• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

मगर समुदायले यसपाली ‘भुस पोल्ने पर्व’ मनाउन पाएनन्



बागलुङ । प्रकृतिपूजक मगर समुदायले यसपालि धुमधामसँग ‘भुस पोल्ने पर्व’ मनाउन पाएनन् । १५औँ शताब्दीदेखि चल्तीमा आएको मानिने सो पर्व कोभिड–१९ का कारण पूजापाठ र औपचारिकतामै सीमित रह्यो । ताराखोला गाउँपालिका–२ अर्गलमा वर्षेनी कात्तिक २४ गतेदेखि शुरु हुने पर्वको रौनक महिनाको अन्त्यसम्मै चल्थ्यो । मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले यो वर्ष परम्परा धान्ने मात्र काम भएको बताए । “पर्व पहिलोको जस्तो उल्लासपूर्ण रहेन, विधि र पूजा चलाउने काम भने भयो”, उनले भने। पर्वको पहिलो दिन सोमबार शङ्खुबारीमा प्रकृतिका देउता ‘शुङ्खु’को पूजा गरी भुस पोलिएको सविव घर्तीमगरले सुनाए। पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती शुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको उनको भनाइ छ । मकै बाली भित्र्याएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ ।

शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई गाउँलेले सहकालका देउता मानेर पुज्छन् । पूजापाठ र भुस पोल्ने कार्यमा गाउँका अगुवासहित सीमित व्यक्ति सहभागी थिए । पर्वको दोस्रो दिन वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी (दुःख) उम्काउने चलन छ । २४ गतेअघि जहिले मृत्यु भएको भए पनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । २४ गते मृत्यु भएमा भने वर्षभरिनै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । 

मृत्यु संस्कारलाई पनि मङ्गलबार पारिवारिक हिसाबले उम्काइएको सचिव घर्तीमगरले बताए । साँझ देवीदेउता र कुलपितृको पूजासहित वर्षदिनभित्र मृत्यु भएकाको आत्मशान्तिको कामना गर्दै दीपावली गरिएको थियो । पर्वको मुख्य दिन भने २६ गते पर्छ । उक्त दिन भुस पोलिएको शङ्खुबारीमा ‘छापे खन्ने’ गरिन्छ । अविवाहित युवायुवतीले मेलो (छापे) खन्ने र विवाहितले अघिअघि बीउ छर्ने चलन छ । मेलो सकिएपछि युवायुवतीहरु एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुशी साट्छन्, खेती लगाएको सन्देश दिन्छन् । अघिल्ला वर्षहरुमा शङ्खुबारीमा छापे खनेको हेर्न सयौँको भीड लाग्थ्यो ।

अहिले भने छापे खन्ने कार्य पनि औपचारिकतामा समेटिएको छ । छापे खनेपछि २७ गतेबाट यस वर्ष छोरा जन्मिएका घरमा शुरु हुने पुत्र बढाइँ पनि स्थगित गरिएको छ । टाढा–टाढाबाट मावली आउने, गोपीनाच देखाउने, भोज खुवाउने इत्यादि चलन रहेकाले यसपालि पुत्र बढाइँ असम्भव बनेको हो । सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गलगाउँमा आएका मगरले भुस पोल्ने पर्वको चलन बसालेका हुन् । जङ्गली युगबाट कृषि युगमा प्रवेश गरेको दिनलाई शाखा–पुर्खाले भुस पोल्ने पर्वका रुपमा मनाउँदै आएको मगर अगुवा बताउँछन् ।

भुस पोल्ने पर्व अर्गल मात्र नभई सिङ्गो ताराखोलाकै सांस्कृतिक तथा ऐतिहासिक धरोहरका रूपमा रहेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गत वर्ष गाउँपालिकाले भुस पोल्ने पर्वमा सार्वजनिक बिदासमेत दिएको थियो । पर्वकै अवसरमा अर्गल खेलकूद विकास मञ्चले आयोजना गर्ने खेलकूद तथा सांस्कृतिक कार्यक्रमसमेत यो वर्ष भएन । ताराखोला क्षेत्रमा ऐतिहासिक भुस पोल्ने पर्वसँगै सिस्नो खोस्ने, असारे, भदोरैजस्ता मेला, पर्व प्रचलित छन् ।