काठमाडौँ । सरकारले पर्याप्त मात्रामा खोप रहेको र नागरिकहरुले सहजै खोप लगारहेको दाबी गरिरहँदा अग्रमोर्चाका खटिएका चिकित्सकहरु नै खोपका लागि भौँतारिनुपरेको छ । सङ्क्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीले बुस्टर खोप लगाउन भौँतारिनुपरेको अनुभव सार्वजनिक गर्नुभएको छ ।
डा. सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हिजो स्वास्थ्यकर्मीको बुस्टर खोप लगाउन ११ बजे टेकु अस्पताल पुगेँ । २ बजेपछि मात्र दिने भनियो। अनि वयोधा र त्यहाँ नपाएपछि शहीद स्मृति अनि त्यहाँ पनि नपाएपछि फेरि २ बजेपछि टेकु गएँ। पाइएन। हाल बेकामे, फुर्सदिलो, अनि आफ्नै वाहन भएको म त धाइरहुँला। तर कति स्वास्थ्यकर्मीलाई त्यस्तो सुविधा होला ?
सरकारसँग पर्याप्त मात्रामा खोप मौज्दात रहँदा पनि नागरिकहरुले खोप सहजरुपमा पाउन सकेका छैनन् । बुधबार पनि विभिन्न खोपकेन्द्रमा खोपका लागि लाइन बसेका नागरिकहरुलाई खोप सकिएको भन्दै फिर्ता पठाइएको थियो । २४ लाखभन्दा बढी डोज खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेका छन् ।











