२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो ।

फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार दसैँतिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गर्नेको सङ्ख्या बढ्ने छ  । उहाँ भन्नुहुन्छ, “तमोर करिडोर सडक आलोङचुङ्गोला हँुदै टिप्ताला नाका जोडिएको छ । अब भने सहज रुपमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।”

सिङ्जेमा ताल फक्ताङ्लुङ –७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ । यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ, समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराइको मापन भने अझै हुन सकेको छैन । प्राकृतिक रुपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन् । तालमा भाकलगरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ । सिङ्जेमा तालसँग जोडिएका पुराना किंवदन्तीहरु पनि छन्, जसले यस तालको धार्मिक र सांस्कृतिक महत्वलाई झल्काउँछन् । स्थानीयवासीका अनुसार तालको किनारमा बसिरहेका बेला एक जना भोटेले तालबाट निस्केको चौँरीको गोबर घरमा लगेपछि उहाँ सम्पन्न भएको थियो ।

यस्तै भेडीगोठ बस्दा तालबाट निस्केको भेडाले बगालको सबै भेडालाई तालमा पसेर हरायो भन्ने किंवदन्ती पनि सुनिन्छ । यसले तालको धार्मिक महत्वलाई थप बलियो बनाएको छ । तालको परम्परागत धार्मिक आस्थाअनुसार, यहाँ पूजा गर्न आउने व्यक्तिले भाकलस्वरुप गरगहना, घडी, औँठी, चुरालगायत वस्तु चढाउने गर्छन । तर, ती भेटी गहनाको उचित व्यवस्थापन नहुनुले यो धार्मिक परम्परालाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता पनि देखिन्छ । सिङ्जेमा तालमा जाँदा स्थानीय परम्पराअनुसार चोखो मुखमा जाने र आफूसँग भएको वस्तु चढाउने चलन छ ।

तालमा पुग्न जिल्ला सदरमुकाम फुङ्लिङदेखि तमोर करिडोरको कच्ची सडकमार्ग हुँदै गाडीमा ओलाङचुङ्गोलासम्म पुग्न सकिन्छ । ओलाङचुङ्गोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुई -तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौँरीगोठमा बास बस्न पुग्नुपर्छ । तालक्षेत्र जाने बाटोमा होटल, चियापसलजस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । यसैले यात्राको तयारी आफैँले गर्नुपर्ने हुन्छ । ताल क्षेत्रको कठिन यात्रा भए पनि यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिपूर्ण छ ।

वैशाखदेखि असोजसम्मको समय सिङ्जेमा ताल भ्रमणका लागि उपयुक्त मानिन्छ । यस अवधिमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ । अन्य समयमा भने गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुन्छ । तर तालको धार्मिक दर्शन गर्ने परम्परा भने निकै पुरानो हो, यद्यपि विगतमा यो परम्परा ओलाङचुङ्गोला आसपासका बासिन्दामा सीमित थियो । पछिल्लो समय, युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले तालको प्रचार गरेपछि तालको आकर्षण बढेको छ । सिङ्जेमा तालमा चलचित्र छायाङ्कन र वृत्तचित्र बनाउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । तथापि, यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को स्वीकृति आवश्यक रहेको छ ।

संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो । तालको महत्व र यसको संरक्षणको आवश्यकताले गर्दा, यस क्षेत्रमा पर्यटन व्यवस्थापन र विकासका लागि थप प्रयास आवश्यक छ । यसले स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउनेछ भने धार्मिक र प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षणमा योगदान पुर्‍याउने छ ।