१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित
अ अ+ अ-

रामपुर । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन ।

उहाँले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा यस्तो समस्या देखिएको छ । हर्दिनाथ जातको धानमा भने समस्या नदेखिएको उहाँले गुनासो गर्नुभयो । गत भदौको तेस्रो हप्ताबाट धानबालीमा समस्या देखिएको किसान पङ्गेनीले बताउनुभयो ।

“पहिला धानको बोट राम्रै थियो, भदौको तेस्रो हप्तापछि एक्कासी धानमा समस्या देखियो, चार/पाँच दिनमा बोट पूरै रातै हुने र सुक्न थाल्यो, बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरे तर काम लागेन, अहिले धान पहेँलिएर पुरै सुकेको छ, पसाउन सकेन”, उहाँले भन्नुभयो । उहाँले हरेक वर्ष तीन रोपनी जग्गाबाट १६ मुरी धान उत्पादन लिँदै आउनुभएको थियो ।

यस वर्ष पनि धेरै धान स्याहार्ने तयारीमा हुनुहुन्थ्यो । तर धान नै नपसाएपछि उहाँ चिन्तित हुनुहुन्छ । लामो समयदेखि कृषि गर्दै आउनुभएकी निरमायाले यस्तो समस्या पहिलो पटक देखापरेको बताउनुहुन्छ ।

“धान उत्पादन गरेर घरखर्चका लागि बिक्रीसमेत गर्ने गर्थे, यसपटक पनि समयमा नै वर्षा भयो, बोट राम्रो थियो, राम्रो धान फल्ने भयो भनेर खुसी भएको थिएँ, तर धानमा रोग लागेर पसाउनै सकेन”, उहाँले भन्नुभयो, “खनजोत, बीउ खरिद, गोडमेल गर्दा धेरै खर्च लागेको छ, सबै लगानी माटोमा विलिन भयो ।”

विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा रामपुरमा धानको बीज वृद्धि कार्यक्रम चलिरहेको छ । बीज वृद्धिका लागि लगाइएका धानमा समस्या देखिएको छ । धानबालीमा भुरुरर उड्ने भुसुना जस्तो किरा पातमा छपक्कै बसेर पात चुसेर खाने, अनि बोट पहेँलिँदै जाने समस्या देखिएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुहुन्छ ।

केही ठाउँमा मल, विषादी प्रयोग गरेपछि नियन्त्रणमा आएको छ भने केही ठाउँमा मल, विषादी राखे पनि नियन्त्रणमा आउन नसकेको उहाँले जानकारी दिनुभयो । हर्दिनाथ जातको धानमा खासै समस्या छैन, सावित्री जातको धानमा लगभग सबैमा समस्या देखिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष धानमा समस्या देखिकाले उत्पादन घट्ने भएको छ । सहकारीले सावित्री र हर्दिनाथ जातको करिब १५ हेक्टर क्षेत्रफलमा सात मेट्रिकटन बीउ उत्पादन गर्नेगरी धान लगाएको छ ।

जिल्लामा सबैभन्दा धेरै रामपुर नगरपालिकामा धानबालीमा समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताउनुभयो । विशेषगरी रामपुरको वडा नं ५ र ६ मा धानमा रोगको समस्या बढी छ । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य स्थानमा प्रकोप देखिएको र उपचारपश्चात् क्रमिक रूपमा सुधार भएको उहाँले बताउनुभयो ।

“पहेँलो देखिएका धानबालीमा अहिले समस्या बढेको छैन, कृषि शाखाको समन्वयमा कृषि ज्ञानकेन्द्रले कृषकलाई विषादी वितरण गरेको छ, समस्या देखिएका स्थानमा कृषि प्राविधिकले अवलोकन गरी विषादी राख्न सुझाव दिइएको छ”, उहाँले भन्नुभयो ।

धानबालीमा देखिएको सेतो पुतली जस्तो देखिने किराले पात चुसेर खाने, बोट नै सुक्ने समस्या देखिएको हो । जिल्लाको अन्य स्थानमा कम समस्या देखिए पनि रामपुर नगरपालिकामा भने जोखिम धेरै देखिएको छ । धान पसाउने समयमा पहेँलो हुने र सुक्ने समस्या देखिएकाले उत्पादन घट्ने चिन्ता बढेको कृषकको गुनासो छ ।

रामपुर नगरपालिकाभित्र करिब एक हजार सात सय हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । करिब छ सय हेक्टरमा यस वर्ष धानबालीमा समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउनुहुन्छ । समस्या देखिएका कृषकका खेतबारीमा पुगेर स्थलगत अवलोकन गरी विषादी वितरण गरिएको उहाँले बताउनुभयो ।