाधार तयार गर्न नसक्दा आर्थिक क्रियाकलापमा क्षति भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोरला नाका नेपालको लागि निकै महत्वपूर्ण नाका हो । भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाकाको रुपमा यो नाका रहेको छ । अहिले सडक पूर्वाधारको हिसाव गर्दा सुनौलीदेखि यहाँसम्म सडकको पूर्वाधार बनेको छ । धेरै जसो ठाउँमा पिच भइसकेको छ भने कतिपय ठाउँमा यसलाई सुधार गर्नुपर्छ । सडकको हिसावले सुनौलि नाकादेखि यो कोरला नाका जोडिसकिएको अवस्था छ । नेपाल आउने अधिकांश पर्यटकहरुमध्ये, जस्तो पोखरा आउने अधिकांश पर्यटकहरु करिव ५० प्रतिशतमध्ये अधिकांश पर्यटक कोरला नाका, मुस्ताङ आउँछन् । त्यसैले पनि पर्यटनको हिसावले पनि यो नाका त्यत्तिकै महत्वपूर्ण छ ।

व्यवसायिक एक्टिभिटी, ट्रेडको हिसावमा पनि कोरला नाका निकै नै आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण छ । चीनको तर्फबाट बोर्डरमा पूर्वाधारहरु तयार भएको छ । हाम्रो तर्फबाट पूर्वाधार केही पनि तयार भएको अवस्था रहेनछ । यो दुई देशको बोर्डरमा बेसिक लेभलको इन्फास्ट्रक्चर बनाउनसके कोरला नाकाबाट पर्यटन गतिविधि, व्यापारजन्य क्रियाकलापबाट धेरै फाइदा नेपालले लिनसक्छ । बेसिक स्तरको पूर्वाधार बनाउने कुरा त्यति खर्चिलो हुन्छ जस्तो मलाई लाग्दैन । सरकारले तुरुन्तै यहाँ बेसिक पूर्वाधार बनाउनुपर्छ । यो नाका धेरै प्राथमिकता दिएको नाका हो । निजी क्षेत्रले पनि त्यसरी नै हेरेको छ ।’

अध्यक्ष ढकालले कोरला नाका सरकार र निजी क्षेत्रका साथै दुई छिमेकी देशले पनि विशेष प्राथमिकता दिएको नाका भएको बताउनु भयो । नेपाल र चीनलाई जोड्ने अहिले सञ्चालनमा रहेका तातोपानी र रसुवा नाका भूगोलका हिसावले कमजोर रहेको र समस्या आइरहने भएकाले कोरला नाकालाई प्राथमिकता दिँदा स्थायी रुपमा पारवहन र व्यापार गर्न सकिने एवं नेपालले अन्य धरै लाभ लिनसक्ने बताउनु भयो ।